२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

धान-कोदो रोप्न छोडे, कपाल रोप्न थालेका छन्!

(व्यङ्ग्य) मुक्तक

१) मुक्तक

धान-कोदो रोप्न छोडे, कपाल रोप्न थालेका छन् 

टीका माला फालेर ट्याटु खोप्न थालेका छन् 

हेर्दाहेर्दै उ दिन गयो, यो दिन पो आयो गाँठे!

लुकाउनुपर्ने देखाएर देखाउनै पर्ने छोप्न थालेका छन्।

२) मुक्तक

महँगीको घोडदौड देखेर हेर्दाहेर्दै किलो पाउमा झर्‍यो।

अत्याचारको डिग्री बढेर सहँदासहँदै चोट घाउमा सर्‍यो।

महत्त्वाकाङ्क्षाको लहरो समातेर पहरो नाघूँला भन्थेँ

हरामीहरूको हनीट्य्रापले जिन्दगी नै दाउमा पर्‍यो।

३) मुक्तक

चोरको बिगबिगी बढेर अचेल सीसी क्यामेरा पनि थुनामा छ

गर्दागर्दै आश मर्छ, हेर्दाहेर्दै विश्वास हराउँछ डरैले कानून कुनामा छ

निर्धाहरू थाल ठटाएर न्याय माग्छ्न्, बलियाहरू कान थुन्छन् 

बलवानहरूलाई चैन टपरीमा, निम्छराहरूलाई ऐन दुनामा छ।

मुक्तककार भोजराज रेग्मी मुखाले 

४) मुक्तक

काम गर्ने कालू, मकै खाने भालु भो

मन चोर्ने कसुरदार, कामचोर ठालु भो

छेपाराको छमछमी देखेर भालेमुङ्ग्रो जिल्ल!

कुम्भकर्णको काट्टो खान विभीषण चालू भो।

५) मुक्तक

पिताहरूलाई पाखा लाएर माताहरूको हालीमुहाली छ

नपत्याए हेर्नू पूर्व, जात्रै जात्रामा बरा! रामदुवाली छ

सबै त जोशमै देखिन्छन्, होसहवास खुस्केरै होला!

जिब्रोमा गाली लटरम्म, काखीमुनि कठै! ताली छ।

प्रकाशित: २३ कार्तिक २०८२ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App