‘शारदा’ मासिक तथा ‘भुँडीपुराण प्रकाशन’ ले गीतकार वीरेन्द्र पाठकको ‘लहरी लहरी’ काे अन्तरक्रिया तथा पहिलो गीतसङ्ग्रह ‘कहीँ घाम कहीँ छाया’ लाेकार्पण गरेकाे छ।
लाेकप्रिय गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा ‘कहीँ घाम कहीँ छाया’ दाेस्राे संस्करणकाे लाेकार्पणकाे साथ गीतकारकाे तेस्रो गीतसङ्ग्रह “लहरी लहरी“ काे अन्तरक्रिया भएकाे हाे।
काठमाडौं पुतलीसडकस्थित ग्रिनलिफ फुडमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र थापा, ‘शारदा’ मासिकका सम्पादक विमल भाैकाजी, गीतकार वीरेन्द्र पाठक, समालाेचक प्रमाेद प्रधान र दिव्य गिरीले कृतिकाे लोकार्पण लाेकार्पण गरेका हुन्।
गीतकार वीरेन्द्र पाठकको पहिलो गीतसङ्ग्रह “कहीँ घाम कहीँ छाया” २०५८ साल असारमा प्रकाशित भएको थियाे। त्यसकै दोस्रा संस्करण भुँडीपुराण प्रकाशन, बागबजारले २०८२ चैतमा प्रकाशन गरेको हो। यसमा पहिलो सङ्ग्रहमा समेटिएको ७१ गीतका साथै २१ नयाँ गीत समेटिएका छन्।
लेखक तथा साहित्यकार प्रमोद प्रधानले गीतसङ्ग्रह “कहीँ घाम कहीँ छाया“ बारे सामीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए। त्यसै गरी गत वर्ष प्रकाशित भएको “लहरी लहरी“ बारे अन्तरक्रिया भएकाे थियाे।
“लहरी लहरी“ गीतसङ्ग्रहमा रहेका कूल गीत १३३ लाई तीन खण्डमा विभाजन गरी तीन जना लेखक तथा साहित्यकारहरू क्रमशः सुमन थापा संगम, मुरारीराज मिश्र र प्राध्यापक साहित्यकार सुधा शर्माबाट अलगअलग समीक्षात्मक टिप्पणीहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा वरिष्ठ गीतकार वीरेन्द्र पाठकले लेखेको एउटा गीत वरिष्ठ गायक तथा गीतकार पाठकका अनन्य मित्र जुजुकाजी रञ्जितले गाएका थिए।
शारदा मासिकका सम्पादक तथा लेखक एवम् दुवै गीतसङ्ग्रहका सम्पादक विमल भौकाजीले स्रष्टाका परिचय गराएका थिए भने गीतकार वीरेन्द्र पाठकले लेखकीय मन्तव्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि राजेन्द्र थापाले गीत लेखनका अनेकौँ आयामलाई संक्षिप्त रूपमा प्रस्तुत गर्नुका साथै समीक्षक तथा विशेष अतिथिहरूलाई उपहार प्रदान गरिएकाे थियाे।
साहित्यकार दिव्य गिरीले सञ्चालन गरेकाे उक्त कार्यक्रम रवि प्राञ्जल, राजु सिंह, भूषण खरेल, बीबी थापा, सन्तोष श्रेष्ठ, वसन्त वित्यासी थापा, डीआर राई तथा साहित्यकारहरू भागीरथी श्रेष्ठ, कृष्ण प्रसाई, राधेश्याम लेकाली, शरद प्रधान, प्रमोद स्नेही, विनोद नेपाल, दीपक लोहनी, छविरमण सिलवाल, प्रतीक घिमिरे, इन्दिरा चापागाई, ईश्वर पोखरेल, भानु प्रकाश, राजेन्द्र वाग्ले, राज रजक, जीवन श्रेष्ठ लगायत गीतकार पाठकका पारिवारिक सदस्यहरूउपस्थिति भएको थियाे।
उक्त कार्यक्रममा भुँडीपुराण प्रकाशनका प्रकाशक केशव पराजुलीले सबैलाई धन्यवाद दिँदै सभा समापन गरेका थिए।
प्रकाशित: १५ चैत्र २०८२ ०९:४६ आइतबार





