१० श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

अपरिचित यात्री

कविता

एउटा शिक्षित भनाउँदो

हल्लै हल्लामा कराइरहेको थियो

भाषण भनौँ भने बुझिने थिएन

ड्याम्म भुँडीवाल जस्तो देखिने

साहुजी पनि होइन

मुर्कुटो भनौं भने मुर्कुटो पनि होइन

त्रास र आतङ्कमा उफ्रिरहेको थियो

बाँसुरी जस्तो बजाउँदै हिंड्ने

आँखाविहीन अवस्थामा

मध्य सडकमा कराइरहेको थियो

कान नसुन्ने अनि बुज्रुक जस्तो देखिन्थ्यो

खोइ को हो? को हो?

उसले कसैलाई चिन्दैन थियो

न त उसलाई कसैले चिन्थे

चिच्याहट आवाजमा खुला मौसममा

समयानुकूल बन्ने कोसिसमा

कालानुरूप कालोचित भएर

रुखको टुप्पामा चढेर

-घाँस झार्न खोजे जस्तो खुकुरी बोकेको

खोइ को हो?

कराइरहेको थियो

ढेडु भनौँ भने ढेडु पनि होइन

बाँदर भनौँ भने स्वरुप पनि छैन

जुँगादारी पालेको

धोतीपाटो फेरेको

निधारमा पँहेलो पश्पति दलेको

कान छेडिएको सुन नलगाउने

न त चप्पल नै थियो

न त जुत्ता नै थियो

चाउरी परेका हातखुट्टा

सेतै फुलेका कपाल अनि दारी

हेर्दै अचम्म अचम्म लाग्ने

बन्मान्छे पनि होइन

खोइ को हो? को हो?

प्रश्न सोद्धा दुइ घण्टाको जवाफ

उत्तर खोज्दा एक वर्षको जवाफ

गोप्यतामा देखिन्थ्यो रवाफ

टाउको छोप्दा जिउ देखिन्थ्यो

छाती छोप्दा ढाड देखिन्थ्यो

बोल्दा हिन्दी मैथिली सँस्कृत जस्तो बोल्थ्यो

अङग्रेजीको अ पनि नजान्ने

चिट्ठी चिट्ठी चिट्ठयाइरहेको थियो

मध्य रातमा एउटा कराइरहेको थियो

लाटोकोसेरो पनि होइन

खोइ को हो? को हो?

नबुझिने भूतको आवाजमा उफ्रिरहेको थियो

नसुनिने बोलिमा गर्जिरहेको थियो

बाघ पनि होइन

भूत, प्रेत, पिसाच पनि होइन

सर्प, माच्छा, भ्यागुता पनि होइन

दैविक शक्तिको त लक्षण नै छैन

केराको बोटमा चढ्छ

रुखको फेदमा रात बस्छ

झाम्राझुम्री पहिरनमा

थोत्रो गुन्द्री बोकेर

थाल बजाउँदै

मान्छेको टाउको चबाइरहेको थियो

त्यसलाई हेर्ने अरू डराइरहेका थिए

कोही  हाँस्दैहाँस्दै खित्का छोडेर बसिरहेका थिए

अथाह! बडेमान, गर्जिएको

जगल्टा फिँजाउँदै, सेता पिडुँला देखाउँदै

न त इक्यारस नै हो।

न त डेडालस नै हो

उडदै थियो चरा जस्तै

गन्तव्यविहीन भएर

खोइ को हो? को हो?

- रावाबेसी- ४, डुम्रे धारापानी खोटाङ

प्रकाशित: ९ श्रावण २०८३ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App