नेपाली चलचित्रका लागि सन् २०२६ ऐतिहासिक वर्ष बनेको छ। अविनाशविक्रम शाह निर्देशित नेपाली कथानक चलचित्र ‘तिनीहरू’ अंग्रेजीनाम (एलीफेन्ट इन द फग्स)ले फ्रान्सको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ‘अनसर्टेन रिगार्ड विधामा छनोट भएर मात्र भएन, त्यही विधाको जुरी पुरस्कार समेत जितेर नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुर्याएको छ।
फिल्मका निर्माता हुन् अनुप पौडेल। मंगलबार नागरिकसँगको भेटमा पौडेलले भदौ १९ गते देशभरि फिलिम रिलिज हुने जानकारी दिए।
कान्सको आधिकारिक अभिलेखअनुसार एलफेन्ट इन द फग्स अविनाशविक्रम शाहको पहिलो फिचर फिल्म हो र २०२६ को अन सर्टेन रिगार्ड अफ जुरी पुरस्कार प्राप्त गरेको छ। यो विधा कान्सको मुख्य प्रतिस्पर्धापछिको महत्वपूर्ण विधामध्ये एक मानिएको निर्माता पौडेलले जनाए।
के हो ‘तिनीहरू’को कथा?
‘तिनीहरू’को कथा जंगली हात्तीको आतंकबाट प्रभावित एउटा बस्तीमा बस्ने परिवारको जीवन वरिपरि घुम्छ। विशेषतः आमा र छोरीको सम्बन्ध, हराएकी छोरीको खोजी र विस्थापन तथा अस्तित्वको संघर्ष फिल्मको कथाको महत्वपूर्ण पाटो हो। पछिल्लो सार्वजनिक गरिएको ट्रेलरले पनि हराएकी छोरीको खोजीमा आमाले गर्ने संघर्षलाई केन्द्रमा राखेको देखाउँछ।
‘फिल्मको अर्को महत्वपूर्ण पक्ष यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हो,’ निर्माता पौडेलले नागरिकसँग भने, ‘फिल्ममा किन्नर समुदायका कलाकारहरूलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ।’
निर्माता पौडेलले जोड दिए, ‘त्यसैले ‘तिनीहरू’ केवल हात्तीको आतंकको कथा नभई समाजको मूलधारबाट ओझेलमा पारिएका मानिसहरूको अस्तित्व, सम्बन्ध र संघर्षको कथा पनि हो। किन्नर र हात्तीको घरको मुखीया आमा भएकोले तीनीहरुको कथा हात्तीसँग जोडिएको छ।’
कलाकारहरूमा पुष्पा थिङले शीर्ष भूमिका निर्वाह गरेकी छिन्। उनीसँगै दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग, आकांक्षा कार्की, एलिज घिमिरेलगायत कलाकारको सानदानर अभिनय छ। ‘स्थापित कलाकारसँगै सीमान्त समुदायका कलाकारलाई फिल्मको केन्द्रमा ल्याउनु यसको विशेषता हो,’ निर्माता पौडेलले फिलिमबारे सुनाए, ‘फिल्म नेपालका कम्पनीसँगै फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका सहनिर्माण साझेदारको सहभागितामा बनेको हो। ’
मेडिकल र इन्जिनियरिङ्गको अध्ययन बिचैमा छाडेर फिल्म निर्माण कार्यमा लागेका पौडेल कान्समा फिल्म छनोट भएको खबर पाउँदा अनलाइन कक्षामा सहभागी भइरहेका थिए।
‘इमेलमा छनोटको खबर आएपछि मैले कक्षा नै बन्द गरेर केही समय एक्लै त्यो क्षण मनाएको थिएँ,’ आमालाई प्रेरणाको स्रोत मान्ने पौडेल भन्छन् ,‘आफूले यही अन्तर्राष्ट्रिय यात्राको सम्भावना देखेरै परियोजनामा काम गरेको थिएँ।’
‘तिनीहरू’ को कुल निर्माण बजेट करिब ५ करोड रुपैयाँ भन्दा बढी रहेको निर्माता अनुप पौडेलले बताए।
अनुप पौडेलको फिल्मी यात्रा : ‘लोरी’देखि ‘तिनीहरू’सम्म
अनुप पौडेलको नाम अविनाशविक्रम शाहसँग यसअघि पनि जोडिएको थियो। शाह निर्देशित ‘लोरी’ का निर्माता पनि पौडेल नै थिए। अमेरिकी फिल्म इन्स्टिच्युटको अभिलेखमा लोरीका निर्माता अनुप पौडेल र निर्देशक/लेखक अविनाशविक्रम शाह रहेको उल्लेख छ।
‘लोरी’ सन् २०२२ मा कान्समा पुगेको थियो र शाहले त्यसबाट स्पेसल मेन्सन प्राप्त गरेका थिए। बालविवाहको संवेदनशील विषय उठाएको त्यो छोटो फिल्मपछि शाह फिचर फिल्म लिएर कान्स फर्किने लक्ष्यमा थिए। पाँच वर्षजति समय लगाएर तयार गरिएको ‘तिनीहरू’ले अन्ततः त्यो लक्ष्य पूरा गरेकोमा पैडेलले खुसी व्यक्त गरे।
यस अर्थमा ‘लोरी’देखि ‘तिनीहरू’सम्मको यात्रा केवल निर्देशक अविनाशविक्रम शाहको यात्रा होइन, निर्माता अनुप पौडेलसहितको एउटा नेपाली फिल्म टोलीको निरन्तर अन्तर्राष्ट्रिय यात्रासमेत हो। कान्सको प्रतिष्ठित पुरस्कारपछि नेपालमा प्रदर्शन हुन लागेको फिल्म भएकाले यसप्रति नेपाली दर्शकको चासो पनि उच्च देखिएको छ।
प्रकाशित: २८ श्रावण २०८३ १३:४८ बिहीबार





