मुक्तककार रामसुन्दर देउजा, पूर्णबहादुर श्रेष्ठ 'ह्रदयङ्कृत' र सुभद्रा अधिकारीले संयुक्त रूपमा मुक्तक सुनाएका छन्।
राजधानीको ठमेलमा सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा सम्पन्न उक्त मुक्तक वाचनमा प्रत्येक मुक्तककारले जनही पन्ध्र थान मुक्तक सुनाएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सुन्दर कार्यक्रमको निम्ति प्रतिष्ठानलाई धन्यवाद दिए। उनले वर्तमान समयमा चतुष्पदीय हरफमा लेखिने मुक्तकले गहिरो भावको सूत्रात्मक अभिव्यक्ति दिने बताए। 'अनुभूति, भावना अभिव्यक्त गर्ने शक्तिशाली माध्यमको रूपमा मुक्तक रहेको बताउँदै भने अन्य रचनाको तुलनामा मुक्तकमा विम्ब, प्रतिक, अलङ्कार,ध्वनि प्रयोग हुन्छ। मुक्तक जुनसुकै विषयमा पनि लेख्न सकिन्छ।

मुक्तक प्रतिष्ठानले मुक्तक सम्बन्धमा प्राडा लक्ष्मणप्रसाद गौतमको अगुवाइमा सिद्धान्त निर्माण गरी पुस्तक समेत प्रकाशन गरेको छ।'
उनले आफ्ना केही थान मुक्तक समेत सुनाए।
यसैगरी लोमस वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलले कार्यक्रम सुन्दर रहेको, मुक्तककारहरूका मुक्तकहरू समसामयिक विकृतिविरुद्ध लक्षित देखिएका मात्र नभएर देशप्रेम, माटोको माया, भावना, प्रेम, सम्बन्ध लगायतका विषयमा प्रस्तुत भएको बताए।
छविरमण सिलवालले उपस्थित सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सबैको सक्रिय सहभागिताको अपेक्षा गरे।
कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गर्दै मुक्तककारहरूको छोटो परिचय समेत दिएका थिए।
वाचित मुक्तकहरू विषयगत रूपमा विविधता रहेका थिए। मुक्तकहरूमा देशप्रेम, मायाप्रेम, समसामयिक विकृति र विसंगतिप्रति तिव्रतर रोश र व्यङ्ग्य व्यक्तिएका थिए। चिवहालः गौचर परिवारको सहकार्यमा भएको कार्यक्रमको मिडिया पार्टनर इखवर नेट रहेको छ।
प्रकाशित: १४ चैत्र २०८२ १३:३९ शनिबार





