बितेको झन्डै आधा शताब्दीदेखि नेपाली वाङ्मयमा सक्रिय वसन्त चौधरी कवि, गीतकार र गजलकारका रूपमा सुपरिचित छन्। नेपाली, हिन्दी र अंग्रेजी भाषाका अतिरिक्त अन्य भाषामा गरी हालसम्म उहाँका पच्चीसभन्दा बढी कृति प्रकाशित भइसकेका छन्। यसैक्रममा केही समयअघि मात्र सांग्रिला बुक्सबाट बजारमा आएको ‘देवयानी’ उनको पहिलो उपन्यास हो।
सामान्यतया ‘देवयानी’ प्रेमकथामा आधारित एक सामाजिक उपन्यास हो। ४१६ पृष्ठको यस उपन्यासमा प्रारम्भदेखि अन्त्यसम्म प्रेमका अनेक रूपरङ देख्न पाइन्छ। कतै सतहमा, कतै अन्तस्करणमा देखिने त्यस्तो प्रेमको अनुभूतिले पाठक स्वयम् पनि खण्ड खण्डमा विखण्डित हुन पुग्छ। ‘देवयानी’मा पुरुषप्रधान भनिने यस समाजमा एउटा पुरुषले ब्यहोरेको उत्पीडन र छटपटीले पाठकलाई पनि मर्माहत तुल्याउँछ।
त्यसो त एउटा कविले, एउटा गीतकारले आफ्ना विचारहरूलाई थोरै शब्दमा धेरै विम्ब र प्रतीकद्वारा अभिव्यक्त गर्ने गर्छ। यसरी थोरै शब्दमा आफ्ना विचार अभिव्यक्त गर्ने कविले आख्यान, त्यो पनि पहिलो पटक नै कसरी, कस्तो लेखेका होलान् भन्ने कौतूहल लागेको थियो। यो सुन्दा वा पढ्दा धेरै पाठकलाई पनि त्यस्तै कौतूहल लाग्नु स्वाभाविकै हो। तर पढ्दै र उपन्यासमा तानिँदै गएपछि म यो एक सफल उपन्यास हो भन्ने निष्कर्षमा पुगेँ र पहिलोपटक नै यति सफल उपन्यास लेखेकोमा उपन्यासकारप्रति स्वतः गर्व गर्न लागेँ। त्यसैले पनि यस उपन्यासबारे एक पाठकका नाताले यहाँ केही चर्चा गर्न उपयुक्त हुने ठानेको छु।
मैले प्रारम्भमै भनिहालेँ, उपन्यासको नाम ‘देवयानी’ हो। ‘देवयानी’ भन्नेबित्तिकै यो उपन्यास नायिकाको सेरोफेरोमा घुमेको अवश्य पनि एउटा प्रेमकथा हुनुपर्छ भन्ने आँकलन हुन्छ। त्यसमाथि देवयानी एउटा यस्तो पात्र हो, जो हाम्रो पौराणिक कथामा मात्र होइन, हाम्रो समकालीन नेपाली समाजमा पनि अत्यन्त सुविख्यात भएकी नारी पात्रको नाम हो।
हुन पनि उपन्यासभरि देवयानीको वर्णन गरिएको छ। उपन्यासका दुई प्रमुख पात्र आदित्य–देवयानी र बिचमा माधवी र विक्रान्तको सेरोफेरोमा घुमेको यस उपन्यासमा नारी मनोविज्ञानलाई जडदेखि पर्गेल्ने कोसिस मात्र गरिएको छैन, पुरुषप्रधान समाजमा अचेल निर्माण गरिएको भाष्य जस्तो सरल र सहज अवतरण सम्भव छैन भन्ने सत्य पनि उजागर गरिएको छ। साथै यस उपन्यासमा ‘देवयानी’लाई जुन लय र प्रवाहमा पढ्न पाइन्छ, त्यो नितान्त नौलो छ।

देवयानीले एक विवाहित पुरुषसँग अगाध प्रेम गर्छिन् तर समाजले त्यो प्रेम स्वीकार्न सहज देखिँदैन। यो कुरा देवयानी र आदित्य दुवैलाई थाहा छ तर पनि उनीहरू यसरी प्रेममा डुब्छन्, जसको निकास असम्भव देखिन्छ। पाठकलाई प्रारम्भदेखि नै यी दुई जोडीको प्रेमले तानिरहन्छ।
उपन्यासकारले उपन्यासभरि जसरी वर्तमान नेपाली सम्भ्रान्त र सुव्यवस्थित परिवारका पुरुष र महिलाबिचको प्रेममा देखिने अन्तद्वन्द्व, वियोग, छटपटी र क्लान्त मनोदशालाई विश्लेषण गरेका छन्, त्यसले पाठकको मनलाई सहजै जितेको देखिन्छ। अब के होला? कसो होला? यो प्रेमले कस्तो रूप लेला? समाजमा र परिवारमा यसले कस्तो विखण्डन आउला? भन्ने एउटा कौतूहल पाठकको मनमा सुरुदेखि नै उठिरहन्छ।
त्यसो त यस उपन्यासको विशिष्टता प्रेमको यस वर्णित अमूर्ततामा होइन, प्रेमको त्यस सहज र व्यवस्थित अवतरणमा छ। हाम्रो समाज पुरुषप्रधान समाज, त्यसमाथि पुरुषले, अझ भनौं सम्भ्रान्त परिवारले जेजस्तो चाहन्छ, त्यसरी नै निर्णय गर्न सक्छन् भन्नेजस्ता भाष्य तथा कल्पित एवं भ्रमित कथनहरूलाई यस उपन्यासले भत्काएको देखिन्छ।
यो लेखकको एक समीचीन कार्य पनि हो। त्यसैगरी नारी सशक्तीकरणका कुरा उठाउनुहुने, नारी विभेद र वियोगबारे चर्चा गर्नुहुने, नारी अपहेलना र तिरस्कारको चित्कार मात्र अलापी रहनुहुने केही लेखक र पाठकका निम्ति यो एक उदाहरण र विचरणको पक्ष पनि हो, जहाँ सदैव अवला मानिने महिला पनि हाम्रो समाजमा आफ्नो निर्णयमा कति सुव्यवस्थित र सजक छन् भन्ने राम्रो चित्रण यो उपन्यासले देखाएको छ।
प्रेममा आक्रान्त देवयानीले होस् वा एउटा पारिवारिक जिम्मेवारी सम्हालेर बसेको माधवीले होस्, आफ्नो चरित्रबाट हाम्रो समाजको वर्तमान ऐनालाई यहाँ प्रतिविम्बित गरेको छ। आदित्य र देवयानी प्रेमको गहिरो सागरमा डुबेका बखत आदित्यकी विवाहित पत्नी माधवीको असह्य पीडा आदित्यका बालसखा रेणुले चाल पाउँछिन्।
आदित्यले आफ्ना सबै दुःखसुख साट्ने र अप्ठ्यारो परिस्थितिमा रेणुको सल्लाह लिने गरेको भए तापनि देवयानीसँगको सम्बन्ध माधवीले लेख्ने गरेको डायरीबाट चाल पाउँछिन्। एउटी महिलाले भोगेको पीडालाई आफ्नै पीडा सम्झिएर जसरी आदित्यलाई उनले यो सम्बन्ध जायज नभएको सल्लाह दिन्छिन्। यहाँ पनि लेखकको लेखकीय कुशलता र समाजमा नारीको मूल्यमान्यतालाई लेखकले दिएको प्राथमिकता सह्रानीय छ।
उपन्यासमा माधवी एउटा यस्तो चित्रण हो, जसले मौन रूपमा बसेर पनि बिनाविद्रोह, बिनाछटपटी र बिनाअनादन, अझ भनौं बिनातुच्छ शब्दहरूको प्रहार र भौतिक विदण्डता यति ठुलो परिवर्तन, यति ठुलो सामाजिक मार्गदर्शन गरेको देखिन्छ, त्यो आजको हाम्रो समाजका निम्ति एउटा उदाहरण हो। त्यसमा कसैको विमति छैन।
हो, प्रेम जानेर हुँदैन। प्रेम आकर्षण मात्रै पनि होइन। प्रेम त्यो बिन्दु हो, जहाँ अनन्त सुखबोध हुन्छ। यो उपन्यास पढिरहँदा उपन्यासकारले पोखेको यस दर्शनले पाठकहरूलाई चिमोटिरहन्छ। उपन्यासको सफलतामा ‘प्रेम’को यो ‘दर्शन’ले त्यतिकै ठुलो भूमिका खेलेको छ भन्न सकिन्छ। साथै हाम्रो समाजमा जुन दर्शन, जुन परम्परा, जुन रीतिथिति, जुन संस्कृतिको निरन्तरता प्रवाह भएको छ, त्यसलाई दृष्टिगोचर गर्दै सहज रूपमा, सुव्यवस्थित रूपमा अगाडि बढाउँदै उपन्यासले परिवर्तनको एउटा क्षितिज पनि उघार्ने प्रयास गरेको छ भन्न सकिन्छ।
यस उपन्यासबाट एउटा पुरुषले आफूले प्रेममा परिसकेपछि व्यक्त गर्न नसकेका असङ्ख्य छटपटी र आजको हाम्रो समाजले भोगिरहेको असङ्ख्य कथा हामीले अनुभव गर्न सक्छौं। पढ्दै जाँदा हामीले हाम्रो समाजमा देखेका धेरै चरित्रलाई अनुभूत गर्न सक्छौं। कतिपय ठाउँमा हामी स्वयम्लाई पाउँछौं।
यसरी समाजमा यत्रतत्र देखिएका चरित्रलाई आफ्नै तरिकाले आफ्नै लयमा बाँधेर आफ्नै प्रवाहमा जसरी उपन्यासकारले उपन्यासलाई अगाडि बढाएका छन्, त्यसलाई हेर्दा उपन्यासकारको यो नै पहिलो उपन्यास हो भन्न पनि गाह्रो लाग्छ।
यसरी हेर्दा मलाई लाग्छ, कवितामा जस्तै गीतमा पनि र गीतमा जस्तै गजलमा पनि जसरी लेखकले आफूलाई स्थापित गरेका छन्, यो पहिलो उपन्यासबाट नै लेखक एक सफल उपन्यासकार पनि हुनसक्छन् भन्ने ठोकुवा हामी सहजै गर्न सक्छौं।
प्रकाशित: २४ श्रावण २०८२ ०९:४१ शनिबार




