बर्सेनि कथा आह्वान गर्दै आएकाे बाह्रखरी मिडियाले 'आठौँ बाह्रखरी कथा प्रतियोगिता- २०८३’ का लागि कथा आह्वान गरेकाे छ।
काठमाडौं, नक्सालस्थित मेरियट होटलमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले 'आठौँ बाह्रखरी कथा प्रतियोगिता -२०८३’ का निम्ति कथा आह्वान गरेकाे हाे।
नेपाली भाषामा कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरीले सात वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।
प्रतियाेगितामा विश्वभरिका नेपाली भाषामा कथा लेख्ने कथाकार प्रतियोगितामा सहभागी हुन सक्नेछन्। तोकिएको सर्त पूरा गरी आउँदो असोज ३ गतेभित्र कथा पठाउन आह्वान गरिएको छ। यस वर्षको बाह्रखरी कथा लेखन प्रतियोगिताको टाइटल स्पोन्सरमा डिगो रहेको जनाइएको छ।
विज्ञप्ति अनुसार असोज ३ गतेसम्म प्रतियोगीले 12kharibooks@gmail.com मा इमेलमा कथा पठाउनुपर्ने भएकाे छ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ।
अन्तिम चरणमा पुगेका उत्कृष्ट २५ कथा समावेश गरी ‘उत्कृष्ट कथा- २०८३’ प्रकाशन पनि गरिने उल्लेख छ। साथै सङ्ग्रहमा प्रकाशन हुने सर्वोत्कृष्ट तीनबाहेक बाँकी २२ कथाका कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिने भएको छ।
कथा मौलिक, अप्रकाशित र अप्रसारित हुनुपर्ने, नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न नपाइने, कम्तीमा १,५०० र बढीमा ४,००० शब्दसम्मको हुनुपर्ने लगायतको सर्त रहेकाे छ।
यस वर्षको निर्णायक समूहमा कथाकार भुवन ढुंगानाको संयोजकत्वमा डा. ज्ञानु अधिकारी र खगेन्द्र लामिछाने सदस्य छन्।
प्रकाशित: ५ भाद्र २०८३ १२:५१ शुक्रबार


-600x400.jpg)


