१ कार्तिक २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

अज्ञेय

लघुकथा

ऊ ३० वर्षे लक्का जवान थियो। उसले आफैँले बनाएको अत्याधुनिक घडी हेर्‍यो। घडीले अब उसको बाँकी जीवन ७० वर्ष ९ महिना २२ दिन २१ घण्टा देखायो। आफ्नो यन्त्र सफल भएको देखेर ऊ मुसुक्क मुस्कुरायो।

उसले बाहिर माइकबाट आइरहेको सूचना सुन्यो, “तपाईं बसेको क्षेत्रको बुढी खोलामा बाढी आउँदै छ। सावधान हुनुहोला।”

कुनै सिपाही सूचना भट्याइरहेका थिए।

ऊ सरासर नदीतिर गयो। नदी निकै उर्लेर आउँदै थियो। ऊ पुलमा गयो र उर्लेर आएको बाढीको तस्बिर खिच्न व्यस्त रह्यो। बाढी भयङ्कर भएर आउँदै थियो। जतिजति बाढी पुलनजिकै आइपुग्दै गयो, घडीले उसको बाँकी आयु एक घण्टा देखायो।

ऊ आत्तियो। पुलको बीचबाट अगाडि बढेर खोलाको किनार अर्थात् पुलको छेउतिर पुग्यो। घडीले बाँकी आयु डेढ घण्टा देखायो। ऊ अब के गर्ने भन्ने सोच्न नभ्याउँदै पुल अर्को किनारबाट भाँचियो। ऊ हामफालेर पाखामा पुग्यो। बाढीको भेलले उसलाई पनि बगाउन थाल्यो। उसको नजर फेरि घडीमा पर्‍यो। घडीले बाँकी जीवन आधा घण्टा देखायो।

बाढीले उसलाई किनारतिर बगाउँदै थियो। घडीले आयु क्रमशः घटाउँदै लगेको थियो। घडीले पन्ध्र मिनेट देखाउँदै गर्दा उसले एउटा बुट्यान भेट्यो र च्याप्प समात्यो। घडीले फेरि आधा घण्टा देखायो।

त्यतिखेर बाढीको वेग अचानक बढ्यो। घडीको सुई पनि घटेर बीस मिनेटमा आयो। त्यो अचानक आएको छाल गएपछि उसले पानीभित्रै घडी हेर्‍यो। आयु आधा घण्टा बाँकी थियो।

ऊ छटपटाउँदै थियो। दुई–तीन जना मानिस कल्याङमल्याङ बोलेको सुन्यो। ऊ अचानक चिच्यायो। चिच्याएको आवाज सुनेर ती मानिसहरू त्यहाँ आए। मानिस डुबेको देखेर उनीहरूले तान्न थाले। उनीहरूको प्रयास सफल भयो। उसलाई किनारमा सुरक्षित निकालियो। ऊ अर्धचेतन थियो। उनीहरूले पेट थिचेर, उल्टो झुण्ड्याएर उसले निलेको पानी निकाले।

ऊ बिउँझियो। उसले घडी हेर्‍यो। घडीले उसको बाँकी आयु ७० वर्ष ९ महिना २२ दिन २० घण्टा देखायो।  

प्रकाशित: १ कार्तिक २०८३ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App