२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

नेपाली चलचित्र ‘जाँड’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जाँड’ को ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलर सार्वजनिक  गर्दै निर्माण टिमले चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने जनाएको छ।

राजु शाहको निर्देशनमा निर्माण भएको चलचित्र ‘जाँड’ को ट्रेलरमा मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ। ट्रेलरले जाँड खाने व्यक्तिको व्यवहारले परिवारमा सिर्जना गर्ने समस्याका साथै पत्नी, छोरी र समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई यथार्थपरक ढंगले चित्रण गरेको देखिन्छ।

चलचित्रले मद्यपानको लतले पारिवारिक सम्बन्धमा ल्याउने दरार मात्र होइन, नेपाली समाजमा अझै विद्यमान ‘वंश धान्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत सोचमाथि पनि प्रश्न उठाएको छ। छोराप्रतिको मोह र छोरीलाई हेर्ने विभेदपूर्ण दृष्टिकोणका कारण परिवार र समाजमा देखिने समस्या तथा त्यसविरुद्धको आवाजलाई चलचित्रले कथावस्तुको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ।

राजेन्द्र भट्टको निर्माणमा बनेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल, किरणप्रताप केसी लगायतका कलाकारको अभिनय छ।

ट्रेलरमा कलाकारहरूले जीवन्त अभिनयमार्फत भावनात्मक र सामाजिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्।

सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार पारेका हुन्। चलचित्रका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहेका छन्।

चलचित्रको मुख्य सहायक निर्देशकमा शम्भु गौतम हुन् भने किशोर डंगोल र  नरेन्द्रकुमार केसी सह-निर्देशकको भूमिकामा छन्।

दिपेन बस्न्यातले छायांकन तथा सम्पादन गरेको चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन छ। निर्माण नियन्त्रकको जिम्मेवारी सुनिलप्रसाद श्रेष्ठले सम्हालेका छन्। चलचित्रमा श्रीपुरुष ढकालका शब्द, रोशन बालुवाको संगीत तथा स्वर समावेश गरिएको छ।

सामाजिक यथार्थ, पारिवारिक संवेदना र चेतनामूलक सन्देशलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘जाँड’ले मद्यपानको दुष्प्रभाव र लैंगिक विभेदजस्ता विषय उठान गर्दै दर्शकमाझ फरक स्वादको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सार्वजनिक ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ। चलचित्रको बितरकमा दिपक दंगाल, नेशनल सिने ग्रुप नेपाल रहेको छ।  चलचित्रको ट्रेलर ओभिएज डिजिटलटेनमेन्ट युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित: २७ जेष्ठ २०८३ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App