३ वैशाख २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

बक्स अफिसमा वर्ष ०८२ : स्टारडमलाई उछिन्दै ‘परान’ बन्यो सर्वाधिक कमाउने चलचित्र

विक्रम संवत् २०८२ साल बिदाइको संघारमा छ। मङ्गलबारदेखि नयाँ वर्ष २०८३ सुरु हुँदैछ। नेपाली चलचित्र क्षेत्रको कुरा गर्दा यस वर्ष कुल ५६ वटा चलचित्र प्रदर्शनमा आए।

यसमध्य पनि जम्मा चार वटा चलचित्रले मात्र बक्स अफिसमा आफ्नो वर्चस्व कायम गर्न सफल भए। वर्षकै सर्वाधिक कमाउने चलचित्रको शीर्ष स्थानमा नवनिर्देशक दीपक आचार्यको डेब्यु चलचित्र ‘परान’ पर्न सफल भएको छ।

स्टार कलाकार र ठुलो लगानीलाई उछिन्दै मौलिक विषयवस्तुमा आधारित चलचित्रले सर्वाधिक व्यापार गर्ने चलचित्रको ताज पहिरन सफल बनेको हो।

कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले १७ करोड ७४ लाख ८४ हजार रुपैयाँको कीर्तिमानी व्यापार गर्न सफल भयो। चलचित्र विकास बोर्डका अनुसार यस चलचित्रका कुल ६ लाख ३० हजार ६ सय ९१ वटा टिकट बिक्री भएका थिए।

नेपाली समाजको यथार्थसँग मिल्दोजुल्दो कथावस्तु भएकै कारण ‘परान’ सुपरहिट भएको हो। यस चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह, पूजा चन्द, केकी अधिकारी र प्रवीण खतिवडाको मुख्य भूमिका रहेको छ।

बोर्डको तथ्याङ्कअनुसार वर्ष २०८२ मा प्रदर्शनमा आएका अधिकांश चलचित्रले आफ्नो लगानीसमेत सुरक्षित गर्न सकेनन्। कतिपय सिनेमालाई हलमा दर्शक तान्न निकै धौधौ परेको थियो।

सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा दोस्रो स्थानमा चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’ पर्न सफल भएको छ।

माघ १६ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले १३ करोड १५ लाख १ हजार रुपैयाँको व्यापार गरेको छ। बोर्डको तथ्याङ्कअनुसार यस चलचित्रका ५ लाख ४ हजार ९ सय ५ वटा टिकट बिक्री भएका थिए।

यस चलचित्रमा अभिनेता पल शाहको मुख्य भूमिका रहेको छ भने बिपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रस पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ।

सुयोग गुरुङ निर्देशित चलचित्र ‘जेरी अन टप’ वर्षको तेस्रो सर्वाधिक सफल चलचित्र बनेको छ। असोज ३१ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

टिकट बिक्रीको तथ्याङ्क हेर्दा यसका ३ लाख ९६ हजार २ सय ४३ वटा टिकट बिक्री भएका छन्। त्रिकोणात्मक प्रेम कथा र सगरमाथा आरोहणको रोमाञ्चक विषयवस्तुमा आधारित यस चलचित्रमा अनमोल केसी, अञ्चल शर्मा र जसिता गुरुङ शीर्ष भूमिकामा देखिएका छन्।

नविन चौहान निर्देशित ‘ऊनको स्वीटर’ ले चौथो स्थान हासिल गर्दै आफूलाई सुपरहिट साबित गरेको छ। आर्टमाण्डुको ब्यानरमा निर्माण भएको यस चलचित्रले ११ करोड ४१ लाख ९२ हजार रुपैयाँको उत्कृष्ट व्यापार गर्न सफल भयो।

वैशाख २६ गतेदेखि सिनेमाघरहरूमा प्रदर्शनमा आएको यस चलचित्रले ३ लाख ९२ हजार २ सय ४३ वटा टिकट बिक्री गरेको छ।

प्रदर्शनको तीन सातामै ८ करोड रुपैयाँ पार गरेको यस चलचित्रले छोटो समयमै उत्साहजनक व्यापार गरेको थियो। चलचित्रमा विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिकाले दर्शकको अपार माया पाएको थियो।

पूर्वी पहाडको बहुसांस्कृतिक परिवेश, नेपालको पूर्वी पहाडी क्षेत्रको समाज तथा जीवनशैली र मानवीय सम्बन्धको न्यानोपनलाई चलचित्रमा सूक्ष्म रूपमा देखाइएको छ।

समग्रमा, वर्ष २०८२ ले नेपाली चलचित्र उद्योगलाई समीक्षा गर्ने अवसर दिएको छ। नाम चलेका अनुहारलाई मात्र पर्दामा देखाएर दर्शकलाई हलसम्म तान्न सकिने सोचलाई यस वर्षका यी चार चलचित्रले भत्काइदिएका छन्।

५६ चलचित्रमध्ये ५२ वटाले पानीसमेत भन्न नपाउनु तर यथार्थपरक कथा बोकेका चलचित्रले करोडौंको व्यापार गर्नुले पनि दर्शक अब स्टारडमभन्दा पनि विशुद्ध अर्गानिक र आफ्नै माटोको कथावस्तु हेर्न चाहन्छन् भन्ने पुष्टि गर्नु हो।

प्रकाशित: ३० चैत्र २०८२ १९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App