नेपाल पर्यटन बोर्डमा ‘अपर मुन्दुम हुङ्गा भ्याली मेरा एभरेस्ट ट्रेल’ सार्वजनिक गरिएको छ।
महाकुलुङ गाउँपालिकाको आर्थिक सहयोग तथा पहाडी विकास संरक्षण समूह नेपालको प्राविधिक सहयोगमा नयाँ पर्यटकीय गन्तव्य अन्तर्गत कार्यक्रम भएकाे हाे।
नेपाल पर्यटन बोर्डमा ‘अपर मुन्दुम हुङ्गा भ्याली मेरा एभरेस्ट ट्रेल’ सार्वजनिक गरिएको छ।
नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा ट्रेलसँग सम्बन्धित ब्रोसर, म्याप तथा बूकलेट समेत लोकार्पण गरिएको थियो।
कार्यक्रममा सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय प्रकाश सिंह कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए।
त्यस्तै प्रतिनिधि सभा सदस्यद्वय माननीय गीता गुरुङ र माननीय रिना उप्रेती केसी तथा कोशी प्रदेश सभा सदस्य माननीय बुद्धि कुमार राजभण्डारी विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (तान) का अध्यक्ष सागर पाण्डे, वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा तथा महासचिव सोनाम ग्याल्जेन शेर्पालगायत पर्यटन क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता थियो।
कार्यक्रममा फोटो नेपालको सहकार्यमा विशेष फोटो प्रदर्शनीको समेत आयोजना गरिएको थियो। महाकुलुङ क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति तथा स्थानीय जीवनशैली झल्काउने उक्त फोटो प्रदर्शनी एक सातासम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङ र उपाध्यक्ष विपना कुलुङसहित गाउँपालिकाका पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले ‘अपर मुन्दुम हुङ्गा भ्याली मेरा एभरेस्ट ट्रेल’ ले सोलुखुम्बुको महाकुलुङ क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
आयोजकका अनुसार यस ट्रेलले प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति र मौलिक जीवनशैलीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म पुर्याउने अपेक्षा गरिएको छ। आगामी दिनमा यो ट्रेल महाकुलुङ गाउँपालिकाको समृद्धिको आधार बन्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।
प्रकाशित: १५ जेष्ठ २०८३ ०७:१४ शुक्रबार





