‘तौल कति छ?’ चाहिने जति छ साप। घटबढ छैन्।
‘त्यसो भे अगा पठाइदे।’ छनोटमा सहभागी भएकाहरूको टिपोट लिइरहेका डिएसपी सापले भने।
वास्तवमा थोरै तौल पुगेको थिएन्। त्यो हवल्दारले किन यस्तो भन्यो? अरूको छिस्रिक्क दाग देखे जंगिने डिएसपीको आँखामा केले छल्यो?
दौडमा पनि यस्तै भयो। सँगै दौडेको साथी एक कदम अगाडि बढेको थियो। नाम एक कदम पछाडिकै चढ्यो। बिचरा साथी खिस्रिक्क भयो। फौजीमा ‘जाऊँ न यार’ भन्दै ऊ दिनरात भन्थ्यो। जसको लहैलहैमा लागियो उसकै नाम निस्किएन।
अन्तर्वातामा जाने अघिलो दिनको कुरा हो। साथी गाउँ गएको थियो। उसको पनि जिम्मेवारी लिएर मार्केटिङमा जानुपर्ने भयो। काम गरेको कारखानाबाट बजार निस्कने दुई केटा मात्र थिए। अनि बिदा के मिल्नु? कोठामा आइपुग्दा झमक्कै भएको थियो। खाना खान मन थिएन्। टाउको पखाल्ने र फ्रेस हुन मन लाग्यो। मिठो कफी पिउने। धुमधडाक केही किताब हेर्ने सोच पलायो। दोस्रो पटक यस्तो मन भएको हो। पहिलो पटक यस्तो हुँदा ऊ एसएलसीको तयारी गर्थ्याे। त्यसपछि किताब हेर्ने फुर्सद भए पो पलाउनु?
‘पुलिस क्याप्सुल’ नामको किताब हो पढ्नुपर्ने तर त्यसलाई देख्नासाथ केही पनि दिमागमा घुस्ला जस्तो भएन्। ‘अन्तरर्वामा पास गर्न पैसा ठिक पार्नुपर्छ। नेताको ‘पावर’ चाहिन्छ अनि मात्र भइन्छ।’
कुन्नि कोकोले हो यसो भनेको कुराले मनमनै चिरवीर गर्न थाले। साँझ बढ्दै गएपछि बाँसको झ्याङमा बास बस्न लागेका सारौटेको आवाजझैँ झनझन खैलाबैला बढ्यो।
‘ओई रमेश के गर्दै छस? किताब हेर्दै छस् कि छैनस्?’ सँगै दौडमा भाग लिएर पास नभएको साथी रहेछ। उसले गरेको फोनमा रमेशले यसो भन्यो। ‘पढ् यार पढ्। तैले नाम निकाल्छस्। भाग्यमा लेखेको रैछ भने भुतले पनि तँलाई सहयोग गर्न तयार हुन्छ। भगवानले त ‘तँ गर म पुर्याउँछु’ भनेकै छन्। राति अबेरसम्म उसले यस्तै कुराले आत्मबल दिइरह्यो। जीवनमा संयोगले मात्र यस्ता साथीहरू भेटेन्छन्। कहिलेकाहीँ ढुंगो खाेज्दा देउता मिल्छ।
रमेशले आफ्नो ममीलाई राम्रोसँग देख्नै पाएन्। ऊ जब जन्मियो तब ममी रहिनन्। नयाँ सन्तानसहित सुत्केरी श्रीमतीलाई घर फर्काउने सोचका साथ ममीलाई हस्पिटल पुर्याए बुबाले। नयाँ सन्तान त लिएर घर आए तर श्रीमती फर्काउन नसक्दाको दुःखले बुबा तिन महिना थलिए।
‘ममी किन हस्पिटलबाट नआएको बुवा?’ पाँच वर्ष जेठी दिदी सानु भाइतिर हेर्दै सोध्थी। बुवा बेऊत्तर हुन्थे। विरामी ज्यान र साना छोराछोरीलाई तिनले धन्न धाने।
बुबाले छोराछोरीलाई सँगै विद्यालयमा भर्ना गरिदिए। सँगै ९ कक्षासम्म पढाए। ९ कक्षाको अन्तिम रिजल्ट आइसकेको थियो। बुबाको शरीर एक्कासी कालो हुँदै गयो। मान्छेहरू उनलाई कालो जन्डिस भएको भन्थे। ज्वरोले थलिएका उनी ओछ्यानमा परे। दुई दिदीभाइले ओछ्यानमै थला भएका बुबालाई केही महिना स्याहारे। त्यसपछि बुबालाई दैवले लग्यो। उनीहरू एक्लो भए।
दुई जनाको दुःख देखेको मैले स्थानीय पत्रिकामा उनीहरूकाे अवस्थाबारे समाचार लेखेको थिएँ। सोच्थे उनीहरूको सहाराविहीन जिन्दगीलाई कसैले सहयोग गर्ने छ। भविष्य बनाइदिने छ। पत्रकारिता गर्दाको त्यो सुरुसुरुको मेरो प्रयत्न सम्झिएर आज दिक्क लाग्छ। किनकि उनीहरूलाई कसैले सहयोग गरेन। दिदी पनि एसएलसी दिँदादिँदै बिहे गरेर अन्तै गई। रमेशको आफ्नो भन्ने कोही रहेनन्। उसले जिन्दगीका तमाम यात्रा एक्लै गर्नुपर्ने भयो। ‘दाइ केही सामान्य ज्ञानका प्रश्नहरू छन्। तपाईलाई उत्तरहरू थाहा छ कि?’ बिहान झिसमिसमै फोन गरेर उसले सोध्यो। आर्मी पुलिसमा लाग्न लागिस कि कै ? मैले सोधेँ। ‘हैन दाइ। त्यत्तिकै हो। त्यही मार्केटिङको काम गर्दै छु। पछि गाडी चलाउन सिक्ने सोच छ? उसले यसो भनेर ढाँट्यो। ऊ आफ्ना कुराहरू अरूलाई त्यति भन्न खोज्दैन थियो। कहिलेकाहीँ उसलाई फोन गरेर केही समस्या छ कि भनेर सोधेँ भने ‘केही छैन दाइ’ भनेर टार्थ्याे। थाहा भएको केही प्रश्नको उत्तर दिएँ। बाँकी ऊसैले अनलाइनतिर खोजेछ। अन्तमा भने उसले ढाँटेन। ‘आर्मी बन्न जाँदै छु। आज अन्तरर्वाता छ। सात बजे ब्यारेक छिर्नु छ।’ भनेर फोन राखिदियो ।
एक वर्षसम्म त्यसपछि उसँग सम्पर्कमा आएन्। नाम निस्कियो निस्किएन? के गर्दै छ? थाहापत्तो भएन्। घरको आँगनमा घाँस उम्रिएको थियो। ढोकामा ताला लगाइएको थियो। खोपामा गएर कान ठाडो पारेर सुन्ने हो भने भित्र मुसाको निकै ठूलो चाईचाईचुईचुई सुनिन्थ्यो। लाग्थ्यो त्यहाँ दिनहुँ संसद बैठक हुन्छ। नेताहरू दिक्कलाग्दो हल्ला पिटिरहेका हुन्छन्।
‘दाइ घरतिर सञ्चै छ?’ एक वर्षपछि नयाँ नम्बरबाट अचानक उसैले फोन गरेर सोध्यो। ‘एक वर्षसम्म कता हराइस्?’ खुसी हुँदै पहिलो प्रश्न हत्तपत्त गरेँ। ऊ भेटनै आयो।
‘साथीले भनेझैँ भुतले काम गर्यो दाइ। भगवानले धेरै ठगेको देखेपछि भुत सहयोग गर्न आइपुग्दो रहेछ। अरूलाई छलेर भए पनि सफलता दिँदो रहेछ। दौडदेखि अन्तर्वार्तासम्म नपत्याउने तालले मेरो नाम कसरी निस्कियो? मलाई नै विश्वास छैन्। नत्र ती सबै जना त्यसरी किन झुक्किए? अन्तर्वाताको बेलामा पनि म धेरैजसो मौखिक उत्तर दिएर फर्किएकाे थिएँ। ज्यान पनि लुरे थियो। हट्टाकट्टा थिएन्। अन्तमा नाम निस्किएछ। एक वर्षसम्मको तालिम सक्काएँ।’ उसले भन्यो। तालिममा सफल हुँदा पाएको तक्मा पनि देखायो। तक्मा देखेपछि त्यो उसले हैन म आफैँले हासिल गरेझैँ भान भयो।
गाउँले बुबालाई ‘एक्ले’ भनेर हेप्थे। ऊ एक्लो वीर भएर घर आयो। देशको रक्षार्थ लड्ने जवान भएर आयो। बुबाले आफ्नो जीवनका लागि आफैँ लड्नुपर्छ। आफ्नै पसिनाले सफलताको सिखरमा पुग्नुपछ भन्ने जीवन शुत्र सिकाएका थिए। त्यही आडमा उभिएर ऊ ‘अरूले सलाम गर्ने मान्छ’ बन्यो। अरुको भरमा हिँडनेहरू आफ्ना लागि केही गर्न सक्दैनन्। आफ्ना लागि आफै लडन तयार हुनेहरू एक्लो वीर बन्छन्।
प्रकाशित: १२ वैशाख २०८३ १०:३७ शनिबार





