एक दिन शुभमुहुर्तमा जेठी बुहारीले नम्र स्वरमा भनिन्, “बुबा! आमाले एक साँझ हजुरहरूलाई खानाका लागि आमन्त्रण गर्ने कुरा गरिबक्स्या छ। फोन गरिस्सिन्छ होला, नाइँ नभनिस्योस् ल।”
छोराहरूको विवाह भएपछि हाम्रो घरमा बुहारीहरूसँगै कहिल्यै प्रवेश नपाएको ‘बक्सियोस्’ शब्दले प्रवेश पाएको छ। जागिरको सिलसिलामा कहिलेकाहीँ प्रयोग गरेको हुनाले यो शब्द मलाई खासै अनौठो त लाग्दैन तर सबैतिर यसलाई मिलाएर प्रयोग गर्नचाहिँ जान्दिनँ। यो ‘बस्सियोस्’ शब्दको कुरा हुँदा बनारसको सम्झना आउँछ।
मैले हाईस्कुल र आईए बनारसबाटै उत्तीर्ण गरेको हुँ। त्यो बेला हामी हिन्दी बोल्न जान्दैनथ्यौँ। हाम्रा अग्रज साथीहरूले हामीलाई सिकाउँथे - अरू सबै कुरा नेपालीमा भन्ने वा लेख्ने अन्तिममा ‘हैँ’ जोड्यो भने हिन्दी भइहाल्छ नि! कस्तो राम्रो आइडिया। त्यसपछि खासै समस्या परेको थिएन। अन्तिममा ‘हैँ’ लेख्दा लेख्दै बिस्तारै बानी पर्दै गयो। यो ‘बक्सियोस्’ ले पनि मलाई त्यसै गरिबक्सेको छ। आवश्यक सबै ठाउँमा मैले यो बक्सियोस्लाई लागू गर्न जान्दिनँ, त्यसैले ‘बक्सियोस्’, ‘आइस्योस्’, ‘खाइस्योस्’ यस्तै सजिलो ठाउँमा मात्र प्रयोग गर्न सक्छु। अरू ठाउँमा अनाडीले अङ्ग्रेजी बोल्दा हिन्दी मिसाएजस्तै हुन्छ।
“किन दुःख गर्न लाग्नुभएछ?” मैले सोधेँ। बुहारीले खासै केही भनिनन्।
भोलिपल्ट फोन आयो, “सम्धिज्यू, भेटघाट नभएको धेरै दिन भएको छ। यसो भेटघाट पनि हुन्छ, साँझ सपरिवार भुजा ज्युनार गर्ने गरी आइस्सेला है त।”
बुहारीले नाइँ नभन्नु भनेकी थिइन्, तैपनि भनें, “घरसल्लाह गरेर खबर गर्छु।”
अन्तमा उहाँले भन्नुभयो, “म बाटो हेरेर बस्छु।”
नाइँ भन्न सकेनौँ, बेलुकीतिर गयौँ।
यो कुरा आजभन्दा करिब चार वर्ष पहिलेको हो र त्यो समय गर्मीको समय थियो। वैशाख महिना भएकाले सूर्यले क्षितिजको नेटो काटेका थिए तापनि उड्दाउड्दैका चरा खस्ला जस्तै गर्मी थियो। त्यस्तो गर्मीमा शरीरमा तरतरी पसिना चुहाउँदै दीपनगरबाट शङ्करनगरका लागि प्रस्थान गर्यौँ।
सम्धिनीज्यूको घरमा पुगेपछि भव्य स्वागत भयो। बैठक कक्षमा आसनग्रहण गर्यौँ। आसनग्रहणपछि सामान्य कुराकानीहरू भए। कुराकानीसँगै खानाका परिकारहरू आउन थाले।
पाहुनालाई स्वागत गर्ने सम्धिनीज्यूको आफ्नै मौलिक पारा छ। बाहुन होस् कि क्षेत्री मासुदेखि माछासम्म, सागदेखि च्याउसम्म सबै परिकार तयार गर्नुहुन्छ। त्यसपछि दर्जा अनुसारका जुसहरूको तयारी पनि पहिलेदेखि नै भएको हुन्छ। गधापच्चिसी नाघेको कुनै नेपाली नागरिकले उहाँले भनेअनुसारको जुस लिनैपर्छ। नत्र आफू अपमानित भएको महसुस गर्नुहुन्छ। उहाँले तयार गरेका सबै परिकारभित्र प्रेम लुकेको हुन्छ, ममता छिपेको हुन्छ र सौहार्द झल्केको हुन्छ।
अन्य खाद्य सामग्रीसँगै सम्धिनीज्यूले स्कटलेण्डमा बनेको ब्राण्डेड जुसको ठूलो ठेकी अगाडि राख्नुभयो। देख्दै सातो गयो। एक त बाहुन, त्यसमा पनि सम्धिनीज्यूको घर। एकैचोटि कसरी खान्छु भन्नु, सकस पर्यो। ठूलो ठेकीतिर हेर्दै घुटुक्क थुक निलेँ र यस्तो पदार्थ नलिने नम्र निवेदन पेश गरेँ। मेरो अमरवाणी हावामा तैरिएर शान्त हुन नपाउँदै बैठक कक्ष स्तब्ध भयो।
“लौन नि के भनिबक्सेको होला?” चिन्तित स्वरमा उहाँले भन्नुभयो।
उहाँको कुरा सुनेपछि म मुसुक्क मुस्कुराएँ मात्र तर केही बोलिनँ। उहाँले थप्नुभयो, “तिसौँ वर्ष जागिर खाएको, प्रशासन चलाएको मान्छेले खान्न भनेको कत्ति सुहाएन।”
म केही बोलेको थिइनँ। मीनातिर फर्केर सोध्नुभयो, “साँच्चै सम्धिज्यूले केही लिसिन्न र सम्धिनीज्यू?”
मीना बोलबोल मछली मुखभरि पानी भइन्। ‘अश्वत्थामा हतो हतः, नरो वा कुञ्जरो वा’ भन्नुबाहेक उनीसँग अर्को उपाय थिएन।
केही समय भोजन सभाको कारवाही रोकियो।
भान्साबाट विभिन्न थरी पकवान सामग्रीहरू आउने क्रम जारी थियो। बैठककक्ष पकवान सामग्रीको मिठो स्वादले मगमग बसाइरहेको थियो। यता हाम्रो वार्ता जारी थियो र कुनै निष्कर्षमा पुग्न सकिरहेको थिएन।
धेरैबेरको छलफल तथा मध्यस्थकर्ताहरूको आग्रह समेत स्वीकार्दै स्वदेशमै जौंबाट बनेको भनिएको तर विभिन्न केमिकलले सुसज्जित सुगर फ्री तर टर्रो स्वाद भएको जुससम्म लिने सहमति भयो। आमसिक रूपमै भए पनि वार्ता सफल भएकोमा सम्धिनीज्यूको मुहार हँसिलो देखियो। अरूले थाहा नपाउने गरी मेरो मन पनि खुसीले पुलकित भयो।
भोजनका क्रममा देशको राजनीति, दर्शन, साहित्य, इतिहास, अर्थतन्त्र लगायतका विभिन्न क्षेत्रमा गम्भीर बहस भयो। कोठाभित्रबाट भए पनि सरकारले गरेका नराम्रा कामको आलोचना गर्नेदेखि लिएर सरकारले यसो गरेको भए हुने थियो भन्नेसम्मका सुझावसल्लाह दिने काम पनि सम्पन्न गरियो। त्यो बेला हामी देश विकास नभएकोमा र पदमा बसेका नेताहरूले जनचाहना अनुसार काम नगरेकोमा निकै चिन्तित भयौँ।
गफ गर्दागर्दै विभिन्न प्रकारका जुस तथा खाद्य सामग्रीहरूले पेट भरियो। अन्त्यमा एक गिलास पानी र एक टुक्रा ल्वाङ खाने ठाउँसम्म पनि बाँकी नरहेपछि आयोजक सम्धिसम्धिनीज्यूलाई कुइन्टलका कुइन्टल धन्यवाद दिँदै बिदाबारी भयौँ।
बुहारीले गाडी स्टार्ट गरेर घरतिर हिँड्ने सुर गर्दै थिइन्, त्यस्तैमा फेरि मनमा अर्को विचार आयो।
“बुहारी नानी! मौका परेको बेला एउटा पान पनि चपाइहालौँ कि!” “मिठो पान खान त बुटवल पुग्नुपर्छ बुबा, ट्राफिक चोकमा।”
मैले भनेँ, “जाऊँ।”
“बुबाले भनेपछि हिँड न त। कतिबेर लाग्छ र ?” छोराले हौस्याए। मीनाले कुनै प्रतिक्रिया जनाइनन्। नातिनी सानै थिइन्, बोल्ने कुरै भएन। त्यसपछि गाडी बुटवलतिर मोडियो।
ट्राफिक चोकनिर पुगेपछि गाडी रोकियो। छोरा र बुहारी गाडीबाट बाहिर निस्के र पानपसलतिर लागे। मीना र म गाडीमै बस्यौँ। मैले देखेँ, रातिको समय भए पनि पान दोकान अगाडि हामीजस्ता पानका पारखीहरू लाइन लागेका थिए। पानवाला भाइले छिटोछिटो पान बनाइरहेका थिए।
त्यो बेला मेरा मनमा पुनः बनारसको चित्र घुम्न थाल्यो। बनारसमा पढ्न गएको बेला पहिलो चोटि मैले पान खाने शुभअवसर प्राप्त गरेको थिएँ। दश पैसामा एउटा सामान्य पान पाइन्थ्यो। बेलाबेला हामी पान खान्थ्यो। त्यहाँको पानको स्वादै फरक थियो। पान चपाउँदै जाँदा नाकको टुप्पो र कानका लोतीमा समेत पसिना आउँथे।
बनारसमा पानपछि अर्को मन परेको खाद्य पदार्थ थियो मिठाई। त्यो बेला अर्थात् सन् १९७८ तिर बीच बजारमा राम भण्डार नामको मिठाई पसल थियो। त्यस पसलमा बाह्र रुपियाँमा एक किलो मिठाई पाइन्थ्यो। कहिलेकाहीँ हामी स्वाद मानेर मिठाई खान्थ्यौँ। मिठाई खाएपछि पान खाँदै डेरामा आउँथ्यौँ।
मनमनै बनारसको मिठाई र पानको स्वाद लिइरहेको थिएँ, त्यस्तैमा छोराको आवाज आयो, “लिनोस् पान।”
छोराले दिएको पान समाउँदै बिस्तारै भनेँ, “धन्यवाद छोरा।”
पान हात पर्नासाथ मुखमा पानी आयो। ‘आहा पान!’ मनले यसै भन्यो अनि कुनै विलम्ब नगरी पान मुखमा कोचेँ।
केहीबेर खुव चपाएँ। चपाउन त चपाएँ तर मैले चपाएको पान बनारसको जस्तो मिठो लागेन। पानको पत्ता पनि छिप्पिएको जस्तो लाग्यो र स्वाद पनि टर्रोटर्रो खालको थियो।
‘साला बेवकुफहरू पान बनाउन पनि जान्दैनन्।’ मनमनै पानवालालाई गाली गरेँ अनि छोरालाई सोधेँ, “मिठा पत्ता होइन र?”
“हो बुबा, मिठा पत्ता हो।” पान चपाउँदै सुमनले जवाफ दिए।
जति चपायो उति टर्रो, रस निल्न खोज्यो झन् टर्रो। सुरुमा चपाएको रस निल्न नसकेर थुकेँ। त्यसपछि त अलि मिठो हुनु नि। अहँ भएन। झन् टर्रो हुँदै गयो। पानले गर्दा अघि सम्धिनीज्यूले खुवाएको चौरासी व्यञ्जनको स्वाद पनि हराउला जस्तो भयो। मनमनै रिस उठ्दै गयो।
पुनः मनमनै पानवालालाई गाली गरेँ अनि छोरालाई भनेँ, “तिमीहरूले ख्यालै गर्दैनौँ। पानवालाले ठगेछ। मिठा पत्ता हाल्नुपर्ने तितो पत्ता हालेर पानै वेस्वादिलो बनाएछ।”
छोराले मसिनो स्वरमा भने, “मैले खाएको पान त मिठो छ।”
नराम्रो पान दिएकोमा पानवालासँग रिसाउँदै र पान बनाउँदा ख्याल नगरेकोमा छोराबुहारीसँग रिसाउँदै पान चपाउँदै थिएँ, मुखमा चसक्क घोच्यो। यसो औंलाले छामेर हेरेको सिन्काको टुक्रा रहेछ।
‘सिन्को!’ मनमनै बोलेँ।
सिन्को समाउँदा साथ अर्को सम्झना भयो। मन ढुकढुक गर्न थाल्यो। पान टर्रो हुनुको रहस्य खुल्यो। जौँको जुसले रन्थनिएको मेरो दिमागले पानको बाहिर बेरेको सालको हरियो पात फाल्नुपर्छ भन्ने कुरा नै बिर्सेछ। पानको बाहिर रहेको सालको हरियो पातसमेत चपाएपछि किन टर्रो नहोस्।
केटाकेटीहरूले थाहा नपाउने गरी पूरै पान थुकेँ। तैपनि मुखमा टर्रोपन हराएको थिएन। त्यै बेला एउटा उखानको सम्झना भयो- ‘बाहुनले च्याउ खाओस् न स्वाद पाओस्।’
प्रकाशित: २६ माघ २०८२ ११:२६ सोमबार





