६ भाद्र २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

भ्रमको पर्दा

कथा

स्‍नातक पढ्दा भेटिएका मेरा मिल्ने साथीहरूमध्ये अटल पनि एक जना थियो। गुल्मी घर भए पनि ऊ पोखरामा मसँगै पढेको थियो। कलेज सकिएपछि परिस्थितिको हुरीले हामीलाई दुईतिर बगायो र हेर्दाहेर्दै बैंसका एघार बाह्र वर्ष कता बिते, पत्तै भएन। संयोगवश अस्ति मात्र काठमाडौंमा उसँग अप्रत्याशित जम्काभेट भयो।

औपचारिक हालचाल र अंकमालपछि उसले बडो सहजताका साथ भन्यो, ‘म त उतै गाउँतिर कृषिसम्बन्धी केही कामहरू गर्दै छु साथी, सामान्य जीवन चलिरहेको छ। तिमी त काठमाडौंतिर नै जमेछौ। खुसी लाग्यो।’

उसको कुरा सुनेर मैले ओठमा एउटा कृत्रिम र आत्मसन्तुष्टिको खिस्स हाँसो छर्दै मौन स्वीकृति जनाएँ।

प्रायः कलेजको क्यान्टिनको सस्तो समोसा र चियामा टर्ने म आज ‘कति सधैं कलेजकै क्यान्टिनमा मात्र खानु, जेसुकै परोस् आज अलिकति बढी खर्च गरेरै भए पनि विलासी खाना खान्छु’ भन्दै अनामनगर नजिकैको ‘दाउरा थकाली’ भित्र छिरेको थिएँ। संयोगवश त्यहीभित्र अटलसँग भेट भएको थियो।

मित्रले ‘कृषिसम्बन्धी काम गरिरहेको छु’ भन्नासाथ औसत सहरिया नेपालीको दिमागमा झट्ट आउने ‘बिचरा’ वाला भाव मेरो मनमा पनि सल्बलायो। मैले मनमनै गमेर सोचेँ– ‘बिचरा साथीले अन्त कतै जागिर पाएनछ कि क्या हो त्यसैले कृषितिर लागेछ। स्‍नातक पढ्दा कस्तो चलाख र पढ्नमा अब्बल थियो। आखिर हलो र कोदालीमै सीमित भएछ !’ तर मेरो सोच र उसको वास्तविकतामा कताकता विरोधाभास थियो। उसको पोसाक ब्रान्डेड र निकै सुकिलो थियो।

 अनुहारमा एउटा अलग्गै तेज थियो। म काठमाडौं बसेको झन्डै १५ वर्षमा पहिलो पटक यति महँगो रेस्टुरेन्ट छिर्दै थिएँ। ऊ भने त्यहाँको नियमित ग्राहकझैं मेनुसमेत नहेरी सहज रूपमा अर्डर गरिरहेको थियो। मेरो मनमा पहिलो पटक संशयको सानो अंकुर उब्जियो ‘कृषिमा पनि राम्रै पैसा हुन्छ र?’

खाना खाँदै गर्दा हाम्रा कलेज जीवनका ती अल्लारे र सुनौला दिनहरूका स्मृतिहरू ब्युँतिए। कुराकानीकै क्रममा उसले आज एउटा महत्त्वपूर्ण मिटिङका लागि लाजिम्पाट पुग्नुपर्ने कुरा सुनायो। ऊ हिजो मात्र काठमाडौं आएको रहेछ। हिजो पुलचोकमा अर्गानिक उत्पादनसम्बन्धी एउटा राष्ट्रिय गोष्ठी रहेछ, जहाँ ऊ वक्ताका रूपमा आमन्त्रित भएर आएको रहेछ। ‘आज लाजिम्पाटको मिटिङ सकियो भने भोलि नै गाउँ फर्किन्छु होला साथी,’ उसले भन्यो।

हामीले वेटरसँग बिल मगायौं। बिल टेबुलमा आउनासाथ अटलले पर्स निकाल्दै तिर्नको लागि हात बढायो। काठमाडौंको बासिन्दा त्यसमाथि कलेजका विद्यार्थीलाई पढाउने ‘प्रतिष्ठित प्राध्यापक’ टोपलिएको नाताले मेरो सहरिया अहम् जाग्यो। मैले बिल आफ्नो हातमा थुत्दै भनेँ, ‘ए साथी! तिमी काठमाडौं आएको बेला तिमीले तिर्ने होइन। आजको बिल मेरो तर्फबाट, गाउँ जाँदा खुवाउला नि।’ ऊ केही बोलेन, मुसुक्क हाँस्दै मलाई हेर्‍यो र सहजै स्वीकृति जनायो।

रेस्टुरेन्टबाट बाहिर निस्कँदै गर्दा मैले खल्तीबाट बाइकको चाबी निकाल्दै अलिकति धाक लगाउने शैलीमा भनेँ, ‘म पनि पुतलीसडकसम्म जाँदै छु। हिँड, तिमीलाई मेरो बाइकमा लाजिम्पाटको अफिससम्म पुर्‍याइदिन्छु। ट्राफिक जाममा बाइक नै सजिलो हुन्छ नि !’

साथीलाई सानो भए पनि सहयोग गर्न पाएकोमा म मनमनै मख्ख थिएँ। कताकता म काठमाडौंको बाइकर र ऊ गाउँबाट आएको पैदलयात्री भन्ने अहम् मेरो भित्र अझै बाँकी नै थियो।

मेरो कुरा सुनेर अटल मज्जाले हाँस्यो। उसको त्यो हाँसो देखेर म दंग परेँ, ‘किन हाँसेको साथी? केही गल्ती भनेँ र?’

‘सिजन, तिमी पहिलेदेखि नै सहयोगी मनको मान्छे हौ, त्यो बानी अझै गएको रहेनछ,’ अटलले मेरो काँध थपथपाउँदै बडो आत्मीयताका साथ भन्यो, ‘यसपालि सवारी साधन आफैं लिएर आएको छु साथी, त्यही भएर हाँसेको नि।’

उसको कुराले मेरो अनुहारको रङ उड्यो। मैले सामान्य टाउको हल्लाएर आफ्नो भित्री हीनताबोधलाई एउटा फितलो मुस्कानभित्र लुकाउने प्रयास गरेँ।

अटलले फेरि प्रस्ताव राख्यो - ‘सिजन, तिमीलाई आज फुर्सद छ भने काठमाडौं बसुन्जेल मसँगै हिँडेर साथ देऊ न, पुराना कुरा पनि गर्न पाइन्छ र बाटो नचिनेर अल्मलिन पर्दैन।’

‘हिजो कलेजमा १२ कक्षाका विद्यार्थीको बिदाइ कार्यक्रम थियो, त्यसैले आज हामीलाई पनि बिदा छ। तिमीजस्तो पुरानो मित्रसँग समय बिताउन पाउनु मेरो लागि पनि खुसीकै कुरा हो, हिँड न त।’

मैले आफ्नो बाइकको चाबी फेरि खल्तीमा घुसार्दै सहमति जनाएँ।

‘त्यसो भए तिम्रो बाइक यहीं पार्किङमा सुरक्षित छोडिदेऊ, मेरो गाडीमा जाऊँ,’ भन्दै उसले मलाई रेस्टुरेन्टको भिआइपी पार्किङतर्फ डोर्‍यायो।

जब उसले एउटा चम्किलो, सोफिस्टिकेटेड सेतो ‘क्रेटा गाडी’को अगाडिको ढोका खोलेर शिष्टतापूर्वक मलाई बस्न आग्रह गर्‍यो, मेरा पाइलाहरू त्यहीं जमे। म अवाक् भएँ। मेरो अगाडि उभिएको त्यो गाडी केवल एउटा साधन थिएन, त्यो त मेरो संकुचित सोच्ने दायरामाथि लागेको एउटा बलियो झापड थियो। एउटा माटो र कृषिसँग जोडिएको मानिस यसरी सान र आरामका साथ गाडी चढ्न सक्छ भन्ने कुरा मेरो मध्यमवर्गीय मगजले सोच्नै सकेको थिएन।

म आफूलाई काठमाडौंको प्रतिष्ठित र सम्मानित प्राध्यापन पेसामा रहेको ठानेर घमण्ड गर्थें तर वास्तविकता के थियो भने मलाई महिनाको अन्त्यमा बाइकमा पेट्रोल हाल्न र घरबेटीको कोठाभाडा तिर्नसमेत सोच्नुपर्ने अवस्था हुन्थ्यो। बाहिर एउटा ‘सर’को आवरण, भित्र सधैं अभावको डर! तर मेरो अगाडि कृषि गर्ने साथी देश र भूगोल नाघेर उडिरहेको थियो।

उसको आरामदायी र एयरकन्डिसनको मन्द सुगन्ध फैलिएको गाडीमा बसेर लाजिम्पाटसम्म पुग्दा अटलले मलाई उसको कृषि परियोजना, नेपालमा अर्गानिक खेतीको अथाह सम्भावना र अन्तर्राष्ट्रिय बजारको मागबारे धेरै कुरा बुझायो। उसले माटो, उत्पादन र बजारको सम्बन्ध यसरी केलाउँदै थियो कि मलाई लाग्यो, ऊ कुनै हलो जोत्ने किसान होइन। यो देशको आर्थिक दुर्दशा बदल्ने खाका र दृष्टिकोण बोकेको कुनै प्राज्ञिक अर्थशास्त्री हो। म कलेजमा सिद्धान्त पढाउँथेँ। ऊ गाउँको माटोमा व्यवहार उतारिरहेको थियो।

अटलले लाजिम्पाटको एउटा ठुलो र भव्य बङ्गलाको गेटभित्र गाडी छिरायो। पार्किङमा गाडी राखेपछि मलाई एउटा अत्याधुनिक कर्पोरेट र कलात्मक रूपमा सजिएको अफिसको तेस्रो तलामा लग्यो। त्यहाँको वातावरण यति व्यावसायिक थियो कि मलाई कताकता आफ्नै पोसाक र हैसियत देखेर संकोच लाग्यो। त्यहाँ पुग्नासाथ विदेशी नागरिकहरूले हाम्रो भव्य र आदरपूर्ण स्वागत गरे।

परिचयको क्रममा थाहा भयो, उनीहरू अर्जेन्टिनाका नागरिक एन्टिना र जकिन रहेछन्। अर्जेन्टिना भन्नेबित्तिकै म्याराडोना, मेस्सी र फुटबलको मैदान मात्र सम्झिने मेरो सीमित मस्तिष्कले अर्जेन्टिनीहरू नेपालको एउटा गाउँको युवाको आइडियाबाट प्रभावित भएर यसरी काठमाडौंको मुटुमा कर्पोरेट अफिस खोलेर काम गरिरहेका छन् भन्ने कुरा स्विकार्न निकै समय लियो। मेरो काठमाडौंको घमण्ड बिस्तारै पग्लिँदै गइरहेको थियो।

केहीबेरमा बैठक कक्षमा कफी आयो। म कफीको तातो चुस्की लिँदै उनीहरूका कुरा सुन्न थालेँ। उनीहरूका प्राविधिक र व्यावसायिक शब्दहरू मेरो टाउको माथिबाट गइरहेका थिए किनकि त्यो मेरो प्राज्ञिक क्षेत्र थिएन तर मेरो दिमागमा लागेको एउटा भ्रमको पर्दा भने पूरै च्यातिएर हावामा उडिसकेको थियो। जसलाई मैले सुरुमा गाउँको कमजोर र सहाराविहीन कृषक सोचेको थिएँ, ऊ त यहाँ एउटा विशाल अन्तर्राष्ट्रिय व्यापारको केन्द्रविन्दु पो रहेछ! अटलले गुल्मी र पाल्पाका कुनाकाप्चामा पसिना बगाउने गरिब किसानहरूको उत्पादनलाई सिधै अन्तर्राष्ट्रिय बजारसँग जोडिदिने एउटा बलियो र भरपर्दो सेतुको काम गरिरहेको थियो।

करिब एक घण्टाको गम्भीर छलफलपछि मिटिङ सकियो। हामी एकापसमा व्यावसायिक शिष्टता र हात साटासाट गर्दै बाहिर निस्क्यौं। त्यसपछि हामी दरबारमार्गको एउटा शान्त रेस्टुरेन्टमा कफी पिउँदै मिटिङको समीक्षा गर्न थाल्यौं।

मैले आफ्नो उत्सुकता थाम्न नसकेर सोधेँ, ‘अटल, खासमा आजको मिटिङको मुख्य एजेन्डा के थियो साथी? मैले त धेरै कुरा बुझिनँ।’

उसले कफीको कप टेबुलमा राख्दै बडो गर्वका साथ भन्यो, ‘विशेष गरी गुल्मी र पाल्पा जिल्लामा हाम्रा स्थानीय किसानले उत्पादन गरेको अर्गानिक अदुवा अर्जेन्टिना निर्यात गर्ने विषयमा थियो। हाम्रो पहाडी रैथाने अदुवाको स्वाद र गुणस्तरको माग उता एकदमै उच्च रहेछ।’

नेपालको पहाडी खोल्सामा फलेको अदुवा सिधै दक्षिण अमेरिकाको अर्जेन्टिनासम्म पुग्छ भन्ने कुरा मेरो कल्पनाको क्षितिजभन्दा कता हो कता बाहिरको विषय थियो।

नेपाली उत्पादन यसरी तेस्रो मुलुकसम्म जान सके देशका वास्तविक श्रमजीवी किसान र देशकै अर्थतन्त्र समृद्धिको बाटोमा दौडिन्छ भन्नेमा त दुई मत थिएन तर मेरो संकुचित सहरिया र कताकता ‘लोभी’ मनमा फेरि एउटा नितान्त व्यक्तिगत प्रश्‍न उब्जियो।

मैले सोधेँ, ‘अनि साथी, तिमीले यो देश र किसानको कुरा त गर्यौ तर यो सबै प्रक्रिया मिलाइदिएबापत तिमीलाई चाहिँ व्यक्तिगत रूपमा के फाइदा हुन्छ नि?’

उसले आफ्नो त्यही कलेज जीवनकै चिरपरिचित मन्द र निश्छल मुस्कानका साथ मलाई हेर्यो र भन्यो, ‘हेर सिजन, व्यक्तिगत नाफा र गोजी भर्ने कुरा त दोस्रो प्राथमिकता हो। हाम्रा गाउँका किसानहरूले अन्तर्राष्ट्रिय बजार र आफ्नो पसिनाको उचित मूल्य पाउँदा जुन आत्मसन्तुष्टि मिल्छ नि त्यो करोडौं रुपैयाँभन्दा ठुलो कुरा हो। आखिर जगै बलियो भए न घर बलियो हुन्छ, किसान बलियो भए देश आफैं बलियो हुन्छ नि।’

‘देश र किसानको फाइदा त छँदै छ अटल तर तिम्रो आफ्नो गोजीमा के पर्छ? त्यो भन न मलाई?’ मैले अलि बढी व्यावहारिक हुन खोजेँ।

उसले फेरि एकपटक कुटिल तर शालीन मुस्कानसाथ भन्यो, ‘मलाई त खासै धेरै फाइदा हुँदैन साथी। अर्गानिक परीक्षणका सबै मापदण्ड र ल्याब टेस्ट पूरा भएर अदुवा अर्जेन्टिना पुग्यो भने मैले बिचमा समन्वय गरिदिएबापत प्रतिकिलो १६ रुपैयाँ जति व्यवस्थापकीय खर्च पाउँछु।’

‘जम्मा १६ रुपैयाँ?’ म झस्किएँ, ‘साथी, जम्मा १६ रुपैयाँका लागि यति धेरै हन्डर, कागजी झन्झट र काठमाडौंसम्मको दौडधुप? मलाई उसको यति ठुलो मिहिनेतको अगाडि त्यो १६ रुपैयाँको आँकडा निकै कम लाग्यो।’

‘खासै धेरै दुःख कहाँ छ र साथी? मेरो काम त केवल दुई भिन्न किसान र विदेशी क्रेतालाई प्रविधिको माध्यमबाट जोडिदिने मात्र हो। केही समयअघि नमुना परीक्षणका लागि गाउँबाट दुई केजी अदुवा पठाइदिएको थिएँ। दुई चरणको ल्याब टेस्ट पास भइसक्यो। अब अन्तिम चरणको प्रमाणीकरण हुनासाथ निर्यातको बाटो खुल्छ। अदुवा संकलन गाउँकै किसानले आफैं गर्छन्। ढुवानी र प्याकेजिङको अन्तर्राष्ट्रिय व्यवस्था यी अर्जेन्टिनीहरू आफैंले गर्छन्।’

उसले मेरो बालसुलभ जिज्ञासालाई मेट्ने प्रयास गर्‍यो। उसले थोरै गम्भीर हुँदै अगाडि थप्यो, ‘तेस्रो देशमा समुद्री मार्गबाट लैजाने बेला भारतले अलिकति पारवहनमा झन्झट दिन्छ कि भन्ने मात्र पिरलो हो। उनीहरूको कूटनीतिक टोली नै त्यो सुल्झाउन लागिपरेको छ।’

मेरो गणितीय र सहरिया दिमाग अझै सन्तुष्ट हुन सकेको थिएन। मैले अटलको आँखामा हेर्दै फेरि भनेँ, ‘जे भए पनि अटल, यत्रो ठुलो अन्तर्राष्ट्रिय डिलको मुख्य सूत्रधार तिमी हौ। जम्मा १६ रुपैयाँ त निकै थोरै भयो। तिम्रो श्रमको अवमूल्यन भएन र?’

अटलले मज्जाले हाँस्दै मेरो काँधमा धाप मार्‍यो, ‘तिमी मेरो कति धेरै चिन्ता गर्छौ है साथी’ उसले कफीको अन्तिम चुस्की लियो र बडो शालीन आत्मविश्वासका साथ भन्यो, ‘हेर सिजन ! तिमीले कुरा बुझेनौ। यो १०–२० किलो वा १–२ क्विन्टलको कुरा होइन। यो पहिलो सम्झौतामा उनीहरूले लैजान खोजेको न्यूनतम १७०० क्विन्टल अर्थात् एक लाख ७० हजार किलो अदुवा हो।

अब एक लाख ७० हजार किलोलाई १६ ले गुणा गरेर हेर त कति हुन्छ? झन्डै २७ लाख २० हजार रुपैयाँ हुन्छ साथी। एउटै प्रोजेक्टको एउटै डिलमा योभन्दा बढी लोभ गर्नु हुँदैन। हेर सिजन, यस्ता अर्गानिक कफी, अलैंची र जडीबुटीका परियोजना त मेरा अरू थुप्रै जिल्लामा एकैसाथ चलिरहेका छन्।’

साथीको मुखबाट बडो सहजताका साथ निस्किएको ‘२७ लाख २० हजार’को आँकडा र उसको अनुहारको त्यो अचम्मको वित्तीय सुरक्षा र आत्मविश्वास देखेपछि मेरा कानहरू तातेर आए, म जिल खाएँ। मलाई अचानक आफू काठमाडौंको कोलाहलभित्र संकुचित कुवाको कुनामा सीमित भएको एउटा घमन्डी भ्यागुतोजस्तो महसुस भयो।

काठमाडौंमा बस्नेहरूको सोच्ने दायरा फराकिलो र ठुलो हुन्छ भन्थे तर यहाँ बस्ने मेरो नियति र कर्म त दुवैतिर आँखा छोपेर एउटै निश्चित बाटोमा दगुर्ने टाँगाको घोडा जस्तो मात्र पो भएको रहेछ ! आफूलाई समाजको ‘प्रतिष्ठित प्राध्यापक’ र बौद्धिक वर्ग ठानेर, बिहानदेखि बेलुकीसम्म घाँटी सुक्ने गरी कक्षाकोठामा पसिना चुहाएर र मार्कर घोट्दा वर्षभरिमा ५–६ लाख बचाउन धौ धौ पर्छ। महिना मर्न नपाउँदै कोठाभाडा, तरकारी र पेट्रोलको महँगीले ढाड सेक्छ तर मेरो साथीले गाउँको माटोमै बसेर किसानको ओठमा खुसी छर्दै, केवल ५–६ वटा प्राविधिक मिटिङ र व्यवस्थापकीय कौशलको भरमा एकाध महिनामै झन्डै २७–२८ लाख सहजै आर्जन गरिरहेको थियो।

अब म गनगन गर्ने वा कुतर्क गर्ने अवस्थामा थिइनँ। म एकोहोरो मेरो साथी अटलको त्यो मन्द मुस्कान र माटोको सुगन्धले चम्किएको आत्मविश्वासले भरिएको अनुहार हेरिरहेको थिएँ।

कफीको कप रित्तिइसकेको थियो र सँगै रित्तिएको थियो मेरो ‘काठमाडौंको सुकिलो घमण्ड’। दरबारमार्गको त्यो रेस्टुरेन्टबाट बाहिर निस्कँदै गर्दा मेरो मनमा आफ्नै कलेजका ती सैद्धान्तिक पानाहरूप्रति एक किसिमको वितृष्णा जाग्यो। मैले मनमनै एउटा नयाँ अठोट गरेँ– ‘भोलि कलेज गएर विद्यार्थीहरूलाई केवल सर्टिफिकेटका लागि घोक्न मात्र सिकाउने छैन, बरु अटलले जस्तै देशको माटो, उद्यमशीलता र प्रविधिलाई जोड्ने वास्तविक शिक्षा दिनेछु र कुन दिन यी काठमाडौंका साँघुरा गल्लीहरू छोडेर म पनि आफ्नै गाउँको माटो खन्न आइपुग्नेछु।’

बाहिर काठमाडौंको सडकमा चर्को घाम लागेको थियो तर मेरो भित्री मनमा भने चेतनाको एउटा शीतल र नयाँ उज्यालो छरिएको थियो।

प्रकाशित: ६ भाद्र २०८३ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App