६ भाद्र २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

तेस्रो नेत्र

निबन्ध

विश्वविद्यालयको कक्षामा ‘सिर्जनात्मक लेखन’ पढाउने क्रममा गुरु प्रा. राजेन्द्र सुवेदीले भनेको कुरा सम्झन्छु - ‘दुई नेत्रको दर्शन प्रायः अपूर्ण हुन्छ। यी दुई नेत्रले बुझ्ने अभिधा सन्दर्भ मिठो साहित्य होइन। सिर्जनामा तेस्रो नेत्रको दर्शन अभिव्यक्त हुनुपर्छ।’

त्यति बेलाको तीनसाता वर्षको वयले यी कुरा खासै बुझेन। आज महसुस गर्दै छु, वास्तवमा जीवन हेर्न तेस्रो नेत्र नै खोल्नुपर्दो रहेछ। नत्र जीवनको बुझाइ एकांकी हुँदो रहेछ।

भगवान् शिवका तीनवटा नेत्र छन् भन्ने कुरा हामी सबैलाई थाहा छ तर उनलाई तेस्रो नेत्र कसरी प्राप्त भयो भन्नेबारे धेरैलाई थाहा छैन। पौराणिक ग्रन्थहरूमा सङ्केत पाइन्छ - शिवजीका बाहिरी दुई आँखाले संसारको बाह्य स्वरूप जस्तो छ, त्यस्तै देख्छन्, रूप, रङ, घटना र बाहिरी यथार्थलाई ग्रहण गर्छन्। उनको तेस्रो नेत्रले दृश्यभित्र लुकेको सत्य देख्छ। हाम्रा यी दुई आँखा र तेस्रो नेत्रले पनि त्यही काम गर्छन्। दुई आँखाले दृश्यलाई मस्तिष्कसम्म पुर्‍याउँछन्, तेस्रो नेत्रले त्यसको अर्थ छुट्याउँछ– के सही, के गलत; के सत्य, के भ्रम; के स्थायी, के क्षणिक। त्यसैले तेस्रो नेत्र खुल्नु भनेको निधारमा अर्को आँखा उम्रिनु होइन, चेतनाको सुदृष्टि जन्मिनु हो।

दुई आँखाले घटना देख्छन्, तेस्रो नेत्रले घटनाको अर्थ खोज्छ। दुई आँखाले मानिसको अनुहार हेर्छन्, तेस्रो नेत्रले उसको नियत खोज्छ। दुई आँखाले सफलता देख्छन्, तेस्रो नेत्रले त्यस सफलता पछाडिको संघर्ष देख्छ। दुई आँखाले असफलता देख्छन्, तेस्रो नेत्रले त्यस असफलताभित्र लुकेको सम्भावना देख्छ। दुई आँखाले संसार देखाउँछन्, तेस्रो नेत्रले संसार बुझाउँछ। दुई आँखाले बाटो देख्छन्, तेस्रो नेत्रले कुन बाटो हिँड्ने भन्ने विवेक दिन्छ।

तेस्रो नेत्रको काम दृश्य बदल्नु होइन, दृश्यलाई बुझ्ने दृष्टि बदल्नु हो। महाभारतमा अर्जुनले युद्धभूमिमा आफन्त, गुरु र बन्धुहरू देखे। अर्जुनका आँखाले सम्बन्ध देखे, हृदयले मोह देख्यो र मनले युद्धको भय देख्यो तर श्रीकृष्णले उनलाई त्यसभन्दा परको दृष्टि देखाए - कर्तव्य एवं धर्मसहितको व्यापक दृष्टि। त्यहाँ दृश्य परिवर्तन भएको थिएन, दृश्यलाई हेर्ने अर्जुनको दृष्टिकोण भने परिवर्तन भएको थियो। बाहिरको युद्ध उही थियो तर त्यसलाई हेर्ने चेतना फरक भयो।

स्नातक पढ्दै गर्दा पोखरामा सूर्योदयसँगै एक सनसनीपूर्ण खबर फैलियो– पोखराका प्रसिद्ध गायकले आफ्नै व्यावसायिक महलको ब्रह्मकोठामा झुन्डिएर आत्महत्या गरे। उनीसँग साहित्यकलाका सन्दर्भमा पटक पटक भेटघाट र कुराकानी हुन्थ्यो। कुराकानीका क्रममा हामीलाई सधैं लाग्थ्यो - ‘उनीसँग आन्तरिक ऐश्वर्य कला, गला, सुन्दरता सबै छ, साथै भौतिक रूपमा पोखरामा अथाह सम्पत्ति छ। भगवानबाट भित्र–बाहिर चाहिनेजति सबै पाएका मान्छे।’

केही दिनपछि उनैले आत्महत्या गरेको खबर सुन्दा लाग्यो– उनीमाथि बाहिरी दुई आँखाले गरेको दर्शन असत्य थियो, उनलाई हेर्न तेस्रो नेत्र कहिल्यै खुलेन।

चर्मचक्षुले झुक्याएका घटना ममा पटक पटक घटिरहन्छन्। हालसालै कमलपोखरीमा शनिबार साँझपख टहलिन पुगेको थिएँ। अनेक प्रकृतिका मान्छे थिए त्यहाँ। अधिकांश युवायुवती नै थिए। पोखरीको डिलमा चारैतिर जोडी जोडी युवायुवती प्रेमक्रीडा गरिरहेका थिए। एक वृद्ध बढो रोचकसाथ त्यो प्रेमिल गतिविधि नियालिरहेका थिए। मैले ती जोडीलाई भन्दा ती वृद्धलाई हेर्दै थिएँ। तिनीहरूलाई हेर्ने उनको दृष्टिकोण अजिब रसिलो थियो। लाग्यो– ‘पातकी बुढो मान्छे, यो उमेरमा पनि भर्खरका केटाकेटीले गरेको प्रेमक्रीडा हेरेर लोभिन्छ।’

केही दिनपछि प्रज्ञाप्रतिष्ठानमा आयोजित बृहत् साहित्य गोष्ठीमा पुग्दा बल्ल मेरो भ्रमको पर्दा च्यातियो। त्यस कार्यक्रमका प्रमुख अतिथि थिए तिनै वृद्ध, जसले यौवनाहरूको प्रेमक्रीडा हेरेर मजा लिइरहेका थिए। त्यस साहित्य गोष्ठीमा उनले सशक्त प्रेमिल कविता पस्के - ‘कमलपोखरीमा फुलेका कमल’। म भ्रमित भएँ यिनै चर्मचक्षुका कारण।

हामी दुई आँखाले संसार हेर्छौं। आँखाले अनुहार देख्छ, घर देख्छ, बाटो देख्छ, धन देख्छ, पद देख्छ, सफलता देख्छ। तर आँखाले देखेका सबै कुरा सत्य हुँदा रहेनछन्। कहिलेकाहीं आँखाले उज्यालो देख्छ तर त्यसभित्र अँध्यारो लुकेको हुन्छ। कहिलेकाहीं आँखाले अँध्यारो देख्छ तर त्यही अँध्यारोभित्र उज्यालो जन्मिरहेको हुन्छ।

हाम्रा आँखाले जेललाई कठघरा देख्छन्, जेलभित्र जीवन पीडादायी वा बन्देजपूर्ण देख्छन्। जेलभित्र बसेर पनि विचारले क्षितिज नाघ्न सक्ने मानिस स्वतन्त्र हुन सक्छ तर खुला आकाशमा बसेर आफ्नै लोभ र अहंकारबाट बाहिर निस्कन नसक्ने मानिस संसारकै सबैभन्दा ठुलो कारागारमा जीवनभर कैद भइरहन्छ। त्यसैले चर्मचक्षुले देखेको जेलको दृश्य र ज्ञानचक्षुले महसुस गरेको जेलको अनुभूति एउटै हुँदैन।

एउटा कैदीको कथा सम्झनामा आउँछ। धेरै वर्ष जेल सजाय बिताएपछि एक कैदी जेलमुक्त हुन्छ। उसलाई खुला संसारमा ल्याइन्छ। उसले केही समय खुला संसारमा आफ्नो वरिपरि हेर्छ। भर्खरै पाएको स्वतन्त्रता उसका लागि असहज महसुस हुन्छ। वरिपरि रहेका मानिसको अनुहारमा कुनै आत्मीयता पाउँदैन, जति आत्मीयता उसले जेलमा पाएको थियो। ऊ आफ्नो घर जान्छ। उसलाई त्यो घर घरजस्तो लाग्दैन। उसलाई आत्मीय घर जेल नै लाग्न थाल्छ। उसले आफू पुनः जेलमै जान पाऊँ भन्दै निवेदन दिन्छ। उसको निवेदनमाथि जेल प्रशासनमा छलफल हुन्छ। जेलमुक्त अवस्थामा जेल जाने बाटो निर्माण गर्न उसले थप आपराधिक कार्य गर्न सक्ने अनुमानसाथ उसकै चाहनाअनुसार पुनः जेल चलान गरिन्छ।

यहाँ प्रश्न उब्जिन्छ– जेल आत्मीय हुन्छ कि हुँदैन? ऊ पुनः जेल जान किन खोजिरहेको छ? उत्तर मनभित्र आइसकेको छ– बाहिरी आँखाको दृष्टिमा जेल कठोर हुन्छ। जेलमा सर्वत्र सजाय मात्र भोग्नुपर्छ तर तेस्रो नेत्रले जेललाई जेल मात्र देख्दैन, जेललाई घर पनि देख्छ, जेलभित्र छुट्टै स्वतन्त्र आकाश पनि देख्छ।

तेस्रो नेत्रले हेर्ने हो भने यो संसार सबै जेल नै त हो। हामी जेलरूपी आमाको पेटमा नौ महिना बस्यौं। त्यसपछि पेटको अँध्यारो जेल तोडेर पृथ्वीरूपी अर्को जेलमा प्रवेश गर्‍यौं। पृथ्वीमा हामी कहाँ स्वतन्त्र छौं र? हाम्रा वरिपरि हजारौं फलामे साङ्ला छन्, संस्कारका साङ्ला, अध्ययनका साङ्ला, सम्बन्धका साङ्ला, मायाका साङ्ला, भोजनका साङ्ला, रोगका साङ्ला, शोकका साङ्ला, खुसीका साङ्ला, अहंकार, अपेक्षा, वासना, प्रतिष्ठा, पद, शक्ति, परम्परा, भविष्य, कर्तव्य, जिम्मेवारी, अपमान, पश्चात्ताप, सुरक्षा, अज्ञान आदिका अनेकौं साङ्ला।

यी फलामे साङ्ला पार गर्दै गर्दै यो जेल जीवन कटाउने हो। अन्तिममा यो जेलको ढोका फोडेर अर्को जेल पुग्ने हो– मरणपछिको जेल। त्यसैले चर्मचक्षुले देखका स्वतन्त्रता वास्तविक महाजेलभित्रका क्षणिक भ्रम हुन्।  

विश्वेश्वरप्रसाद कोइरालाको ‘तीन घुम्ती’, ‘सुम्निना’ पढ्दा लाग्छ, जेल त अनुभूति, चिन्तन र साहित्यिक चेतनाको पाठशाला नै रहेछ। जेल उनको शरीरको कारागार थियो, चेतनाको होइन। महात्मा गान्धीले जेलको कोठालाई पनि सत्य र अहिंसाको साधनास्थल बनाए, नेल्सन मन्डेलाले दशकौं जेल जीवन बिताएर पनि स्वतन्त्रताको सपना मर्न दिएनन्। उनीहरूको हातमा हतकडी थियो, शरीर बन्द थियो तर विचारको आकाश खुला थियो, आत्माको ढोका बन्द थिएन।

आजको राजनीतिक यथार्थ पनि यस्तै भ्रमपूर्ण छ। जनताले यसरी झक्याइदिन्छन् नेतालाई, फुरुङ्ङ पारेर शिखर चढाएर थचारिदिन्छन् भुइँमा। विभिन्न कालखण्डमा विभिन्न दल तथा नेता यसरी नै थचारिएका छन्। अहिले पनि अवस्था त्यस्तै छ। उचाइमा छन् कुनै दल, फेदमा थचारिएका छन् कुनै दल। थाहा छैन, यिनै जनताले शिखरमा रहेको दललाई कहिले थचार्ने हुन् अनि फेदमा रहेका दललाई कहिले उकालो चढाउने हुन्? तेस्रो नेत्रले अलिक वर्षपछि को कहाँ पुग्ने हुन्, देखिसकेको छ। तेस्रो नेत्रको भाका बुझ्न सक्नुपर्छ।

आमसभामा उर्लिएको भिड देखेर भाषण गरिरहेको नेताको मनोविज्ञान तेस्रो नेत्रले हेरौं त। उसले योजना बनाइसक्यो– चुनाव जित्ने निश्चित भयो। अब सांसद अनि मन्त्री बन्ने छु। भिआइपी मन्त्री क्वाटरमा परिवारलाई राख्ने छु। अब बल्ल सुरु हुनेछ मेरो कमाइयात्रा। चुनावमा थुप्रै लगानी भएको छ।

मन्त्री भएपछि पटक पटक चुनाव लड्ने खर्च उठाउने छु। सरकारी खर्चमा देशविदेश घुम्ने छु...। केही दिनपछि त्यही ठाउँमा अर्को दलको भाषणभुषण कार्यक्रम हुन्छ। त्यो दलको कार्यक्रममा पनि त्यही भिड, तिनै मान्छे देखेपछि त्यो नेताको तेस्रो नेत्र बल्ल खुल्नेछ– ओहो! बहुरूपी जनताको वास्तविक रङ यी दुई आँखाले देख्न सक्दा रहेनछन्।

गाउँमा एक जना रक्स्याहा दाइ थिए। उनले रक्सी खाएपछि सबैलाई थाहा हुने। रक्सी खान उनी गाउँको बजारमा जान्थे। रक्सी खाएपछि कराउँदै, हल्ला गर्दै , चित्त नबुझेका कुरा बोल्दै, चित्त नबुझेका मान्छेलाई गाली गर्दै घर फर्कन्थे। बाटोमा कुनै मान्छे देखे भने खुब राम्रो गीत गाउँदै नाच्थे। हामीलाई भने उनले कराएको देख्दा खुब डर लाग्थ्यो। रक्सी खाएपछि खुल्थ्यो उनको मनको सत्य अनि गलाको कला। केही वर्ष भयो, उनलाई त्यही रक्सीले खाएको। अहिले सम्झँदै छु– रक्सी खाएपछि उनले सधैं किन सत्य बोले ? मनदेखि नै बोले, कुटिल हाँसो कहिल्यै हाँसेनन्, मनदेखि नै हाँसे, रिस उठ्यो भने पनि मनदेखि नै रिसाए।

मलाई लाग्छ– रक्सीले उनको चर्मचक्षु बन्द गरिदियो, तेस्रो नेत्र खोलिदियो। उनले ओकलेको सत्य तेस्रो नेत्रको कमाल हो।

निबन्ध लेख्दालेख्दै मेरो पनि तेस्रो नेत्र खुलेझैं महसुस भइरहेको छ। मनमा अनेक तरङ्ग आइरहेका छन्। पढ्दै गरेको संस्कृत कक्षाको सम्झना आउँछ। कक्षामा दुईजना चर्मचक्षु नभएका साथी थिए। उनीहरूसँग भौतिक संसार हेर्ने नेत्र थिएनन् तर अन्तर्दृष्टि शक्ति भने अजिब थियो। हामीलाई एक श्लोक घोक्न मुस्किल पथ्र्यो, ती साथीहरूले दैनिक डेढ–दुई सय श्लोक कण्ठस्थ पार्थे। अनौठो लागेर मैले सोधेँ– एकै दिन झन्डै पूरा पुस्तक नै कण्ठस्थ पार्न कसरी सम्भव भयो ? साथीहरूको उत्तर थियो– यो सम्भव चर्मचक्षु नभएका कारण भएको हो। हामीलाई थाहा छैन– मान्छेको रङ कस्तो हुन्छ ? संसार कुन रङमा भुलेको छ? भौतिक मोह, माया, दया, रिस, घृणाको आकृति कस्तो हुन्छ? हामीले त हरेक चिज महसुस गर्ने हो। हामीसँग चर्मचक्षु नभए पनि तेस्रो नेत्र ज्ञान चक्षु छ। यो नेत्र अति शक्तिशाली हुन्छ। यो सबै यही नेत्रको कमाल हो। उनीहरूको उत्तरबाट म पूर्णतः सन्तुष्ट भएँ।

बाहिरी आँखाको सबैभन्दा ठुलो कमजोरी यही हो - त्यसले दृश्य देख्छ तर दृश्यभित्रको सत्य देख्दैन। उसले राजदरबार देखेर सिद्धार्थलाई सुखी ठान्छ, दुब्लो शरीर देखेर गान्धीलाई कमजोर ठान्छ, आँखा नदेख्ने हेलेन केलरलाई असहाय ठान्छ, असुन्दर अनुहार देखेर लिंकनको महानता नाप्न सक्दैन।

हामी सधैं यस्तै गर्छौं– मानिसको पोसाक हेरेर उसको हैसियत, अनुहार हेरेर उसको चरित्र, पद हेरेर उसको क्षमता र वर्तमान अवस्था हेरेर उसको भविष्यको फैसला गरिदिन्छौं। जीवनको सत्य बाहिरी आँखाले देखिनेभन्दा धेरै गहिरो हुन्छ। त्यही गहिराइमा प्रवेश गर्न तेस्रो नेत्र चाहिन्छ– ज्ञान, विवेक र चेतनाको नेत्र। दुई आँखाले संसारलाई देख्छन्, तेस्रो नेत्रले संसारले लुकाएको सत्य देख्छ।

प्रकाशित: ६ भाद्र २०८३ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App