विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘जिरो डिग्री’ ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ। निर्माण पक्षले उक्त सार्वजनिक गरेको नयाँ पोस्टरमा चलचित्रलाई आगामी माघ १५ गतेदेखि नेपालका हलमा प्रदर्शन गरिने उल्लेख गरेको छ।
सार्वजनिक पोस्टरमा अभिनेता बराललाई ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा सेतो घोडामाथि सवार रहेको प्रस्तुत गरेको छ। अगाडि तथा पछाडि दुईवटा पंखा बोकेर हिँडिरहेको दृश्यले पोस्टरलाई व्यङ्ग्यात्मक र कौतूहलपूर्ण बनाएको छ।
चलचित्रको कथा सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ुडीप फ्रिजु बोकेर गाउँ उक्लिँदा उत्पन्न हुने उथलपुथलपूर्ण तथा रमाइला परिस्थितिहरू वरिपरि केन्द्रित छ। यसअघि गाउँलेहरूले पहाडी बाटो हुँदै ठूलो काठको बाकस बोकेको दृश्यसहितको पोस्टर सार्वजनिक गरिएको थियो।
चलचित्रको कथा तथा पटकथा सजन काफ्ले र आकास बरालले तयार पारेका हुन् भने उनीहरूले नै संयुक्त रूपमा निर्देशन गरेका छन्।
मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री, शारदा सिलवाल लगायतका कलाकारको अभिनय रहेको छ।
निशाल पौडेलले छायांकन रहेको चलचित्रलाई काठमाडौं उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्यन र उपत्यकामा डिसिएनले वितरण गर्नेछ।
प्रकाशित: १३ आश्विन २०८३ १३:१८ मंगलबार





