१ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

यस्तो छ चलचित्र ‘काजी’को कथा

सामाजिक विषय र प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘काजी’ गत जेठ ८ देखि प्रदर्शनरत छ। विसं २०४५ को समयको सामाजिक संरचनाभित्र रहेर प्रेम, समर्पण र सम्बन्धको कथा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता विपिन कार्कीले ‘काजी’ र अभिनेत्री केकी अधिकारीले उनकी श्रीमती ‘कजिनी’ को भूमिका निर्वाह गरेकी छन्।

बाल्यकालमै टुहुरो भएका काजीले मागी विवाहमा पाउने श्रीमतीलाई नै आफ्नो संसार बनाउँछन्। एउटा दृश्यमा काजीले ‘मेरो बा, आमा सबै नै श्रीमती (कजिनी) नै हुन्’ भन्ने संवाद बोल्छन्, जसले काजीले आफ्नो कजिनीलाई गर्ने प्रेमका बारेमा ज्ञात गराउँछ। उक्त चलचित्रमा देखाइएको प्रेममा त्याग छ, सहनशीलता छ र मौन स्वीकृतिहरू छन्।

श्रीमान् र श्रीमतीको प्रेमलाई जति देखाइएको छ, त्यहाँ सामाजिक दबाब पनि सिर्जना गरिएको छ। वंश अगाडि बढाउने सन्तान नहुँदा चलचित्रमा द्वन्द्व सृजना हुन्छ। काजीलाई उनका काकाले अर्को विवाह गर्न सल्लाह दिन्छन तर उनले श्रीमतीबाहेक अन्य सोच्न नसक्ने बताउँछन्।

यद्यपि, चलचित्रमा कजिनीको बहिनी अर्थात् काजीको साली (गरिमा शर्मा) को प्रवेश सँगै नयाँ मोड आउँछ। काजी र सालीबीचको सम्बन्ध विवाहसम्म पुग्न सक्ने हल्ला समाजमा चलेपछि कजिनीले झुट बोल्ने योजना बनाउँछिन्। उनलाई कुनै पनि सर्तमा काजी गुमाउनु छैन। चलचित्र ‘काजी’ यही वैचारिक द्वन्द्वभित्र रहेर दर्शकसँग संवाद गर्न खोजिरहेको आभाष हुन्छ। चलचित्रमा अभिनेता विपिन कार्कीले काजीलाई परम्परागत नभई प्रेमिल भावमा प्रस्तुत गरेका छन्।

“यतिसम्म पनि प्रेम गर्न सक्छन् र ? यस्तो पनि प्रेम हुन्छ र भन्ने पात्र हामीले देखाएका छौँ। यो चलचित्रमा मेरो पात्रले आफ्नो संसार नै श्रीमतीलाई मानेपछि केसम्म गर्न सक्छ भन्ने देखाइएको छ। यो अमर रहने एउटा प्रेम कथानक हो”, अभिनेता कार्कीले भने।

उनी काजी खानदानबाट भएकै कारण काजी त हुनुभयो, तर सरल हुनुहुन्छ । गाउँलेलाई हरेक समस्यामा मद्दत गर्ने पात्र अभिनेता कार्कीले निर्वाह गर्नुभएको छ । अभिनेत्री केकी अधिकारीले ‘काजी’ जस्तो श्रीमान् हरेक महिलाको चाहना हुने बताए।

उनले भने, “यो एउटा निःस्वार्थ समर्पणको प्रेमकथा हो। अहिलेको पुस्तालाई यस्तो पनि प्रेम हुन्छ र? भन्ने आभाष चलचित्र हेरेपछि हुन्छ। यसमा श्रीमान् र श्रीमती निःस्वार्थ प्रेम सामाजभन्दा माथि हुन्छ भन्ने देखाइएको छ।”

निर्देशक लक्ष्मण रिजालले सरल र मन छुने कथालाई पटकथामार्फत चलचित्रका रूपमा तयार गरे पनि सबैभन्दा कमजोरी पटकथामै देखिएको छ। काजी आफ्नो गाउँमा एउटा सम्मानित र निर्दोष पात्र हो। आफ्ना पिताले बसालेको बस्तीमा उसको बेग्लै सान छ तर चलचित्रमा देखाइएको घटनाक्रम वा पटकथा एकै लयमा बग्दा दर्शकले धैर्यता गुमाउन सक्छन्।

बारम्बार उस्तै दृश्य र शैली देख्दा सुस्त भएको महसुस हुन्छ। साथै, चलचित्रमा देखिने समस्यासँग मुख्य पात्र भाग्दा दर्शकलाई खिन्न लाग्न सक्छ। अर्थात् कजिनीले झुट बोलेर टिकाउन खोजेको सम्बन्धका लागि काजी लड्छ भन्ने अपेक्षा हुन सक्छ तर काजीले रोज्ने सरल बाटोले त्यसमा द्वन्द्व सिर्जना हुन् पाउँदैन। हुन् त काजीले चलचित्र सुरु भएकै केही समयमा आउने दृश्यमा कजिनीलाई असहजता भएमा आफूले लिने निर्णयबारे आफ्नो काका र काकीलाई जानकारी गराइसकेका हुन्छन्। तर, पनि चलचित्रको पात्रले समस्यासँग समना गर्नुपर्नेमा सरल बाटो रोज्नु एउटा मुख्य कमजोरी हो।      

‘काजी’ को अर्को बिर्सनै नसकिने पक्ष यसको सङ्गीत र पाश्र्व ध्वनि हो। यसको बलियो पक्ष छायाङ्कन हो। छायाँकार चिन्तनराज भण्डारीले आजभन्दा झन्दै तीन दशक अगाडिको समयलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्। बिजुली नहुँदा लालटिन वा टुकी बत्तीको समयलाई उनले दुरुस्तै उतारेका छन्।

काजी (विपिन कार्की) को चरित्र एउटा ‘आदर्श प्रेमी’ को प्रतीक हो। ‘काजी’ एउटा यस्तो फिल्म हो जुन हेरिरहँदा केहीबेर आँखालाई आनन्द दिन सक्छ, कलाकारको अभिनयले मन लोभ्याउन सक्छ तर जाँदाजाँदै दिइएको सन्देश र मुख्य द्वन्द्व फितलो हुँदा दर्शकलाई खिन्न बनाउन सक्छ। समग्रमा चलचित्र ‘काजी’ प्राविधिक हिसाबले जति बलियो छ, कलाकार अभिनयको जति सुन्दर र जीवन्त छ। पटकथा त्यति नै कमजोर छ।  

प्रकाशित: २० जेष्ठ २०८३ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App