२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

नवलपुर-१ मा इतिहास रच्ने दाउमा एमाले, कांग्रेसलाई आफ्नो साख जोगाउन हम्मेहम्मे

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को क्षेत्र नम्बर एक नेपाली कांग्रेसको गढका रूपमा हेरिन्छ। २०६४ सालदेखि यताका निर्वाचनमा कांग्रेसका उम्मेदवार शशांक कोइरालाले लगातार जित्दै आएको क्षेत्र समेत हो। यसपटक भने कांग्रेसलाई आफ्नो साख जोगाउन हम्मेहम्मे देखिन्छ। लगातार चार पटक निर्वाचन जित्दै आएका कोइराला यतिखेर चुनावी मैदानभन्दा बाहिर छन्।

कोइरालाका ठाउँमा युवा नेता बालकृष्ण घिमिरेलाई कांग्रेसले अगाडि सारेको छ। यसपटक परिर्वतनको नारा दिएर आएको रास्वपाले घिमिरेलाई कडा टक्कर दिने आकलन समेत हुन थालेको छ। यद्यपि यसपटक सत प्रतिशत जित्ने अवस्थामा आएको नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछाने बताउँछन्।

‘हामी यसपटक सय प्रतिशत जित्ने अवस्थामा छौँ,’ उनले जित्ने आधारसहित भने, ‘नवलपुर जिल्लाका साथीहरु बिच मतभेद छैन। यसपटक स्थानीय उम्मेदवार हुँदा उत्साह र एकता छ।’ लामिछानेले नवलपुर १ मा आफ्नो विरासत यथावत राख्ने अवस्थामा रहेको बताए।  शशांकले यसपटक निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेसले युवा नेता गजेन्द्र आलेलाई उठाउने निर्णय गरेको थियो। घिमिरे र आलेले कांग्रेस पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए। पछि पार्टीले आलेलाई उम्मेदवारी फिर्ता गर्न लगाएर घिमिरेलाई आधिकारिक उम्मेदवारी बनाएको थियो। अहिले आले पनि घिमिरेसँग चुनावी प्रचार प्रसारमा हिँडिरहेका छन्।  

‘बाहिर जे जति हल्ला भए पनि हामीले जित्छौँ। हाम्रो कहीकतै विवाद छैन। गजेन्द्र जी पनि हामीसँगै चुनावी घरदैलो अभियानमा हिँड्नुभएको छ,’ लामिछानेले भने, ‘हामीले जनताको मन जितेर निर्वाचन जित्दैछौँ।’ घिमिरे पार्टीको उपसभापति, वकिल, प्राध्यापक समेत हुन्। शैक्षिक व्यक्तित्व भएकाले पनि उनलाई जित निकाल्न सहज हुने आंकलन कांग्रेसको छ।

एमाले यसपटक इतिहास रच्ने पक्षमा छ। यस क्षेत्रमा सधैँ कांग्रेसको निकटतम प्रतिद्वन्द्वी रहेको एमालेले युवा नेता तथा शैक्षिक व्यक्तित्व भागिरथ सापकोटालाई अघि सारेको छ। एमाले जिल्ला नेता राजेन्द्र पाण्डेले पनि यसपटक निर्वाचन जित्ने दाबी गर्दछन्। ‘हामीले चुनाव जित्छौँ। अहिले घरदैलोमा हिँड्दा सकारात्मक पाएका छौँ। हामीसँग भएका शक्तिलाई प्रयोग गरेका छौँ। अहिले हाम्रो रणनीति अनुसार अगाडि बढेका छौँ,’ उनले भने, ‘हाम्रो उम्मेदवार राम्रो हुनुहुन्छ जितिन्छ भन्नेमा हामीलाई लागेको छ।’

राजनीतिलाई उत्पादनसँग जोडेर लैजानुपर्छ भन्ने एमालेका उम्मेदवार सापकोटा अहिले व्यवहारमै उतार्ने गरी मैदानमा पुगेका छन्। 'म जनताको कुरा सुन्न, सुझाव लिन र योजना बनाउन आएको हुँ। अब राजनीति मात्र होइन आर्थिक अधिकार पनि रोजौँ भन्ने मेरो कुरा रहेको छ। व्यवसायमा रहँदा नजिकबाट धेरै कुरा देखेँ। ट्याक्सको झन्झट, नीतिगत अन्योल र कर्मचारीको ढिलासुस्ती यी समस्या कागजमा होइन मेले जमिनमै भोगेको छु। यस कारण बाहिरबाट गुनासो गर्नुभन्दा भित्रबाट सुधार गर्न आवश्यक छ। मेरो बुझाइमा राजनीति भनेको सत्ता हैन जिम्मेवारी हो,' एमाले उम्मेदवार सापकोटाले भने।    

२०६४ र २०६९ को संविधानसभा निर्वाचनमा कोइराला भारी मतका साथ विजयी बनेका थिए। त्यसपछि २०७४ र २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा कोइरालालाई जित निकाल्न निकै सकस भएको थियो। २०७९मा कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका थिए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतमले २४ हजार ३०५ मत प्राप्त गरेका थिए। यहाँ राप्रपाका उम्मेदवार डा.मोहन लाल भूसालले ३ हजार ४३९ मत प्राप्त गर्न सफल भएका थिए। पहिलाको मत संरक्षण गर्न सकेमा आफूहरूले जित्ने दाबी एमालेको छ।  

‘कांग्रेसको मत रास्वपामा जान्छ,’ उनले भने, ‘हामीले आफ्नो मत जोगाउन सकियो भने यहाँबाट हामीले जित निकाल्छौँ।’ २०६४ सालमा नेपाल नै माओवादीमय भएको अवस्थामा प्रत्यक्ष तर्फ कांग्रेस २५ सिटमा खुम्चिएको थियो। सो बेलामा पनि कांग्रेसले यो ठाउँमा जित निकालेको क्षेत्र हो। यद्यपि अहिलेको अवस्था भने यहाँ धेरै फेरिएको छ। ‘दुई पटकसम्म एउटै पार्टीलाई भोट हालियो। यसपटक मत परिवर्तन गर्ने सोचमा छौँ,‘ गैँडाकोट २ सिलन्यास चोककी सम्झाना पौडेलले भनिन्, ‘विकास त कसैले गरेको पाइँदैन।’

अहिले नारायणगढ–बुटवल सडक खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ। गैँडाकोट कांग्रेस चोक नजिकै देऊमायाँ श्रेष्ठको घर छ। अहिले ६ लेनको सडकमा सवारी साधन गुडिरहेका छन्। यद्यपि मत भने परिर्वतन गर्ने सोच उनको छ। ‘यो सडक विस्तार त केपी ओली सरकारमा छँदा भएको हो। सडकले मात्र नहुने,’ उनले भनिन्, ‘यहाँ रोजगारी छैन। विदेशिनुको बाध्यता यथावत छ।’

कोही मतदाता भने यसपटक पुरानै पार्टीलाई मत दिने अवस्थामा पनि छन्। विकास त कसैले गर्ने होइनन्। जे भएपनि यहाँ विकास नभएको भन्न मिल्दैन। खानेपानी, सडक, सञ्चारमा देशले फड्को मारेको छ,’ गैँडाकोट ५ का पूर्णभद्र सापकोटाले भने, ‘मान्छे हेरेर भोट हाल्नुपर्छ। नयाँ भन्दैमा केही होला जस्तो मलाई लाग्दैन।’

२०७९ सालको प्रतिनिधि सभाको समानुपातिक मत हर्ने हो भने नवलपुर १ मा रास्वपा पहिलो दल हो। अहिले पनि उसको क्रेज ठीकै छ। समानुपातितर्फ रास्वपाले २५ हजार ७७४ मत ल्याएको थियो। त्यस्तै नेपाली कांग्रेसले २३ हजार ४२१, एमालेले २२ हजार १५०, राप्रपाले ५ हजार १ सय र नेकपा (माओवादी केन्द्र)ले ३ हजार ५०५ मत ल्याएको थियो।  रास्वपाले यस क्षेत्रबाट यसपटक पनि पनि राजन गौतमलाई अगाडि सारेको छ। गौतम पूर्व माओवादी नेता हुन्। २०७९ सालको समानुपातिक मत आएमा निर्वाचन जित्नेमा रास्वपा ढुक्क देखिन्छ।  

यहाँबाट ४ जना स्वतन्त्र उम्मेदवारसहित १८ जनाले उम्मेदवारी दिएका छन्। एमालेबाट भागिरथ सापकोटा, कांग्रेसबाट बालकृष्ण घिमिरे, राप्रपाबाट दिपक चन्द्र बस्ताकोटी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदत्त सापकोटा, राष्ट्रिय जनमुक्ति पार्टीबाट शत्रुधन थापा, मंगोल नशनल अर्गनाईजेसनबाट राजु गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजन गौतम, जनता समाजवादी पार्टी (एकल चुनाव चिह्न)बाट छविलाल मगर, नेशनल रिपब्लिक नेपालबाट विष्णुमान विक, नेपाली कम्युनिष्ट पार्टीबाट लोक प्रसाद भुर्तेल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जगन्नाथ अर्याल, श्रम संस्कृति पार्टीबाट भिमचन्द्र गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट बेल बहादुर सारु, उज्याले नेपाल पार्टीबाट पार्वती गुरुङसेनीले उम्मेदवारी दिएका छन्।

यसैगरी स्वतन्त्रबाट गोकुल शर्मा, लक्ष्मण श्रेष्ठ, अविनास सुनार र विन्दु केसी चुनावी मैदानमा छन्।

प्रकाशित: २६ माघ २०८२ १८:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App