३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

संसद् भवन वाक्युद्ध र घोचपेच गर्ने अखडा भो!

मुक्तक

१) मुक्तक

मेरा सबै अर्तीबुद्धि शिष्य मानोस् जस्तो लाग्ने

जे पढायो जे सिकायो सबै जानोस् जस्तो लाग्ने

असल गुरु बन्न सक्दा अब्बल चेलो पाएपछि

देशको सारा अभिभारा आफ्नै ठानोस् जस्तो लाग्ने।

२) मुक्तक

सौहार्द र मिलजुल गर्ने ठाउँमा किन झगडा भो

कामकाज गर्ने मान्छेभन्दा कुरा काट्ने तगडा भो

देशमा राम्रा नियमकानुन बन्लान् शान्ति मिल्ला भन्थ्यौँ

संसद भवन वाकयुद्ध र घोचपेच गर्ने अखडा भो।

३) मुक्तक

नाङ्गो भई काम्नेलाई आगो तपाउने ठूलो

आफ्नो नापजाँच होइन देशको सीमा नपाउने ठूलो

वैरीसामु झुक्दै खुट्टा कमाउनेभन्दा पनि

आफ्नै देशको बाली खाने बाँदर धपाउने ठूलो।

४) मुक्तक

बढेँ तर कति बढेँ आफैंलाई थाहा छैन

पढेँ तर केके पढेँ आफैंलाई थाहा छैन

जिन्दगीको अर्थ बुझ्न गाह्राे रैछ धेरै

किन आफू ज्यूँदै सडेँ आफैंलाई थाहा छैन।

५) मुक्तक

पैले हात अनि मुख जस्तो पनि लाग्छ जीवन

क्षणिक सुख दिगो दुख जस्तो पनि लाग्छ जीवन

जतिसुकै होस राखे नि पछुतो नै हुन्छ धेरै

सफलता नै ठूलो सुख अर्थपूर्ण लाग्छ जीवन।

प्रकाशित: ३० जेष्ठ २०८३ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App