२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

सबैका लागि ध्यान विज्ञान

पुस्तक

मानव सभ्यताको प्रारम्भिक कालदेखि सुरू भएको ध्यान परम्परा आज मानव जीवन पद्धतिको एक अंग बनिसकेको छ। हिन्दु, बौद्ध, जैन, इस्लाम, क्रिस्चियन समुदायमा प्रचलित यो विधा अब साधु, सन्त, भिक्षु, सुफी, जैन धार्मिक समुदायका मानिसले मात्र गर्ने विषय रहेन। विज्ञान र प्रविधिले पनि यसलाई आत्मसात गरेकाले यो विधा आम मानिसले अँगाल्नुपर्ने प्रमाणित भइसकेको छ। यिनै र यस्तै आशय राखेर लेखिएको पुस्तक हो -ध्यान विज्ञान। यसका लेखक रामकुमार आचार्य हुन्। मानव जीवनका लागि ध्यान अति आवश्यक रहेछ भन्ने कुरा पुस्तकको भूमिकामा उल्लेख गरिएको थाइल्यान्डको फुटबल समूह ‘वाइल्ड बोर्स’ गुफामा फसेको घटनाले अझ स्पष्ट पार्दछ।

प्रस्तुत पुस्तकमा सैद्धान्तिक तथा ध्यानका विभिन्न अभ्यासहरूलाई पनि समेटिएको छ। लेखकले ध्यान आस्थामा होइन तथ्यमा आधारित हुनुपर्छ भनेका छन्। यस आधारमा उनले पुस्तकमा जति पनि ध्यान विधि प्रस्तुत गरेका छन्, ती सबै तथ्य र प्रमाणमा आधारित छन्। यस आधारमा पनि यो पुस्तक विज्ञानसम्मत छ भन्न सकिन्छ।

पुस्तकलाई चार खण्डमा विभाजन गरिएको छ। खण्ड १ मा सैद्धान्तिक पृष्ठभूमि र व्यवहार रहेको छ, जसलाई नौवटा परिच्छेदमा छुट्ट्याई स्पष्ट पारिएको छ। ध्यानको परिभाषा, सचेतना ध्यान, ध्यान र धर्मनिरपेक्षता, ध्यानका लाभ, दिमाग बहकाइ र व्यवस्थापन, ध्यानका चरण, ध्यानको पूर्वतयारी आदिको सैद्धान्तिक पक्ष केलाइएको छ।

ध्यान गर्दा शरीरबाट मनतिर प्रवेश गर्न कसरी सकिन्छ त्यसको पूर्वाधार खडा गर्नु सैद्धान्तिक पृष्ठभूमि हो। यी पक्षको अध्ययन गर्दा ध्यान साधना अँगाल्नेहरूले यसका सैद्धान्तिक पक्षका बारेमा जानकारी लिई त्यसअनुसार अगाडि बढ्नु प्रभावकारी हुन्छ भन्नेमा लेखकले जोड दिएका छन्।

उनका अनुसार धर्मनिरपेक्ष ध्यान कुनै शास्त्रीय रटान वा काल्पनिक दाबीमा आधारित हुँदैन। यो विज्ञानले प्रमाणित गरेका तथ्य र प्रमाणको जगमा उभिएको हुन्छ। यसलाई लेखकले उदाहरण दिएर प्रस्ट पारेका छन् -क्रिस्चियन होस् वा मुस्लिम, हिन्दु होस् वा जुनसुकै समुदायका मानिस हुन् सबैले विज्ञान र प्रविधिले जन्माएको फोनको प्रयोग र बसको यात्रा गर्छन्।

खण्ड २ र खण्ड ३ मा ध्यान अभ्यास रहेको छ। यी दुवै खण्डमा गरी ९ वटा परिच्छेद रहेका छन्। खण्ड १ मा सैद्धान्तिक पक्षबाट ध्यानका बारेमा बुझाइएको छ। यसमा व्यावहारिक पक्षबाट ध्यानको अध्ययन गराइएको छ। अभ्यासले ध्यानको सैद्धान्तिक पक्ष अझ स्पष्टसँग बुझिन्छ।

यस खण्डमा आन्तरिक आवाज नियन्त्रण ध्यान, सचेत श्वासप्रश्वास ध्यान, सचेत अङ्गावलोकन ध्यान, सचेत ध्वनि ध्यान, सचेत मन्त्र ध्यान रहेका छन्। आन्तरिक आवाजलाई आफैंप्रति लक्षित वाणीको मौन अभिव्यक्ति हो भन्न सकिने लेखकको भनाइ छ।

यसमा जुन विषयमा मन लगायो त्यसका बारेमा तटस्थ भएर हेरिरहन सकिन्छ। जस्तै - शरीरका अंगहरूको अवलोकनलाई लिन सकिन्छ। देव्रे गोडाको बूढीऔंलाबाट भित्रबाहिर अगाडिपछाडि सुस्तगतिमा बन्द आँखाले हेर्दैहेर्दै घुँडा, कम्मर, पेट, छाती, मेरूदण्ड, हात, घाँटी, मुहार र शिरमा पुग्न सकिन्छ। यही क्रमानुसार शिरबाट गोडामा पुग्न पनि सकिन्छ।

सूक्ष्म विषय वा नदेखिने विषयलाई आलम्बन बनाएर पनि ध्यान गर्न सकिन्छ। करूणा ध्यान, आत्मकरूणा ध्यान, मैत्रीकरूणा ध्यान, सहखुसी ध्यान र समभाव ध्यान यी सूक्ष्म विषय हुन्। जस्तै– प्रेम, सद्भाव, परोपकार, अहिंसा आदि विषयलाई आलम्बन बनाएर पनि ध्यानस्थ हुन सकिन्छ।

पृथ्वीमा रहेका सारा मानिसलाई खुुसी, शुभ, कल्याण, शान्ति, भलाइ, आनन्द प्राप्त भइरहेको भावना राखिरहनु मैत्रीकरूणा ध्यान हो। मिङ्ग्युर रिन्पोचेका अनुसार संवेदना भएका जुनसुकै प्राणीले पनि आफूले जस्तै प्रसन्नता र स्वतन्त्रताको अनुभव गरून् भन्ने आकांक्षा राख्नु मैत्रीकरूणा हो। खण्ड १ र खण्ड २ पार गरेपछि वा ध्यानको गहिराइमा मात्र यस्ता भावना आउँछन्।

खण्ड ४ मा दुईवटा परिच्छेद रहेका छन्– ध्यानको छनोट र ध्यानको बानी। ध्यानको अभ्यास संसारमै भइरहेको छ, तर ती फरक–फरक रहेका छन्। त्यसमध्ये आफूलाई उपयुक्त हुने विधि छनोट गर्नु व्यक्तिको दायित्व हो।

ध्यानको छनोट गर्ने कुरा पसलमा गएर ग्राहकले आफूलाई सुहाउँदो तयारी पोसाक छानेजस्तै हो भन्छन् लेखक आचार्य। उद्देश्यसँग मिल्दो, लाभबारे स्पष्टता, शारीरिक र मानसिक स्वास्थ्य अवस्था, समयको उपलब्धता, परिवेश, सरलताबाट गहनतर्फ, निर्देशनात्मक वा आफैं आदि पक्षले साथ दिएको हुनुपर्छ।

जनाथन सी स्मिथले आठवटा ध्यानका अभ्यासहरू जस्तै– शरीर संवेदना ध्यान, हिँड्ने–डुल्ने ध्यान, श्वासप्रश्वास ध्यान, मन्त्र ध्यान, छवि ध्यान, बाह्य आवाजमा ध्यान, सरल बाह्य दृश्य उत्प्रेरकमा ध्यान र सचेतना ध्यान आदि अभ्यासहरू समान रूपले समान समय दिएर गर्नुपर्ने सुझाव दिएका छन्।

लेखकले ध्यानलाई निरन्तरताको यात्राबाट गन्तव्यमा पुगिने संयमित र अनुशासित यात्रा हो भनेका छन् तर ध्यानलाई जीवन पद्धति वा बानीका रूपमा विकास त्यति सजिलो छैन।

उदाहरणका लागि ध्यान सिक्नका लागि सयजना मानिस गुरूकहाँ पुगेका छन् भने बानीका रूपमा विकास गर्ने १० जना पनि भेटिँदैनन्। यसका लागि कि अनिवार्य, कि बाध्यता कि त सत्संग जरूरी छ। ध्यानको बानी बस्न नसक्नुमा लेखकले विभिन्न कारणसमेत उल्लेख गरेका छन्।

यसैगरी पुस्तकमा तीनवटा अनुसूची पनि उल्लेख गरिएको छ। अनुसूची १ मा ध्यान विश्व दिवस घोषणा गर्ने संयुक्त राष्ट्रसंघको प्रस्ताव, अनुसूची २ मा माइकेल टाफ्टले सचेतना ध्यान सम्बन्धमा गरेका अनुसन्धान र अनुसूची ३ मा सचेतना ध्यानले मस्तिष्कमा पार्ने सकारात्मक प्रभावसम्बन्धी किरन सीआर फक्सले गरेको महाविश्लेषणको निष्कर्ष रहेका छन्।

समग्रमा पुस्तकको अध्ययन गर्दा ध्यान कसका लागि भन्ने नै रहेन। अब सबैका लागि ध्यान आवश्यक छ। ध्यान के हो र सांसारिक जीवन अँगालिरहेका आममानिसका लागि ध्यान कत्तिको जरुरी छ भन्ने कुरा पुस्तक अध्ययनपछि ऐना झैं छर्लंग हुन्छ।

स्मरणीय कुरा के छ भने बाहिरी जगत्मा गरिएका कामको फल वा लाभको निश्चितता छैन, तर ध्यान गर्दाको लाभ जसले गर्छ उसलाई अवश्य मिल्छ। विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनले नयाँनयाँ आविस्कार गरेर संसारलाई दिए, तर जीवन बुझ्न नपाउँदा उनी सन्तुष्ट हुन सकेनन्। जीवनको उत्तरार्धतिर उनले भनेका छन्, ‘सान, पद, उपलब्धि र पहिचानहरू बाहिरी संसारका कुरा हुन्, यी प्राप्त भए पनि आफूलाई बुझ्न सकेनौं भने जीवन अधुरो नै रहन्छ।’

आफूलाई बुझ्नका लागि एक मात्र उपाय वा माध्यम भनेको ध्यान नै हो। जीवन विकास विशेषज्ञ रमेश नेपाल भन्छन् -ध्यान मनको शुद्धि र चेतनाको जागृति मात्र होइन, विश्व शान्तिको आधार पनि हो। यसकारणले लेखकले पनि मानव जीवनका लागि प्रभावकारी मानिएका विभिन्न ध्यानमध्ये सचेतना ध्यानलाई जोड दिएको हुन सक्छ।

प्रकाशित: २६ पुस २०८२ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App