राखूलाई ‘चार हजार पर्वत बागलुङ थुम राखू’ भनिने गरिन्थ्यो, बाइसे चौबिसे राज्यको केही समयसम्म। त्यसभन्दा अगाडि यस ठाउँलाई राखू प्रदेश, राखू पुला अथवा पौलास्याश्रम समिपे नामले चिनिन्थ्यो।
राखूमा पनि भुरे टाकुरे राजा थिए। त्यहीं राजाहरूको राज्यअन्तर्गत यो रुइसे दरबार पथ्र्यो। पछि बाइसे चौबिसे राज्यअन्तर्गत पर्ने पर्वतराज्यले आफ्नो अधिनमा लिएको थियो। विभिन्न आलेख केलाउँदा यो क्षेत्रमा आत्रेय गोत्री बगाले थापाले राज्य गरेका थिए। यिनका मूल पुरुष कालु थापा थिए। कालु थापाका वंशजहरू कर्णालीबाट रुकुम हुँदै निसिभुजी, ताकम, पुला र ज्यामरुककोटमा पुगी राज्य स्थापना गरेका थिए। त्यहाँबाट पूर्वतिर फैलिँदै गएपछि गोरखा, लमजुङ, तनहुँ, कास्की, पाल्पा र काठमाडौं उपत्यकामा पनि पुगेको तथ्य इतिहासमा उल्लेख छ।
कान्तिपुरका राजा जयप्रकाश मल्लको सेनामा रहेका काशीराम थापा र परशुराम थापालाई धौलागिरि क्षेत्रको ताकुमबाट गएकाले तकमेली र गोरखामा गई बसेको वीरभद्र थापालाई फेरि सो क्षेत्रको ज्यामरुकबाट गएकाले जुमरेली बगाले थापा भन्ने चलन छ। यसले पनि थापाहरू पृथ्वीनारायण शाहकालभन्दा पहिल्यै आएका थिए भन्न सकिन्छ। आत्रेय गोत्री बगाले थापाका वंशज मूल पुरुष कालु थापा हुन् भन्नेमा इतिहासविद् सहमत छन्। उनी शाके सम्वत ११११ (वि.सं. १२४६ ) तिर डोटीमा राजा भएका थिए।
योगी नरहरिनाथले आफ्नो इतिहास प्रकाश (२०१२) पुस्तकमा कालु थापाका चार भाइ छोरामध्ये जेठा पुन्याकर पुलामका राजा, माहिला तारापति ताकमका राजा, साहिँला विरु थापा र कान्छा धर्मराज थापाले ज्यामरुकको (म्याग्दी) मा राजकाज चलाएका थिए भन्ने तर्क पेस गरेका छन्।
राखू प्रदेशमा चौध सय शताब्दीको मध्यमतिरबाट नै सुवेदीहरूको बसोबास भएको हो। जुम्ली राजा अभय मल्लले कुशा भट्टका १९ औं पुस्ताका सन्तति सुवेदीहरूलाई राखूमा बिर्ता दिएर राखेका थिए। उक्त समयमा त्यस क्षेत्रमा कालु थापाका सन्ततिहरूले नै राज्य गरेका भए पनि उनीहरू पनि जुम्ली राजाको अधिनमा थिए। उसको करदमा भए पनि राखूमा राजा र राजतन्त्रात्मक व्यवस्था थियो। जसकारण नै सुवेदीहरूलाई यहाँ राखिएको हुनुपर्छ। यसलाई यस भनाइले प्रस्ट पार्छ–
अछाम प्रदेशस्य आरुद्धाला विष्टवाडा सनि विष्ट क्षत्रिया पून्बसन।। ते च गार्हस्थ्यधर्माद शदिग्ना: मष्टो देवतायापुजनाथ ढंडार प्रदेशे आगतामा मष्टो देवताभिश्रच तेभ्य छार्काभोट त्रिपुराकोट लोभिन्ताङ्ग प्रदेशस्य राज्यदत्वा राजतिलकं विहितम्।। तैश्रच विष्ट नृपितिभि: कुशाभट्टस्य बंश्यान राजकुलगुरुन विधाय पुल्स्तयाश्रम समीपे राखूपुलानामकं स्थान वृत्तिरुपेणा दत्वा तत्रोस्थापिताः अत्र तेषमपि बंशावलि लिख्येते।
फलस्वरूप राखू प्रदेश पनि नागराज सन्ततिको अधिनमा थियो। वि.सं. १२५० तिर डोटीमा कालु थापाले राज्य गरेको प्रामाणिक आधार भेटियो। उनका सन्ततिले नै निसिभुजी, अर्नाकोट, ताकुमकोट, चन्द्रकोट, ठोरलठाना, राखूकोटमा राज्य गरे र यी राज्यलाई पछि पर्वतका राजा डिम्बले आफ्नो राज्यमा गाभेका थिए। यिनीहरू पनि बगाले थापा थिए। यस्तो गहकिलो इतिहास अझै पनि गुमनाम छ।
आधुनिक नेपालको एकीकरणमा बलिदान र कुर्वानी गर्ने बगाले थापाका वशंघर राष्ट्रिय विभूतिहरू भीमसेन थापा, अमरसिंह थापा, अमरसिंह थापा, नयनसिंह थापा, उजिरसिंह थापा, माथवरसिंह थापाहरू पनि बगाले थापा आत्रेय गोत्री नै थिए। सायद उनीहरूको राज्य गुमेपछि पूर्वतिर बढेर कुलमण्डन खाँडसँगै पछिका शाह वंशजको सेवामा लागि नेपाल एकीकरणको योगदानमा यिनीहरूको ठुलो भूमिका थियो।
इतिहासविद् स्व. मोहनबहादुर मल्लको ‘पर्वते मल्ल वंशावली’मा ‘निमुका ४ छोरा गौसललेका काप्रिया सगुने केडारु इ ४ मा गोसलेलका गोतामे ब्रम्हान भया। काप्रीयका छोरा समाल भया। सगुनेका बगाले थापा भया। केडारुका मारुले भया। भोटका बाडसाह भयो। काप्रीयाले साही पदवी चलाया’ भन्ने उल्लेख छ। यो भनाइलाई मिहीन रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता छ।
एघारौं शताब्दीको अन्ततिर निमु राजाका चार छोरामध्ये एक भाइ गौतम ब्राह्मण भएका हुन्। एक भाइ चाहिँ काप्रिया शाही भए र उनले शाही पदवी चलाए। अर्का भाइ केडारु भोटमा गए र राज्य चलाए। अर्का भाइ सगुनेका बगाले थापा भए भनेर लेखिएको छ। यसको गहन विश्लेषण हुन जरुरी छ। किनकि इतिहास लेखिसकिएको छ। यसको गहिराइमा पुग्नुपर्ने आवश्यकता अहिलको हो। त्यसैगरी ‘पर्वतको ऐतिहासिक रूपरेखा’मा ‘जुम्लाका नृपतिका छोरीतिरका थरका समाल भैगया।। भित्र्यानितिरका त पुत्र त ताहाँ खस थर बगाल्य भया।। (श्रेष्ठ, टेकबहादुर, २०५९)’ उल्लेख छ।
जुम्लाका नृपति चाहिँ नागराजका सन्तति हुन्। उनका छोरीतर्फबाट नै स मल (मल्ल बाराबार) समालवंशी पनि भएका हुन्। क्षत्रिनीपट्टिबाट भएका बगाले थापाहरू त्यहाँ राज्य नपाएका कारण पूर्वतिर बढी साना साना राज्यमा शासन गरेका रहेछन् भन्ने अनुमान गर्न सकिन्छ। नेपाली समाजमा राजाको छोरा भित्रिनी भए पनि राजा नै हुन चाहन्छन्। त्यो स्वाभाविक हो। तर पछि गएर यो राज्य पर्वत राज्यमा विलीन भयो।
रुइसे दरबार
राखूको सामाजिक इतिहासमा समालवंशी क्षत्रिय वा सुमन क्षत्री राजाले रुइसेमा राज्य गरेका थिए। उनीहरू समालवंशी थिए या थिएनन्, त्यो खोजको कुरा हो। तर तिनीहरू आत्रेय बगाले थापा थिए। समयक्रमानुसार राज्यसत्तामा पुगेपछि मानिस भोगविलासमा लुप्त हुँदै गई राजाहरू निरंकुश भएको इतिहास छ। यस्ता उदाहरण प्रशस्त छन्। फलस्वरूप यहाँका राजा पनि रैतीलाई अत्याचार गर्दै गए। उनीहरूको अत्याचार बढ्दै गएपछि त्यहाँ जनतालाई असह्य भयो।
अम्वाली/उपप्रधानपञ्च डिलबहादुर शाहीले भन्नुहुन्छ– यस क्षेत्रमा समालवंशी क्षत्री राजाले राज्य गरेका थिए। उनीहरूले रैतीलाई अत्याचार गरेका हुँदा त्यहाँका गुरु सुवेदीहरूको सल्लाहमा पर्वत राज्यमा प्रतापी राजा डिम्बवम वा प्रतापी नारायणका पालामा यो क्षेत्रबाट पर्वत ढोरलठानामा गएर हाम्रो क्षेत्रमा पनि राजा हुनुपर्यो, यहाँका राजा धेरै अत्याचारी भए भनेपछि एक भाइ छोरालाई त्यो अधिकार दिई यहाँका राजालाई अपदस्त गरेर यो राज्य पनि पर्वतराज्यमा गाभिएको थियो।
यसरी अत्याचारी राजालाई हटाउन पर्वतका राजा जेठा छोरा प्रतापी युवराज थिए। त्यहीं राजा दिई पठाएपछि यहाँको प्रशासन हालका मल्ल वंशजहरूले चलाएका थिए। यो सामाजिक इतिहास र सामाजिक मनोविज्ञान छ।
यहाँको सामाजिक इतिहासमा उनी डिम्बवम महाराज थिए, प्रतापी नारायण थिए। यो अझै खोजको विषय बनेको छ। इतिहासविद्को भनाइमा पर्वतराज्यमा यी दुवै धेरै वर्ष बाँचेका थिए। पर्वतको सामाजिक इतिहास पनि यस्तै छ। डिम्ब महाराजले वि.स. १५४५ तिर ताकुममा आक्रमण गरेको इतिहासमा लेखिएको छ (मल्ल, मोहन बहादुर, २००९)। त्यसको केही समयपछि अन्य राज्यहरू जित्दै अन्ततः राखू राज्य पनि पर्वतको अधीनमा डिम्बवमका सन्ततिले आफ्नो राज्यमा गाभेका थिए। यतिन्जेलसम्म यो राखूको राज्य थापाहरूबाट नै चलेको देखिन्छ। पर्वतको राज्यविस्तारमा ताकमा, ठोरलठाना, ज्यामुरककोट, पर्वत, चन्द्रकोट अनि राखूकोटलाई पनि अधीनमा लिएको हो। त्योभन्दा पहिला र पछि पनि राखू क्षेत्र कहिले जुम्लाको अधीनमा, कहिले पर्वतको अधीनमा थियो भन्न सकिन्छ।
राजा जितारी मल्ले अंशस्वरूप गलकोट राज्य प्राप्त गरेपछि म्याग्दीको ढोरलथानाबाट थापा, बस्न्यात, खड्का, कार्की, चोखाल लगायतका थरहरू गलकोट प्रवेश गरेका थिए। सात सय बगाले थापा अझै पनि मल्ममा रहेको पाइन्छ।
वि.स १६६७ को एक तामपत्रमा ‘जोहो सो गरी पर्छन् दुई सय रुईसे डान्नु राजा आये भंन् ने सुन्दा ढा दुयूई तींतीं दिन अग्यिन नै टोसाम गर्नु तस पर्छनु उ सरना ना (मा)’ लेखिएको छ। यसको अर्थ रुइसे दरबार पनि डाम्नु भन्ने अर्थ हुन्छ। यसले अझ के प्रस्ट पार्छ भने राखूको रुइसे दरबारको सम्बन्ध र अस्तित्त्व थियो भन्ने एकिन गर्न सकिन्छ। यो समयसम्म राजा पनि रुइसे बस्ने गर्थे। यहाँ पर्वत राज्यको यो दरबारमा हालीमुहाली थियो। यी आधामा के भन्न सकिन्छ भने यो वंशज डोटीबाट पूर्व बढ्दै यिनका सन्ततिहरू निसिभुजी हुँदै ताकुमकोट, राखुपुला र राखूमा आफ्नो क्षेत्राधिकार जमाएर बसेका थिए। त्यही क्षेत्रमा यिनीहरूका भाइ भाइले नै यो क्षेत्रलाई विभाजन गरी राजा चलाएका थिए।
सामाजिक मनोविज्ञान
अवश्य पनि त्यो ठाउँमा थापाहरूको राज्य थियो । आत्रेय गोत्रीय बगाले थापाहरूको राज्य थियो। किनकि बगाले थापाहरूको निसीभुजी हुँदै ताकुम, ठोरालठानामा र राखूमा राज्य थियो। यहाँ भएका पुरातात्त्विक स्थान र भग्नावशेषले पनि यही जनाउँछ। उनीहरूले यस क्षेत्रमा लगभग २५० वर्ष राज्य गरेका थिए। अझै पनि म्याग्दीमा थापाचौर छ। यसको आफ्नै सामाजिक मनोविज्ञान छ। ताकम राज्यमा डिम्बले हमला गरेपछि थापाहरू थापाचौरमा आएका बसेका थिए। त्यसैगरी म्याग्दीको राखूमा रुइसे दरबार छ। रुइसे दरबारको उत्तरतर्फ थापाहरूको कोट भएकाले हाल उक्त ठाउँलाई थापाकोट भन्दा भन्दै थामकोट भन्न थालिएको छ।
यो इतिहास बोकेको सामाजिक मनोविज्ञान बोकेको थापाकोटको संरक्षण र प्रचार गर्नुपर्ने अबको आवश्यकता हो। यो पुरातत्त्व विभागको पनि काम र कर्तव्य हो यो। उक्त समयमा थापाहरू धेरै नै प्रभावशाली राजा थिए। उनीहरूको थरबाट नै विभिन्न स्थान र कोटको पनि नामकारण गरिएको पाइन्छ।
अब अर्को इतिहास र सामाजिक इतिहासको विश्लेषण गरौं। जुम्लामा हंसराज नामक व्यक्तिले भुरेराजाका रूपमा आफ्नो प्रभुत्व कायम गरे। यिनको साथमा एक जना थापा जातका प्रभावशाली व्यक्ति पनि आएका थिए। उनी बुढापुरानाका अनुसार हंसराजाका मन्त्री थिए। यो मुस्ताङ दर्शनमा पनि झल्काइएको छ। उनी (थापा) सिकारका सौखिन भएकाले सिकार जाँदा दुर्घटना भई मृत्यु भएका थियो वा अरू मानिसद्वारा हत्या गरिएको थियो।
सीमा रक्षा गर्दा शत्रुद्वारा मारिए भन्ने पनि सुनिन्छ। यो विषयमा नारायणप्रसाद क्षत्रीले लखेका छन्– थापाले थाक खोप्चेनको गौरव राखेकाले उनको नामबाट थापाखोला नाम राखिएको हो। वर्तमान म्याग्दी जिल्लाको राखू गाउँ निवासी थापा खानदान परिवारका सदस्यहरू आफ्ना पुर्खा थापाको हत्या भएकाले त्यो थापाखोलाको पानी पिउँदैनन्।
थापाका वंशजको थर थापाबाट थापाखोला भयो। यो शब्द फेरि बोल्ने क्रममा अपभ्रंश रूपमा ‘था’मा ‘क’ जोडेर हाल यो थाकखोला भएको छ। यो सामाजिक इतिहास अहिले पनि पाइन्छ।
पर्वत शक्तिशाली राज्य थियो भन्ने कुरा शाहकालीन इतिहास तथा गोरखाको इतिहासमा प्रशस्त भेटिन्छ। पर्वत राज्य ठुलो संघर्षपछि नै शाह वंशजको अधीनमा आएको हो।
पर्वत राज्यको एक शाखा गलकोट राज्य हो। राजा जितारी मल्लको समय वि.सं. १६३१ देखि राजा जगतबम मल्लको समय वि.सं. १८४४ सम्म गलकोट राज्य स्वतन्त्र थियो। तर जुम्लाका राजा जितारी मल्ले काठमाडौं खाल्डोलाई धेरै चोटि आक्रमण गरेका थिए। यसका आधारमा त्यतिन्जेलसम्म यो राखू क्षेत्र पनि जुम्लाको अधीनमा थियो भन्न सकिन्छ। सानो राज्य जुम्लाको करदमा भए पनि एक शक्तिशाली राज्य थियो।
रुइसे दरबारको महŒवमा यहाँका विभिन्न स्थान र पुराताŒिवक भग्नावशेषले त्यो बेलाका थापाहरू राखूमा शक्तिशाली थिए भन्ने देखाउँछन्। किनकि, उनीहरूको नामबाट नै रामकोट राखिएको छ। जुन ठाउँमा राजा वा रैतीले विभिन्न कोट बनाई हातहतियार राखेका थिए, पक्का पनि त्यहाँ राम राजा थिए। राम शक्तिशाली थिए र उनको नाममा नामकरण गरी कोटको नाम पनि रामकोट राखियो।
रुइसे दरबारभन्दा केही तल रौतेला गाँडेको ठाउँ छ। त्यहाँको जग्गाधनीले धूपबत्ति गर्ने चलन छ। त्यहाँ राजाका छोरा मरेपछि गाडिएको हुनाले रौतेले गाँडेको स्थान भनी नामकारण भएको हो। हुन सक्छ, राजाको छोराको नाममा वा सम्झनामा नै यो कोटको नाम रामकोट राखिएको हो। यस्ता इतिहास गर्वमा रहेका छन्। जस्तो राखूमा भएका कोटहरूमा थापाकोट, रामकोट, डडेकोट र भर्लकोट सबै हातहतियार राख्ने स्थान बनाएका थिए। अन्य स्थान धेरै छन्, जसले त्यो राज्य थियो भनी यकिन गर्न सकिन्छ।
राखूमा हाल सिजाल गाउँ छ। यो पक्का पनि जुम्लाको सिन्जाबाट आएर यहाँ बसेका हुनाले यी जातिहरू बसेका ठाउँ भएकाले सिन्जा गाउँबाट सिजाल गाउँ भएको हो। उक्त समयमा थापा राजाका गुरुहरू सुवेदीहरूलाई नै गुरु बनाएका थिए भने काजीहरूमा वा रैतीहरूमा बस्नेत, खडकाहरू राखूमा थिए भन्ने आधार धेरै भेटिन्छन्। जस्तो यहाँ पक्का पनि बस्नेत, खड्काहरू रैती थिए। यिनीहरूको स्थान यस राखूको रुइसे दरबारको राज्यमा ठुलै पद थियो।
पछि राज्य अपदस्थ भएपछि यिनीहरू तितरवितर भएका थिए तर अहिले अन्य जातिको बसोबास र बाहुल्य छ। यिनीहरू कहाँ गए भन्ने प्रश्न चिह्न खडा हुन्छ। यो अझै खोजको विषय हो। इतिहास अध्ययन गर्दै जाँदा भने थापा वंंशजको राज्य पतनपछि त्यो ठाउँ छोडेर थापा, बस्नेत, खडकाहरू कास्की, लमजुङ हुँदै गोर्खा आएका थिए भन्ने इतिहासले पनि प्रस्ट पार्छ।
यता कास्कीको इतिहास र गोर्खाको इतिहासमा यिनीहरूको राम्रै भूमिका पनि देखिन्छ। राखूमा अझै पनि खड्कामारे भन्ने ठाउँ छ। तत्कालीन समयमा यहाँ खड्कालाई मारेको भएर नै खड्कामारे राखिएको हुनसक्छ। यसका आधारमा विश्लेषण गर्दा राखूमा ठुलै लडाइँ भएको अनुमान गर्न सकिन्छ। उक्त समयमा क्षत्री वंशज थापा, बस्नेत तथा खड्काहरूको यस क्षेत्रमा बाक्लै बस्ती र उपस्थिति थियो भन्ने प्रमाण पाइन्छन्।
यसरी खड्का मारिएको ठाउँलाई खड्कामारे भनेझैं बस्नेतहरू वा एक ठुलै पद भएका बस्नेत बस्ने ढुंगा भएकाले बसनगौंडा भन्ने सामाजिक मनोविज्ञान पनि छ। पक्कै पनि चौधौं शताब्दीमा यो ठाउँमा थापा, बस्नेत खड्काहरूसँग यहाँको भूगोलसँग अन्तरसम्बन्ध थियो। यो अझै खोजको विषय हो। थापा वंशजको राज्यपतनपछि तिनीहरू पनि पूर्वतिर सर्दै कास्की, लमजुङ हुँदै गोर्खा आएका हुन्। यसलाई यही वंशजले पनि खोज गर्नुपर्ने आवश्यकता देखिन्छ।
सामाजिक अवस्था
राखू प्रदेशमा धेरै राजाले राज्य गरेको पाइन्छ। लामो समय बगाले थापा वंशजको राज्य भएको थियो। यसलाई राखू प्रदेश पनि भनिन्थ्यो। वि.सं. १८६३ मा रानी सुर्वण प्रभाले यस स्थानमा राखू मुक्तिनाथ गुठी स्थापना गरेकी थिइन्। गुठी स्थापना भएपछि यो क्षेत्रको महिमा फेरि देश विदेशमा चल्न थालेको थियो।
मुक्तिनाथको सदार्वथ गुठी सञ्चालन गर्न यो राखू भूमि एक प्रवित्र भूमि बनेको थियो। पछि २०३२ सालमा गुठी संस्थानमा यसलाई गाभेपछि यस्तो गर्विलो इतिहास गुमनाम भएको छ। राखू राज्यको पतनपछि यहाँ सुवेदी, भण्डारी, कटवाल, कार्की, मल्ल, शाही, रिजाल, रुचाल शाही, चन्द, सेन, सिंहसँगै नेवार, गुरुङ, दमाईं, कामी, सार्की तथा हाल आएर मगरहरूको बस्ती बसेको छ। सबै जातिले समयानुसार आआफ्नो भूमिका निर्वाह गरेका छन्।
सबैको आआफ्नै परम्परालाई यथावत राख्दै विभिन्न चाडपर्व तथा सामाजिक, सांस्कृतिक, धार्मिक परम्परालाई एकापसमा मिलिजुली, सहयोगी भावना राखी आआफ्नो भूमिका निर्वाह गरेका छन्। तर पनि यस्तो इतिहास बोकेको यो रुइसे दरबार नेपालको इतिहासमा गुमनाम छ।
प्रकाशित: २५ आश्विन २०८२ ०९:३५ शनिबार





