७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

उपयोग

लघुकथा

रामेले चिन्ता प्रकट गर्दै भन्यो, "उनीहरू सुकुम्बासी हुन्। उनकाे मद्दत गर्नैपर्छ।"

"खै सर गर्ने त हो तर गरेर पनि गरेको जस्तो देखिदैन।" हरिले अँध्यारो हुँदै भन्यो।

"विभिन्न राजनैतिक पार्टीहरूले त्यो बस्तीलाई प्रयोगशाला जस्तै बनाउँदै आएका छन्। आआफ्नो भोट बैंकका लागि उनैको बलि चढाइन्छन्, उनैलाई अचानो बनाइन्छ र लिस्नाे बनाएर सरकारमा पुग्छन् तर आज उनैविना बासका हुने छन्।" रामेले फेरि विभिन्न उदाहरण दिंदै भन्यो।

हरिले साेध्याे, "तर हामीले के गर्न सक्छौँ?"

"कम्तीमा उनीहरूलाई थोरै भए पनि सहारा दिएर मलम लगाउन सकिन्छ। त्यो बस्तीमा पुगेर उनीहरूलाई सङ्घर्ष गर्ने प्ररेणा दिन सकिन्छ।" रामेले आफ्नो विचार राख्यो।

"ठिक छ सर, त्यसो भए बुझौं चार पाइला लाग्दैन हिंड्नुस्।" हरिले भन्यो र दुवै बस्तीमा पुगे। त्यहाँको माहोल अर्कै थियो। त्यहाँबाट खालि गर्ने तरखरमा थिए।

हरि र रामेलाई देखेर सबै महिलापुरूष जुटे केहीबेर छलफल पनि भयो। उनीहरूले दुःख पोखे। रामे र हरिले उनीहरूलाई आफूहरूले साथ दिने आश्वासन पनि दिए। यहाँ जम्मा दुइटा कुरा छन् एउटा सङ्घर्षको अर्को पलायनको।

"हजुरहरू पलायन नहुनू बरू सङ्घर्ष गर्नुपर्छ भन्ने रामेको सुझाव थियो तर उनीहरू त्यसका लागि तैयार थिएनन्।

"सरकारले पच्चीस हजार एकमुष्ट दिने र भाडामा बस्नेलाई पन्ध्र सयदेखि दुई हजारसम्म दिने भनिसकेको छ। हामी व्यवस्थाको विरोधमा जान चाहन्नौं।" एउटी कमलरी महिलाले प्याच्च भनिन्।

"हजुरहरू सबै संगठित भएर सङ्घर्ष गर्नुपर्छ।" हरिले पनि आफ्नो विचार राख्यो।

"सर, हजुरलाई थाहा छैन। हामी आफैँ संङ्घर्ष गरिरहेका छौं। हजुरहरूको आवश्यक परे बोलाउँछौँ।" उक्त बस्तीकी प्रमुखले कोखे आँखा देखाउँदै भनिन्।

रामे र हरिले एक अर्कालाई हेराहेर गरे अनि घरतिर लागे।

प्रकाशित: ७ जेष्ठ २०८३ ०७:२० बिहीबार