७ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

गाउँको गन्ध

निबन्ध

अहिले टाढा बसेर गाउँ सम्झँदै छु। गाउँ भौगोलिक नक्साभन्दा पनि मनको भूगोलमा फैलिएको छ। त्यही गाउँमा हजुरबुबा–हजुरआमाहरूको जीवन बितेको थियो, अहिले बुबाआमाहरूको जीवन अगाडि बढ्दै छ– प्रकृति, समय र आत्मासँग सङ्घुलित उहाँहरूको जीवन।

आज म त्यो जीवन सम्झन्छु, अनि मेरो वर्तमान जीवनसँग तुलना गर्छु। मनमा एउटा गहिरो प्रश्न उठ्छ– समयको पदचापसँगै हामीले कति प्रगति गर्‍यौं र केके अमूल्य कुरा गुमायौं?

मलाई हजुरबुबाहरूको जीवन लोभलाग्दो लाग्छ। उहाँहरूको जीवनमा भौतिक ओछ्यान थिएन, कृत्रिम कालोपत्र थिएन, खाजा खाने काँटाचम्चा थिएनन् तर साँच्चिकै जीवन थियो। प्रकृतिको काखमा हुर्किएको, माटोको गन्धले सिन्चिएको। निद्रा गुन्द्रीमा ओछ्याइन्थ्यो तर त्यो निद्रा गहिरो र सन्तुष्ट हुन्थ्यो। नाङ्गा पैताला जमिनमाथि ओछ्याउँदै यात्रा हुन्थ्यो।

यत्रतत्र घरहरू थिए। गोठभरि गाईवस्तु हुन्थे। सूर्यको छनक पृथ्वीमा नपर्दै उठ्नुहुन्थ्यो हजुरआमा। अनि सुरु हुन्थ्यो दिन–यात्रा। घरको सरसफाइसँगै गोठको एक कुनामा गाईवस्तुलाई कुँडो पाक्न थाल्थ्यो। त्यतिन्जेल हजुरबुबा अलि माथि रहेको मूलको ढुङ्गेधारोमा नुहाएर आइसक्नुभएको हुन्थ्यो। गाईवस्तुलाई कुँडो खुवाएपछि उहाँ दुध दुहुन थाल्नुहुन्थ्यो– कुँडेभरि उम्लिने दुधसँगै घरको ऊर्जा पनि उम्लिरहेकोजस्तो लाग्थ्यो। त्यतिन्जेल हजुरआमाले पूजाका लागि जल, फूल ताजकीकरण गरिसक्नुभएको हुन्थ्यो। हजुरबुबाले झन्डै आधा घण्टा पूजा गर्नुहुन्थ्यो। हजुरबुबाको पूजा गर्ने आफ्नै शालीन शैली थियो। सुरिलो स्वरमा शङ्ख बजेको आवाज आएपछि हामी टीका लगाउन जान्थ्यौं। टीकासँगै प्रसाद पनि दिनुहुन्थ्यो। त्यसपछि हजुरबुबाले कुनै न कुनै पौराणिक कृति पाठ गर्नुहुन्थ्यो।

‘एक् दिन् नारद सत्यलोक् पुगिगया लोकको गरूँ हित भनी।

ब्रह्मा ताहिँ थिया पर्‍या चरणमा, खुशी गयारा पनी।।’

कुँडोपानी, पूजापाठलगायत नित्यकर्म सिद्याएपछि चिया खाएर उहाँ खरबारी पुग्नुहुन्थ्यो घाँस काट्न। मुठो खापेर एक डोको घाँस ल्याएपछि भने कामको बोझ अलि कम हुन्थ्यो। खेतबारीको काम नहुँदा दाजुभाइसँग शीतलमा बसेर गफ गर्ने समय पनि पाउनुहुन्थ्यो। बिहानको खाना खाइसकेपछि नजिकै बाटाछेउको चौतारोमा गाउँभरिका हजुरबुबाहरू जम्मा हुनुहुन्थ्यो अनि सुरु हुन्थे दुःखसुखका मार्मिक गफ। यी गफका सन्दर्भ हुन्थे - एक हाते भैंसीले आज दुध कम दियो, भोलिको कोदो गोड्ने मेलो कसकोमा छ, सामान लिन बजार कहिले जाने आदि। महत्त्वाकांक्षा, प्रतिस्पर्धा, ईष्र्याबिनाको अर्गानिक जीवन।

कहिलेकाहीं राति हजुरबुबाले आफ्नो पालाका वास्तविक कथा सुनाउनुहुन्थ्यो– एकपटक पारि गाउँमा पुगेर फर्कंदा रात छिप्पिइसकेको थियो। डर खासै नलाग्ने हुनाले मध्यराति पनि घरमा फर्कंदै थिएँ, स्कुलछेउको खोलामा लास बोकेर आएका मान्छेको लर्को देखियो। मध्यरातमा पनि लास कहाँ लान थाले भन्ने लाग्यो। लास अगाडि हिँडाउने कपडाको सेतो बाटोले धेरैबेर बाटो छेक्यो। एकछिन त होसहवास उड्यो। होस आएपछि बल्ल सम्झना आयो, यहाँ त मसान छ, अहिले मसानले मेरो बाटो छेकिराखेको छ। मध्यरातमा मसानलाई जिस्काउनुहुँदैन भनेर फर्कें। तल बजारका केही पसलमा दाजुभाइहरू सुत्थे। एक भाइलाई लिएर आएँ। त्यतिन्जेल पनि लास त्यहीं थियो। हामी दुईजनालाई देख्नासाथ लास, मलामी, सेतो बाटो त्यही हरायो। म भने डरले त्यो बाटो गइनँ, तल्लो बाटो घर गएँ।

हजुरबाले मध्यरातमा देखेका भँगेरका भेडा र झाँक्रीका घोडाको कथाको सम्झना आउँछ। उहाँ भन्नुहुन्थ्यो– मध्यरातमा खोलापारिको भँगेरको थानबाट एक हुल सेता भेडा निस्के। भेडा खरखर बाटोबाट हिँडिराखेका छन्। भेडाको लस्करको सुरु र अन्तिममा सेतो घोडामाथि चढेर मालिक हिँड्दै थिए। ती भेडा–घोडा सबै घरमाथिको झाँक्रीको थानभित्र पसे र बिलाए। यस्ता विश्वास गाउँका सौन्दर्य हुन् जस्तो लाग्छ। कसैलाई यी अन्धविश्वास पनि लाग्न सक्छ।

त्यो बाटो म पनि कयौं रात हिँडेको छु। मैले भने त्यहाँ मसान, घोडा, भेडा कहिल्यै देखिनँ। कहिलेकाहीं लाग्छ, आजकल स्कुलछेउको खोलाको मसान कहाँ गयो होला? झाँक्रीको थानबाट निस्कने घोडा अनि भँगेरको थानका भेडा आजकल कहाँ चर्दै छन् होला? मूलको ढुंगेधारामा नुहाउने किचकन्यालाई आजकल किन तिर्खा लाग्दैन? पाखाको एउटा कुनाबाट निस्केर अर्को कुनामा अस्ताउने भूतप्रेतका बत्ती आजकल किन बल्दैनन् ? मध्यरात हिँड्दा बाँसमा आजकल किन भूतले ढुंगा हान्दैन ? ती बाँस ढलेर आजकल किन बाटो छेक्दैनन्?

आज हामीसँग भौतिक चिजबिज त धेरै छन्– एक दर्जनभन्दा बढी चारित्रिक प्रमाणपत्र, विभिन्न संस्थाले गरेका दर्जनौं सम्मानपत्र, विभिन्न संस्थामा कर्म गरेका कर्मी–परिचयपत्र, कोठाभरि पुस्तक–पत्रपत्रिका, दर्जनौं खातापाता, नम्बर–विवरणको गह्रुंगो भारी बोकेको मोबाइल अनि मनभरि कामैकामको टौवा। यी सबै चिज हुँदाहुँदै हामीसँग वास्तविक जीवन छैन। हामीसँग केही प्रश्न छन् - के हामीसँग समय छ? शान्ति छ? सन्तोष छ?

आजको दुनियाले देखेको अपार प्रगतिको जीवन हेरौं। बिहान उठ्नेबित्तिकै हतार सुरु हुन्छ। हातमुख धोएर दाँत माझी दारी फालेपछि कलेज दौडिनुपर्छ। चार–पाँच पिरियड पढाउनु नियमित कर्म बन्छ तर खाना कतिबजे र कहाँ खाने भन्ने ठेगान हुँदैन। खाना कहिले घरमा, कहिले क्यान्टिनमा। दिउँसो अर्को कलेजमा अध्यापन, साँझ पत्रिका सम्पादन, रात ढल्केपछि घर फिर्ती अनि मध्यरातमा खाना।

जीवन एउटा दौड बनेको छ– गन्तव्य अस्पष्ट छ तर गति तीव्र छ। कहिले प्रश्नपत्र बनाउनुपर्ने, कहिले उत्तरपुस्तिका जाँच्नुपर्ने, कहिले लेख सम्पादन गर्नुपर्ने। कार्यक्रम, भेटघाटका निम्ता अस्वीकार गर्न मिल्दैन, स्वीकार गर्दा समय पुग्दैन। यसरी जीवन एउटा जालमा फसेको छ– काम, अपेक्षा र थकानको। व्यस्तताबिच कहिलेकाहीं लाग्छ–आज हामीसँग साधन छ तर साधना छैन, हामीसँग सूचना छ तर ज्ञान छैन, हामीसँग सम्पर्क छ तर सम्बन्ध छैन।

अहिले गाउँ पनि हजुरबाको पालाको गाउँजस्तो छैन। हाम्रै बाल्यकालका जस्तो गाउँ पनि अहिले छैन। पहिला पोखराबाट गाउँ जान पूरै दिन छुट्याउनुपर्थ्याे। बसबाट झरेपछि चारपाँच घण्टा ठाडो उकालो चढ्नुपर्ने। साँच्चै पल्लो पाखोमा भएजस्तो लाग्थ्यो गाउँ। गाउँ पाखोमा थियो, त्यसैले पाखे भनेर कसैले जिस्काए भने औधी रिस उठ्थ्यो। किनभने बडो दुःख गरेर साच्चिकै पाखोमै पुग्नुपथ्र्यो विद्यार्थीकालमा घरमा पुग्न। अहिले त्यही पाखो सुविधासम्पन्न बनेको छ । कसैले पाखे भने पनि आजकल मनमा कुनै रिसको तरङ्ग उठ्दैन।

अहिले गाउँमा कालोपत्र बाटो पुगेको छ, बिजुली, टेलिभिजन, वाइफाइ सबै छन्  तर गोठमा गाईवस्तु छैनन्, खेतबारी बाँझा छन्। आमाले छोराछोरीको फोन उठाउँदा ‘हिन्दी सिरियल हेर्दै छु’ भन्नुहुन्छ। सम्बन्धहरू कमजोर भएका छन्– भौगोलिक दुरी नजिक भएर पनि टाढा भएजस्तो लाग्छ। मन्दिर उस्तै छ तर आस्था आधा भएको छ। स्कुल उस्तै छ तर त्यसप्रतिको श्रद्धा घटेको छ। खरबारी उस्तै छ तर खर सुकेको छ। खेतका गरा छन् तर त्यहाँ अन्न होइन, वनमारा उम्रिएको छ । पधेँरो छ तर पानी हराएको छ।

यी सबै दृश्य केवल भौतिक परिवर्तन होइनन्, यी आत्माको क्षयका संकेत हुन् । गाउँ अर्धजीवित भएको छ– न पूर्ण रूपमा जीवित, न पूर्ण रूपमा मृत। मानौं, गाउँले आफ्नो आत्मा गुमाउँदै छ र सहरको नक्कल गर्दै छ। पहिले गाउँमा दुईतीन श्रीमती भएका घरमा पनि सम्बन्ध अजम्बरी हुन्थ्यो। अहिले विवाह गरेका जोडी जमेका भन्दा फाटेका धेरै देखिन्छन्। अहिले हामीले सहनशीलता गुमाएका छौं, धैर्य गुमाएका छौं र सँगै बाँच्ने कला पनि गुमाएका छौं।

मलाई बाल्यकालको सम्झना आउँछ। विद्यालयबाट फर्कंदा हजुरआमाले बनाएको खाजा खान हतार हुन्थ्यो। कोदाको रोटी, पुवा, गहुँको रोटी, भुटेका मकै जे पाइन्थ्यो, हतार हतार खाएर सिद्याइन्थ्यो। हतार त उतिबेला पनि हुन्थ्यो, आज पनि जीवन हतारमै चलेको छ। लाग्छ, उतिबेलाको हतार आत्मिक थियो, आजको हतार यान्त्रिक छ, फरक यति हो। खाजा खाएपछि टालाको बल लिएर गइन्थ्यो स्कुलको ठुलो चौरमा। सफा हृदयले खेल खेलिन्थ्यो। कति मजाको प्रतिस्पर्धा हुन्थ्यो। खाली खुट्टाले बल खेल्दा कलेटी पर्थे हातखुट्टा। कलेटी परेका हातखुट्टा चौरमुनि रहेको ढुंगे धारामा मजाले धोइन्थ्यो, ढुंगाले मिचीमिची। साँझ घर फर्केपछि खाना खाइन्थ्यो अनि टुकीमा मट्टीतेल भरिन्थ्यो, बाती मिलाइन्थ्यो। अब सुरु हुन्थ्यो गृहकार्य। टुकीको उज्यालो सानो थियो तर त्यहाँ महसुस हुन्थ्यो ठुला ठुला आशा र भविष्यको सुन्दर परिकल्पना।

आज उज्यालो धेरै छ– बत्ती, स्क्रिन, डिजिटल संसारको उज्यालो। आजको उज्यालोमा पनि अन्धकार छ– एक्लोपन, तनाव र असन्तोषको। आजको यान्त्रिक जीवनशैली बिताउँदा मनमा प्रश्न उठ्छ -  के हामीले साँच्चै प्रगति गरेका छौं? कि हामीले केवल साधन बढाएका छौं, तर सार गुमाएका छौं?हजुरबुबाहरूको जीवनले हामीलाई सिकाउँछ - जीवनको सुन्दरता सादगीमा हुन्छ, सम्बन्धमा हुन्छ र प्रकृतिसँगको सामीप्यमा हुन्छ। आजको जीवनले हामीलाई चुनौती दिन्छ– के हामी जीवनको त्यो सौन्दर्य अब फर्काउन सकौंला? यद्यपि समाधान पुरानोलाई पूर्ण रूपमा फर्काउनु पनि होइन, नयाँलाई पूर्ण रूपमा स्वीकार गर्नु पनि होइन। समाधान त त्यो पुल बनाउनु हो, जहाँ परम्परा र आधुनिकता भेटिन्छ, प्रविधि र प्रकृति सँगै बाँच्न सक्छन्। यदि हामीले त्यो पुल बनाउन सकेनौं भने हामीसँग सबै हुनेछ तर जीवनलाई चाहिने वास्तविक शान्ति, सद्भाव अनि सन्तुष्टि भने हुनेछैन।

प्रकाशित: ७ चैत्र २०८२ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App