साहित्यिक जमघट ‘काव्य डबली’ शृंखला भाग-३मा शनिबार साँझ इटहरीस्थित कोशी सेन्टजेम्स कलेजको हलमा १४ जनाले कविता वाचन गरे । कार्यक्रममा विभिन्न पुस्ताका कविहरूले कविता वाचन गर्दाको पूर्ण मौनता र कविताले सिर्जेको वातावरण विशेष रह्यो ।
कविहरुले समकालीन जीवन, समाज, राजनीति, प्रेम समय र मानवीय संवेदनालाई केन्द्रमा राखेर आफ्ना कविता प्रस्तुत गरे । कविता वाचन गर्नुअघि हलमा शान्त वातावरण बन्यो ।
कार्यक्रमको सुरुवात काव्य डबलीका सोनु जयन्तीले उपस्थित सवैलाई शान्त रहन आग्रह गरे र सुरुवात गरे । सो क्रममा चर्चित कवि मनु मन्जिलले सहभागीलाई स्वागत गर्दै भने, ‘जुन समाजले काव्यको भाषा बुझ्छ, त्यो समुन्नत हुन्छ ।’ उनले कविता समाजलाई संवेदनशील, सचेत र मानवीय बनाउने सशक्त माध्यम भएको बताए ।
एकपछि अर्को कविले पालैपालो कविता वाचन गरेको कार्यक्रममा प्रज्ज्वल पराजुलीले जूनको बाटो, जीवन आरोहीले चराहरूको यात्रा, राज आशातीतले बलिदान, सवी मेवाहाङले चिताको आनन्द, पराजीत पोमुले समयको विघटन र उमेश लुइँटेलले टोकन नम्बर १७२ प्रस्तुत गरे । त्यसैगरी सुन्दर कुरूपले आमाका साथीहरू र गिटार, पुस्तिका भण्डारीले मध्यान्तर, राजकुमार सुब्बाले मलाई आजकाल केही मन पर्दैन, नवराज मैनालीले जय बुढासुब्बा, विवेक विवश रेग्मीले चित्र–२, राज माङ्लाकले साँवाखोलाको गीत, मनु मन्जिलले घरको आँधी तथा देवान किरातीले एक अप्रिय नायिका तथा कालो गुलाफ शीर्षकका कविता वाचन गरे ।
कार्यक्रममा उपस्थित साहित्यप्रेमी श्रोताहरूले कवितामार्फत समकालीन समाजका विविध आयामलाई नजिकबाट अनुभूति गर्ने अवसर पाएका थिए । काव्य डबलीले नयाँ र स्थापित दुवै पुस्ताका कविहरूलाई एउटै मञ्चमा उभ्याउँदै नेपाली कविताको सिर्जनात्मक ऊर्जा र साहित्यिक संवादलाई थप सशक्त बनाएको सहभागीहरूले बताएका थिए ।
कार्यक्रममा सुनसरी र मोरङका साहित्यकार तथा साहित्यप्रेमी श्रोताको उपस्थिति थियो । कार्यक्रममा सहभागी साहित्यप्रेमीले काव्य डबली कार्यक्रमले इटहरीको साहित्यिक गतिविधिलाई थप उचाईंमा पुर्याएको बताए ।
काव्य डबली हरेक दुई–दुई महिनाको अन्तरमा हुने गरेको छ । काव्य डबलीको मुख्य उद्देश्य कविता लेखन र वाचन संस्कृतिलाई निरन्तरता दिनुका साथै सिर्जनशील व्यक्तिहरुलाई साँझा मञ्च उपलब्ध गराउनु हो ।
प्रकाशित: १४ असार २०८३ १८:२३ आइतबार





