१ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

टोलटोलमा फिल्म महोत्सव असार ५ गतेदेखि

काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल, पार्क, डबली तथा चोकहरूमा ‘टोलटोलमा फिल्म महोत्सव’ आयोजना गर्ने भएको छ । महानगरले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सवको संकेत चिन्ह सार्वजनिक गरेको हो ।

महानगरका अनुसार महोत्सवको उद्घाटन असार ५ गते खुलामञ्चमा हुनेछ भने असार ६ गतेको कार्यक्रम भेहिकल फ्री असन क्षेत्रमा सञ्चालन गरिनेछ । नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने तथा रचनात्मक उद्योगलाई समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ ।

महोत्सवअन्तर्गत लघु चलचित्र तथा चलचित्र प्रदर्शन, कला र रचनात्मक उद्योगसम्बन्धी संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम, स्थानीय खानाका परिकारको प्रदर्शनीलगायत गतिविधि सञ्चालन हुनेछन्। चलचित्र प्रदर्शनका लागि एलईडी स्क्रिन, साउण्ड सिस्टम तथा क्युरेटरको व्यवस्था महानगरको सम्पदा तथा पर्यटन विभागले गर्नेछ भने व्यवस्थापन स्थानीय युवाहरूका संस्थाले गर्नेछन् ।

महानगरले यो कार्यक्रमलाई आगामी दिनमा अन्तर्राष्ट्रिय फिल्म महोत्सवसँग जोडेर विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

महानगरका अनुसार फिल्म क्षेत्रमार्फत स्थानीय संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवद्र्धन, रोजगारी सिर्जना, अनुसन्धान, छात्रवृत्ति, पूर्वाधार विकास, चलचित्र शिक्षा तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसर विस्तार गरिनेछ। साथै चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिटलगायत कार्यक्रममार्फत निर्माता, लगानीकर्ता र वितरकबीच सञ्जाल निर्माण गरिने लक्ष्य राखिएको छ ।

प्रकाशित: १ असार २०८३ २१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App