१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

भ्रामक सामग्री फैलिएको भन्दै विजय र रश्मिकाको टोलीले दियो साइबरमा उजुरी

दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा र अभिनेत्री रश्मिका मन्दानाको टोलीले आफूहरूबारे सामाजिक सञ्जालमा भ्रामक सामग्री फैलिएको भन्दै हैदराबादको साइबर अपराध प्रहरीमा उजुरी दिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार टोलीले सामाजिक सञ्जालमा सार्वजनिक भएका केही पोस्ट, झूटा दाबी र व्यक्तिगत रूपमा लक्षित गरिएका सामग्रीमाथि अनुसन्धान गर्न माग गरेको छ।

‘कफी विथ करण’ सिजन ९ मा दुवै कलाकार सहभागी भएपछि उनीहरूको सम्बन्ध र विवाहसम्बन्धी विषयले सामाजिक सञ्जालमा चर्चा पाएको थियो। कार्यक्रममा भएको कुराकानीपछि विजय र रश्मिकाको सम्बन्धबारे विभिन्न अनुमान र टिप्पणी सार्वजनिक भएका थिए।

रश्मिकाले विवाहका लागि विजयलाई १०० पटक सोधेको प्रसंगलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। त्यसपछि उनीहरूलाई लक्षित गर्दै केही प्रयोगकर्ताले ट्रोल गरिरहेका थिए। 

यद्यपि, टोलीले दिएको उजुरी ट्रोलिङमा मात्र सीमित नभई झूटा दाबी र भ्रामक सामग्रीसँग पनि सम्बन्धित रहेको उल्लेख गरेको छ। टोलीका प्रतिनिधिले सम्बन्धित सामग्रीमाथि निष्पक्ष अनुसन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी बुझाएका हुन्।

उजुरीमा झूटा दाबी, सम्पादन गरिएका स्क्रिनसट, नक्कली सामग्री, अरूको पहिचान प्रयोग गरेर गरिएका पोस्ट र लक्षित अनलाइन दुर्व्यवहारका विषय समेटिएको भनिएको छ। अनुसन्धानका लागि सम्बन्धित पोस्टका लिंक र अन्य प्रमाणसमेत प्रहरीलाई बुझाएको जनाएको छ।

टोलीका अनुसार अभिव्यक्ति स्वतन्त्रता, व्यक्तिगत विचार राख्ने अधिकार र आलोचनाको सम्मान गरिन्छ। तर बनावटी सामग्री तयार पारेर वा भ्रामक दाबीलाई वास्तविक घटनाका रूपमा प्रस्तुत गरेर व्यक्तिको छवि बिगार्ने प्रयासलाई सामान्य आलोचनाका रूपमा लिन सकिँदैन। प्रमाणका आधारमा योजनाबद्ध रूपमा गलत सामग्री फैलाइएको पुष्टि भएमा कानुनी प्रक्रियाअनुसार अनुसन्धान हुनुपर्छ।

यसैबिच, विजय र रश्मिकाले पनि आफ्नो सम्बन्धबारे भइरहेका अनलाइन टिप्पणीप्रति सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन्। विजयले रश्मिकालाई आफ्नो सबैभन्दा मिल्ने साथी र जीवनको महत्त्वपूर्ण हिस्सा बताएका छन्। उनीहरूबारे बाहिर भइरहेका टिप्पणीले आफ्नो सम्बन्धमा असर नपारेको र आफूहरू खुसी रहेको सन्देश उनले दिएका छन्।

रश्मिकाले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनीहरूको सम्बन्धलाई बाहिरबाट गरिने अनुमानका आधारमा मूल्यांकन नगर्न आग्रह गरेकी छन्। उनले आफ्नो जीवनका कठिन र खुसीका दुवै समयमा विजय साथमा रहेको बताएकी छन्। उनीहरूबिचको सम्बन्धलाई नजिकबाट नबुझ्ने व्यक्तिले बाहिर देखिएका केही कुराका आधारमा गलत निष्कर्ष निकाल्न सक्ने उनको भनाइ छ।

उनले विवाहसम्बन्धी कुराकानीलाई केही मानिसले गलत अर्थमा बुझेको पनि उल्लेख गरेकी छन्। उनका लागि विवाह भनेको प्रस्ताव, औंठी वा समारोहमा मात्र सीमित विषय नभई दुई जनाले मिलेर भविष्य निर्माण गर्ने निर्णय हो। आफूहरू एकअर्कालाई रोजेर खुसी रहेको भन्दै उनले सम्बन्धबारे अनावश्यक अनुमान नगर्नसमेत आग्रह गरेकी छन्।

प्रकाशित: १० कार्तिक २०८३ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App