‘हामी र हाम्रो कृति समाज’ को तेस्रो वार्षिकोत्सव विविध कार्यक्रमकाे साथ सम्पन्न भएकाे छ। वार्षिकोत्सवमा सम्मान तथा पुरस्कार समर्पण र कृति लोकार्पण भएकाे छ।
कार्यक्रम सुरु हुनु अगावै शोकधुनसहित भोटेकोशी तथा त्रिशूली नदीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
संस्थाका अध्यक्ष मदन नेपालको अध्यक्षता र वरिष्ठ गजलकार तथा मुक्तककार ज्ञानवाकर पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
कार्यक्रममा लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा, प्रतिनिधि सभाका सदस्य मोरङ क्षेत्र नम्बर ३ का सांसद प्रेमलाल चौधरी (प्रेम तपस्वी), नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने र उपाध्यक्ष वियोगी बुढाथोकी विशिष्ट अतिथिका रूपमा रहेका थिए।
नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी, काठमाडौँमा भएकाे कार्यक्रममा डा. भरत भट्टराईले लाेकार्पितकाे समालोचनात्मक टिप्पणी गरेका थिए। उक्त कार्यक्रममा सभापति प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई संस्थाकी उपाध्यक्ष नम्रता उप्रेतीले माला तथा खादाले स्वागत गरेकी थिइन्।
२०८० सालमा स्थापना भएको यस संस्थाले साहित्यिक गतिविधिसहित स्रष्टाहरूका कृतिहरू प्रकाशन गर्नुका साथै स्रष्टाहरूलाई पुरस्कार र सम्मानले समेत सुशोभित गर्ने गरेको छ भने स्रष्टाहरूलाई लेखनमा एक प्रकारको उत्प्रेरणा समेत थप्ने गरेको छ।
कार्यक्रममा संस्थाका सचिव बद्री उप्रेतीले संस्थाले गरेकाे गतिविधि र भावी योजना प्रस्तुत गरेका थिए। कार्यक्रमको पहिलो खण्डमा संस्थामा आबद्ध भएका आजीवन सदस्य तथा विशिष्ट आजीवन सदस्यहरूलाई सम्मानसहित आजीवन तथा विशिष्ट आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो। साथै संस्थाले नियमित गर्ने कार्यक्रमहरूमा सहयोग गर्ने दाता सदस्यहरूलाई समेत प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो।
हालसम्म संस्थाका ५०भन्दा बढी आजीवन सदस्य र १५ भन्दा बढी विशिष्ट आजीवन सदस्य छन् भने करिब १५० साधारण सदस्य रहेको कुरा संस्थाका अध्यक्ष मदन नेपालले बताए।
संस्थाले हरेक वर्ष तीनजना वरिष्ठ साहित्यकारहरूको नाममा वितरण गरिरहेको पुरस्कार तथा सम्मान तीन मुक्तकारलाई प्रदान गरेको थियो।
सम्मानित स्रष्टाहरूमा उषा शेरचन सम्मान पुरस्कार-२०८२ द्वारा काठमाडौँ बानेश्वरकी स्रष्टा मुक्तककार गृष्मा पौडेलको मुक्तकसङ्ग्रह 'सङ्घर्ष’ १०१', ज्ञानुवाकर पौडेल सम्मान पुरस्कार -२०८२ बैतडीका स्रष्टा मुक्तककार कर्ण दयाल ‘सोराडी’ को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ तथा सरुभक्त सम्मान पुरस्कार -२०८२ मोरङ झोराहाटका स्रष्टा मुक्तककार नेत्र खतिवडाको मुक्तकसङ्ग्रह 'ढुङ्गो फुलेपछि’ ले प्राप्त गरेका थिए। हरेक पुरस्कारको राशि रु. ११,१११ तथा सम्मानपत्र रहेको थियो।
पुरस्कार प्राप्त गरिसकेपछि पुरस्कृत स्रष्टाहरूमध्ये विराटनगरका स्रष्टा नेत्र खतिवडाले आफूले काठमाडौँमा नेपाल प्रज्ञाप्रतिष्ठान साक्षी राखेर यसरी पाएको सम्मान र पुरस्कारले लेखन विधामा अगाडि बढ्न प्रेरणा मिलेको बताए।
कार्यक्रममा पुरस्कृत भएका कृतिहरूभित्रबाट मुक्तकहरू वाचन गर्ने क्रममा स्रष्टा नेत्र खतिवडा आफैले तीन मुक्तक वाचन गरे भने ग्रीष्मा पौडेलको मुक्तकसंग्रहका तीन मुक्तक मुक्तककार एकराज भट्टराईले वाचन गरेका थिए।त्यस्तै स्रष्टा तथा मुक्तककार कर्ण दयालको मुक्तकसंग्रहभित्रको तीन मुक्तक संस्थाकी उपाध्यक्ष नम्रता उप्रेतीले वाचन गरेका थिए।
त्यस्तै कार्यक्रमको दोस्रो चरणमा संस्थाले प्रकाशन गरेको ११७ मुक्तकारको संयुक्त मुक्तकसंग्रह हामी र हाम्रो अमरकृतिको लोकार्पण गरिएको थियो।
उक्त कृतिको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि ज्ञानुवाकर पौडेल, विशिष्ट अतिथि लीलाध्वज थापा, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, उपाध्यक्ष वियोगी बुढाथोकी तथा सांसद प्रेमलाल चौधरीले संयुक्त रूपमा लोकार्पण गरेका थिए।
उक्त कृतिबारे चर्चा तथा समालोचनात्मक टिप्पणी गर्दै कृतिभित्र विविध बहुआयामिक विषयवस्तुहरू समाविष्ट भएको र यस प्रकारका कृतिले देशविदेशका घटना र परिघटनाहरू समेत समेट्ने कुरा व्यक्त गर्दै यो मुक्तक क्षेत्रमा कोसे ढुङ्गो सावित हुने वरिष्ठ समालोचक डा. भरत भट्टराईले बताए।
संस्थाका संस्थापक सदस्य नवराज नवशिलाले सञ्चालन गरेकाे उक्त कार्यक्रममा संस्थाका सदस्य सुभद्रा अधिकारीले शब्द मार्फत स्वागत गरेकी थिइन्।
कृतिभित्र समाविष्ट भएका करिब ५० भन्दा बढी स्रष्टाले मञ्चबाट प्रमुख अतिथिको तथा सभापतिको हातबाट ३/३ प्रति कृति समेत ग्रहण गरेका थिए।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले हामी र हाम्रो कृति समाज भन्ने संस्था अहिले हामी र हाम्रो मुक्तक समाजभन्दा पनि ठूलो संस्था जस्तो भएको व्यक्त गर्दै संस्थालाई अझ अगाडि बढ्न शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा विशिष्ट अतिथि प्रेमलाल चौधरीले यस प्रकारका साहित्यिक कार्यक्रमहरूले भाषा साहित्यलाई विश्वव्यापीकरण गर्न मद्दत गर्ने र सिर्जनाका माध्यमबाट समाजलाई समुन्नत बनाउन र नयाँ पुस्ताहरूलाई प्रेरणा भर्न सक्ने कुरा व्यक्त गरेका थिए।
कार्यक्रममा वरिष्ठ साहित्यकार उषा शेरचनले पठाएको रेकर्डेड म्यासेजलाई समेत शुभकामना स्वरूप सबैलाई सुनाइएको थियो। उनले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा पनि यस्तै असल र साहित्यिक गतिविधि अगाडि बढाउन सकोस् भन्ने कुरा व्यक्त गरेका थिए।
कार्यक्रममा आफ्नो भनाइ राख्दै कार्यक्रमका प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले संस्थाका अध्यक्ष तथा संस्थाका सम्पूर्ण सदस्यको यस प्रकारको मेहनतले हामी र हाम्रो कृति समाज साहित्यिक संस्थाको रूपमा यो उचाइसम्म पुगेको व्यक्त गरेका थिए।
थोरैथोरै रकमबाट धेरै काम गर्न सकिन्छ भन्ने एउटा असल उदाहरण हामी र हाम्रो समाज भएको व्यक्त गर्दै स्रष्टाहरूलाई अगाडि बढ्न र उत्प्रेरणा थप्न समेत संस्थाका अध्यक्षले गरेको काम निकै सराहनीय रहेको बताए।
उनले संस्थाका अध्यक्ष मदन नेपाल आफैं किङ हुनुपर्नेमा उनले अन्य व्यक्तित्वहरू माथि उठाएर आफू किङ मेकर भएको संज्ञा समेत दिएका थिए।
कार्यक्रम समापन गर्ने क्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति मदन नेपालले सम्पूर्ण सदस्य र विश्वास गरेर सहयोग गर्ने सहयोगी दाता र स्रष्टाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। संस्थाले यस प्रकारका कार्यक्रमहरूलाई आयोजना सहयोगी र संस्थालाई विश्वास गर्ने स्रष्टा सर्जक र मुक्तकारहरूले नै यस प्रकारको कार्यक्रम सफल बनाएको र यसको सम्पूर्ण श्रेय उनीहरूलाई नै जाने समेत बताए।
प्रकाशित: २१ भाद्र २०८३ ११:३९ आइतबार





