कवि युवराज अधिकारी यस्ता कवि हुन्, जो कुनै अब्बल चित्रकारले ध्यानपूर्वक चित्र कोरे जसरी नै कविता कोर्न सक्ने सामथ्र्य राख्छन्। उनी साहित्य र संगीतले समाजको सिंगोे स्वरूपलाई प्रतिनिधित्व गरोस् भन्नेमा सचेत छन्। कुनै वाद वा विचारको बन्धनमा पर्न रुचाउँदैनन् उनी। किनभने, साहित्यले बन्धनरहित भएर मानवताको चहकिलो ज्योति बोकेर व्यथितिविरुद्ध खरो रूपमा प्रतिरोध गर्न सक्नुपर्ने उनको मत छ। उनलाई लाग्छ, कविताको कुनै मानक हुनुहुँदैन। हो पनि, तिनले स्थापित सीमा र घेराहरूलाई भेद गर्न सक्नुपर्छ। यसका निम्ति उनका कविताले आवाज टड्कारो बनाएका पनि छन्।
अधिकारीको कवितासङ्ग्रह ‘युद्ध युद्ध नै हुन्छ’ मा सङ्गृहीत ३३ वटा कविताले मानव जीवनका सर्वाङ्गीण पक्षलाई फरक फरक रङका रूपमा काव्यको फराकिलो क्यानभास रङ्गाएका छन्। उनले आञ्चलिकतालाई कवितामा अत्यन्तै मिहिन र सुन्दर रूपमा सम्प्रेषण गरेका छन्। ‘जिन्दगी यस्तै त हो कान्छा’ कवितामा उनले आफू जन्मिएर हुर्किएको पूर्वी भूगोलको यथार्थलाई काव्यका माध्यमबाट रूपान्तरण गरेका त छन् नै, तिनलाई जीवन्त पनि तुल्याएका छन्। उनी लेख्छन्-
‘कहिलेकाहीं त लाग्छ
पुरानो बिग्रेको मोटरजस्तो
एउटा चक्का पन्चर हुन्छ
टाल्यो काम चलायो
घरीघरी हावा खुस्किन्छ
बनायो फेरि स्लिप खान्छ
स्टेरिङ नै बटारिने गरी
ठोकठाक गरेर दगु¥यायो’
यस कविताले समग्र मानवीय जीवनको यथार्थलाई प्रतिबिम्बित गरेको छ। उनले भोगेको समय नै यस कविताको शक्तिशाली बिम्ब हो। समयकै बिम्बमाथि उनी जादुयी रूपमा काव्य संयोजन गर्न सक्ने क्षमता राख्छन्। उनका अधिकांश कविताले समकालीन विद्रोही भाषा बोलेका छन्। उनी शासकीय बेइमानी र अक्षमताविरुद्ध धारिलो र पेचिलो सुनिन्छन् कवितामा।
खासमा एकजना इमानदार कविको मुलुक अनि समाजप्रतिको दायित्व पनि यही नै हो। कवि अधिकारी मुलुक र माटोप्रति जति इमानदार छन्, त्यो भन्दा बढी उनी वैश्विक–मानवतामाथि दायित्वबोध गर्छन्। उनको स्वाभिमान यति मजबुत छ कि त्यसले सगरमाथा ढलेको हेर्न दिँदैन। उनी मातृभूमिको पीडा महसुस गर्छन् अनि इमान र स्वाभिमानको मसीले लेख्छन् ‘पृथ्वीको संकल्प’ -
‘याद गर,
शक्तिले मदहोस भएकाहरू हो
अज्ञानताको बादल फाट्न
एउटै आँधी काफी छ
एउटै हुरी काफी छ
निःसहाय, असहाय र उत्पीडितहरूको
मनमस्तिष्कमा
देश हराएको बेला
जागरणको देदीप्यमान ज्योति बाल्न
स्वाभिमानको सगरमाथा ढलेको हेर्न नसक्ने
एउटै सपुतको विद्रोह काफी छ’
कवि अधिकारीले यस कवितामार्फत् सिंगो पृथ्वीले नै यतिबेला स्वाभिमानी नेतृत्वको संकट झेलिरहेको र एकजना राष्ट्रभक्त सपुतको आगमनको प्रतीक्षामा मुलुक र मानवजाति रहेको भाव अभिव्यक्त गर्छन्।
‘जिन्दावाद र मुर्दावादको सहरमा कोही आउनेछ’ पनि मजबुत राष्ट्रियताको पक्षमा वकालत गर्ने कविता हो, जसमा कवि अधिकारीले शासकको अदूरदर्शिता र शासकीय नाकामयाबीबाट निःशृत दुष्परिणाम मुलुकले भोग्नुपरेको यथार्थलाई प्रतिबिम्बित गरेका छन्। विदेशी भूमिमा पसिना बगाएर स्वदेश पठाएको रेमिट्यान्समाथि रजगज गर्ने शासक र तिनको राजनीतिक गैरजिम्मेवारपनप्रतिको असन्तोषसमेत अभिव्यक्त गरेका छन् कविले यस कवितामा।
कवि अधिकारीले नेपालीले खाडीमा बगाएको आँसुको रङले कविता लेखेका छन्। तिनको मूल्यको खोजी पनि कवितामार्फत नै गरेका छन्। उनले कवितामा इतिहासलाई दुत्कार्दै संस्कार र सभ्यतालाई लत्याएर हिँडेका आधुनिकताका हिमायतिप्रति पनि धारिलो व्यङ्ग्य गरेका छन्। उनको ‘मान्छे र सत्य’ कविताले मानवीय स्वतन्त्रताको पक्षमा दार्शनिक र काव्यिक पैरवी गरेको छ।
त्यसैगरी ‘मेरो प्रिय फुच्चे’ मानवबाहेकको प्राणी (कुकुर) ले पनि बफादारीमार्फत कसरी पारिवारिक सदस्यको स्थान ग्रहण गर्न सक्छ भनेर कविले देखाएका छन्। यस कविताको भाव उनको यथार्थ र आधिकारिक भाव हो। यो केवल कविको कल्पना मात्रै होइन। त्यसैले पनि यो कविता सिंगो सङ्ग्रहका शक्तिशाली कवितामध्येको एउटा हो।
मानव र अन्य प्राणीबिचको अन्तरसम्बन्धको यथार्थलाई सारभूत रूपमै महसुस र अवलोकन गर्न सकिने यस कविता वास्तविक रूपमै ययार्थ र भावनाको उम्दा ‘पोट्रेट’ हो। आफ्नो पारिवारिक सदस्यसरहको प्रिय कुकुरको मृत्युपश्चात कविले महसुस गरेको पीडा, छटपटी, वेदना, आर्तनाद र आँसुको एकीकृत सँगालो यस कवितालाई जनावर–प्रेम र जनावरहितको पक्षमा कविले गर्ने काव्यिक पैरवीको हकदैया मान्न सकिन्छ। ‘मेरो प्रिय फुच्चे’ कवितामा उनी आफ्नो कोमल भावना अभिव्यक्त गर्छन् -
‘मेरो खुसी, पीडा र आँसु पनि बुझ्ने
तिमीलाई म कसरी पशु भनूँ ?
चाहे दुनियाले तिमीलाई पशु भनोस्,
निःस्वार्थ मायाको प्रतिमूर्ति तिमी
मेरो दुःखको साथी’
सङ्ग्रहको शीर्ष कविता ‘युद्ध युद्ध नै हुन्छ’ अराजक शासकीयताप्रतिको निःस्वार्थ गुनासो हो। हुन त सो गुनासो आम नेपालीको पनि गुनासो हो, जसलाई कविले प्रतिनिधित्व गरिदिएका छन्। आम नेपालीको आवाज बोलिदिएका छन् कविताका हरफमार्फत। त्यसो त यस कविता शक्ति र सत्ताका खेतालालाई राष्ट्रियताप्रति अलिकति भए पनि संवेदनशील बनिदेऊ भन्ने आग्रह पनि हो।
यस कवितासङ्ग्रहमा मूलभूत रूपमा कविको काव्यिक आग्रह समेटिएको छ– मुलुकको उन्नति, शासकीय मजबुतीकरण, सामाजिक–आर्थिक रूपान्तरण र आम जनताको जीवनस्तरको परिवर्तनका निम्ति आग्रह। त्यसैका निम्ति कवि दुखेका छन्, भावुक बनेका छन्। उनी आर्तनाद गरेका छन् अनि आवाज बुलन्द पारेका छन्। यो सङ्ग्रह ‘युद्ध युद्ध नै हुन्छ’ कविको काव्यिक दर्दको आँसुले लेखेको खबरदारीपूर्ण दस्ताबेज हो, जहाँ आम नेपालीको स्वाभिमान र राष्ट्रप्रेमको प्रतिनिधि स्वर मुखरित भएको छ।
प्रकाशित: ३ श्रावण २०८२ ११:०८ शनिबार





