वीरगंजको गण्डकमा रहेको एक रिसोर्टमा सञ्चालित क्यासिनोबाट पर्साका गाउँपालिका अध्यक्षसहित ८ जनालाई पर्सा प्रहरीले शनिबार राति पक्राउ गरेको छ।
क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष जसवन्त यादवसहित ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले बताएका छन्।
क्यासिनोबाट ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेललाई पनि नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरीले निकालेको प्रेस विज्ञप्ति अनुसार पक्राउ पर्नेमा ८ जनामा सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय गाउँपालिका अध्यक्ष जसवन्त यादव, वीरगञ्ज महानगरपालिका–११ का ओमप्रकाश बैठा, स्याङ्जा हरिनास गाउँपालिका–७ का प्रहरी निरीक्षक प्रदीप पौडेल र चन्दन सहनी रहेका छन्।
त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका चार कर्मचारीसमेत पक्राउ परेका छन्। पक्राउ पर्ने क्यासिनोका कर्मचारीहरूमा वीरगञ्ज महानगरपालिका–१४ का विजयकुमार पटेल, वीरगञ्ज महानगरपालिका–२५ का दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ घर भई हाल उक्त क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगञ्ज महानगरपालिका–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।
प्रकाशित: २१ भाद्र २०८३ ११:५८ आइतबार





