२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

मपाइँत्वको जात्रा: मानवताको ओरालो यात्रा

व्यङ्ग्य

मानव सभ्यताको रथ आज प्रगतिको अत्याधुनिक ‘हाइवे’मा निकै वेगले कुदिरहेको छ। भौतिक विकासले सगरमाथाको उचाइ छोएको र प्राविधिक उपलब्धिले ब्रह्माण्डकै ढोका ढकढक्याएको देख्दा लाग्छ - मानिस त वास्तवमै ‘सर्वशक्तिमान’ भएछ। अन्तरिक्ष यात्रासम्मको वैज्ञानिक प्रविधिदेखि लिएर आर्टिफिसियल इन्टेलिजेन्ससम्मको उपलब्धि पक्कै पनि लोभलाग्दो छ। तर, यो बाहिरी चमकधमकको रंगीन पर्दा उघारेर हेर्ने हो भने भित्र एउटा गहिरो, तितो र दुर्गन्धित यथार्थ लुकेको छ। त्यो हो– मानव मनमा क्यान्सरझैं फैलिएको ‘अहम्ता’ वा ‘म र मेरो’ भन्ने सङ्कुचित सुरुङ। आज संसार जुन द्वन्द्वको डढेलो, अशान्तिको आँधी र दुःखको दलदलमा फसेको छ, त्यसको जड कुनै अदृश्य दैवी शक्ति, ग्रहदशा वा बाह्य शत्रु नभएर मानिसभित्रै हुर्किएको ‘म मात्रै जान्ने, अरू सबै मान्ने’ भन्ने अहंकारी मनोविज्ञान नै हो। यही मपाइँत्वको तुवाँलोले विवेकको आँखा छोपिदिँदा यो सुन्दर धर्ती दिनानुदिन कुरूप र संवेदनाहीन बन्दै गइरहेको छ।

हाम्रो जीवन त्रुटिपूर्ण ‘स्वत्व’को जगमा उभिएको छ। बाल्यावस्थामा ‘कखरा’ चिन्न थाल्दादेखि नै हामीलाई ‘राम्रो म’ को पाठ कण्ठ गराइन्छ। विद्यालयको पहिलो दिनदेखि नै बालकलाई ‘तिमी अरूभन्दा उत्कृष्ट हुनुपर्छ’ भनेर प्रतिस्पर्धाको विषालु सुई लगाइन्छ। बिस्तारै ‘म’को यो सानो विन्दुबाट ‘मेरो घर’, ‘मेरो जात’, ‘मेरो धर्म’ र ‘मेरो संस्कृति’को एउटा अभेद्य किल्ला निर्माण हुन्छ। अपनत्वको यो चास्नी सुन्दा जति गुलियो लाग्छ, यसमा जब अहम्ताको विष मिसिन्छ, तब यसले समाजमा विभाजनको गहिरो खाडल खन्न थाल्छ। मानिसले आफ्नो विचारलाई ‘ब्रह्मवाक्य’ र अरूको तर्कलाई ‘बकवास’ देख्न थाल्छ। ‘म राम्रो छु, त्यसैले मैले गर्ने अपराध पनि शिष्टाचार हो तर अरू सबै नराम्रा भएकाले तिनले गर्ने सदाचार पनि व्यापार हो’ भन्ने भ्रमको खेतीले गर्दा मानिस यतिसम्म अन्धो बनेको छ कि ऊ आफ्ना भयानक गल्तीहरूलाई पनि कुतर्कको जलप लगाएर सुकीर्तिका रूपमा चम्काउन खोज्छ। यो आत्मरतिमा रमेको मान्छेले कहिल्यै ऐना हेर्ने साहस गर्दैन, कहिल्यै आफ्नो कमजोरी स्विकार्ने सोचाइमा पर्दैन।

अहम्ताको सबैभन्दा डरलाग्दो रूप तब प्रकट हुन्छ, जब मान्छेले अरूको ‘नम्बरी सुन’मा पनि खोट देख्न थाल्छ। अरूले गरेको पवित्र सहयोगमा पनि चोट देख्न थाल्छ। आफ्नो दुर्गन्धित विचारलाई सुगन्धित धूप देखाउने र अरूको सुगन्धित कर्मलाई हिलो छ्याप्ने यो ‘दोहोरो मापदण्ड’ नै आजको विश्वको सबैभन्दा ठुलो मानसिक सरुवा रोग हो। जब मानिसले आफ्नो अहम्ताको भोक मेटाउन अरूको सत्कर्मको अवमूल्यन गर्छ, तब समाजमा ईष्र्याको बिउ उम्रिन्छ, द्वेषको पालुवा पलाउँछ र वैमनस्यको वृक्ष ठडिन्छ। यही वृक्षले अन्ततः सामाजिक कलह, साम्प्रदायिक दंगा र राजनीतिक अशान्तिको बिषालु फल दिने गर्छ। हामी यस्तो समयमा छौं, जहाँ मान्छेले अरूको प्रगति सहनुभन्दा आफ्नै दुर्गति स्वीकार्न तयार छ, तर आफ्नो ‘इगो’मा अलिकति पनि आँच आउन दिँदैन। यो मानसिक दरिद्रता नै आजको सभ्यताको सबैभन्दा ठुलो पराजय हो।

धर्म र संस्कृतिको नाममा हुने कलहलाई नियाल्ने हो भने त्यहाँ पनि ‘म र मेरो’को दम्भ नै प्रमुख पात्र बनेर उभिएको देखिन्छ। वास्तवमा धर्मले मानिसलाई विनम्र, उदार र करुणावान् बनाउनुपर्ने हो। धर्मको अर्थ त धारण गर्नु हो– प्रेमलाई, सत्यलाई र मानवतालाई। तर, जब मानिसले ‘मेरो भगवान् मात्रै सक्कली, अरूका त नक्कली’ भन्दै दम्भको ढोल पिट्न थाल्छ, तब धर्म नै विनाशको ‘डोजर’ बन्न पुग्छ। इतिहासका पानाहरू यस्ता रक्तपातपूर्ण युद्धले लतपतिएका छन्, जुन केवल आफ्नो विचारको श्रेष्ठता देखाउने ‘इगो’को लडाइँ थियो। आफ्नो संस्कृतिलाई प्रेम गर्नु गौरवको कुरा हो, तर त्यसैको आडमा अरूको संस्कारलाई ‘कसिंगर’ देख्नु अहम्ताको पराकाष्ठा हो। संसारका कतिपय दिव्य सभ्यताहरू कुनै प्राकृतिक प्रलयले होइन, ‘म नै श्रेष्ठ’ भन्ने सङ्कुचित सोचको डढेलोमा परेर खरानी भएका छन्। आज पनि कतिपय मन्दिर, मस्जिद र गुम्बाहरू प्रेमका केन्द्र हुनुपर्नेमा मानसिक अहंकारका अखडा बनिरहेका छन्, जुन मानवताका लागि लज्जाको विषय हो।

हाम्रो शिक्षा प्रणालीले मानिसलाई साक्षर त बनायो, तर वास्तविक अर्थमा ‘शिक्षित’ र ‘दीक्षित’ बनाउन सकेन। आधुनिक शिक्षाले सहकार्यको साटो प्रतिस्पर्धाको यस्तो घोडा दौडमा मानिसलाई सामेल गराइदियो कि मानिसले सहानुभूति भन्ने शब्द नै बिर्सियो। ‘तिमी अरूभन्दा अगाडि बढ्नुपर्छ’ भन्ने दबाबले गर्दा आजको बालकले आफ्नो साथीलाई मित्र होइन, एउटा प्रतिद्वन्द्वी वा बाटोको तगारोको रूपमा देख्न थालेको छ। यो प्रतिस्पर्धाको अन्तहीन दौडले उसलाई पद, प्रतिष्ठा र पैसाको शिखरमा त पु¥याउला तर प्रेम र करुणाको अभावमा उसको हृदय एउटा सुक्खा मरुभूमिमा परिणत भइरहेको छ। ‘क, ख’ पढ्दादेखि नै सिकाएको ‘राम्रो म’ को पाठले हामीलाई कहिल्यै ‘हामी’ बन्न सिकाएन। हामीले सूचनाको थुप्रो त जम्मा गर्‍यौं तर ज्ञानको दियो बाल्न बिर्सियौं। डिग्रीका कागजातहरू त थुप्रिए तर चरित्रका पानाहरू खाली नै रहे। त्यसैले त आजका ‘उच्च शिक्षित’ भनिएकाहरू नै अहंकारको सबैभन्दा ठुलो भारी बोकेर हिँडिरहेका देखिन्छन्।

पारिवारिक र सामाजिक संरचनामा पनि अहम्ताको विषालु प्रभाव प्रस्टै देखिन्छ। आजका धेरैजसो पारिवारिक कलह र विखण्डनहरू ‘पेट’को अभावले होइन, ‘इगो’को स्वभावले गर्दा उब्जिएका छन्। एउटै भान्सामा खाने र एउटै छानोमुनि बस्नेहरूबिच पनि ‘मैले भनेको हुनुपर्छ’ भन्ने जिद्दीको अदृश्य पर्खाल ठडिएको छ। मानिस आफ्नो गल्ती स्वीकार गर्न तयार छैन किनकि उसलाई लाग्छ कि झुक्नु भनेको पराजित हुनु हो। तर वास्तवमा, फल लागेको हाँगो र विवेक भएको मान्छे नै झुक्न सक्छ। अहम्ताले मानिसलाई यति कडा र ढुंगाजस्तो बनाइदिन्छ कि ऊ अरूको भावनाको ऐना नै देख्न सक्दैन। संवेदनाको सट्टा ‘स्मार्टनेस’को खोजीमा लागेको मान्छे आज भिडमा त छ तर प्रत्येक व्यक्ति आफ्नो अहम्ताको ‘एक्लो टापु’मा कैद छ। बाहिर मुस्कान छ तर भित्र मपाइँत्वको ज्वालामुखी दन्किरहेको छ।

प्राकृतिक सन्तुलन बिग्रनुमा पनि मानवीय अहम्ताकै हात छ। ‘प्रकृति मेरो उपभोगको साधन हो र म यसको मालिक हुँ’ भन्ने दम्भले मानिसले पृथ्वीको छातीमा निर्दयी ढंगले जथाभावी गर्‍यो। आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने मानिसले अन्य जीवजन्तु र वनस्पतिको अस्तित्वलाई गौण ठान्यो। पहाड फोर्नु, जंगल सखाप पार्नु र नदीलाई ढल बनाउनुलाई हामीले ‘विकास’ को नाम दियौं तर आज जुन वातावरणीय संकट आइलागेको छ, त्यो मानिसको यही ‘म र मेरो’ भन्ने लोभी प्रवृत्तिको ‘रिटर्न गिफ्ट’ हो। हामीले बिर्सियौं कि हामी प्रकृतिका अंश हौं, यसका शासक होइनौं। जब एउटा सानो अंशले आफूलाई सिंगो ब्रह्माण्डभन्दा ठुलो ठान्न थाल्छ, तब विनाशको साइरन बज्नु स्वाभाविक हो। प्रकृतिले आज हामीलाई चेतावनी दिइरहेको छ तर हाम्रो अहंकारको कान यति बहिरा छन् कि हामी विनाशको गर्जनलाई पनि विकासकै संगीत ठानेर रमाइरहेका छौं।

संसार दुःखमय हुनुको अर्को कारण भनेको मानिसको आत्मकेन्द्रित प्रवृत्ति हो। हामी संसार सुधार्ने, समाज बदल्ने र देश बनाउने ठुला–ठुला गफ त हाँक्छौं तर आफू सुध्रिने कष्ट कहिल्यै गर्दैनौं। हामी अरूको आँखाको सानो कसिंगर निकाल्न त तम्सिन्छौं तर आफ्नै आँखाभित्रको धुलो देख्दैनौं। ‘यो संसार बिग्रिएको छ’ भनिरहँदा हामीले बिर्सिरहेका हुन्छौं कि यो संसार त हामीजस्तै मानिसहरूकै प्रतिविम्ब हो। यदि प्रत्येक व्यक्तिले आफूभित्रको अहम्ताको सिंहासन त्यागेर अलिकति मात्र उदारताको भुइँमा टेक्ने हो भने संसार रातारात बदलिनेछ। तर समस्या यहीं छ कि हामी आफ्नो अहम्ताको ‘काँडे मुकुट’ छोड्न तयार छैनौं। हामीलाई लाग्छ कि अरू बदलिएपछि म बदलिन्छु तर यथार्थमा हामी बदलिएपछि मात्र हाम्रो संसार बदलिने हो।

वास्तविक सुख र शान्ति अहम्ताको अन्त्यमा मात्र सम्भव छ। जब मानिसले ‘म’को विसर्जन गरेर ‘हामी’को आगमनलाई स्वागत गर्छ, तब मात्र प्रेमको ढोका खुल्छ। ‘म राम्रो’ हुनु भनेको अरूलाई होच्याउनु होइन, बरु आफूलाई असल र उपयोगी बनाउनु हो। संसारका महान् दार्शनिक र सन्तहरूले सधैं विनम्रतालाई नै सबैभन्दा ठुलो आभूषण मानेका छन्। अहम्ता एउटा यस्तो झुटो पर्खाल हो, जसले हामीलाई वास्तविक सत्य देख्न दिँदैन। यो पर्खाललाई भत्काउनका लागि सही बुझाइ, निरन्तर अभ्यास र गहिरो आत्मचिन्तनको खाँचो छ। जबसम्म हामी अरूको सफलतामा रमाउन र आफ्ना कमजोरीमा लज्जित हुन सक्दैनौं, तबसम्म हाम्रो सभ्यता केवल प्राविधिक हुनेछ, मानवीय हुने छैन।

अन्ततः यो संसार दुःखमय हुनुमा कुनै बाह्य शक्ति, भाग्य वा विधिको विधानको दोष छैन। यो त केवल हाम्रो गलत सिकाइ, त्रुटिपूर्ण बुझाइ र चरम मपाइँत्वको प्रतिफल हो। ‘म र मेरो’को सङ्कुचित परिधिबाट बाहिर निस्किएर सम्पूर्ण विश्वलाई एउटै परिवारको रूपमा हेर्न सक्ने ‘वसुधैव कुटुम्बकम्’को दृष्टिको विकास नभएसम्म शान्ति सम्भव छैन। आफ्ना गल्तीहरूलाई ‘कला र बल’ देख्ने र अरूको असल कामलाई ‘कपट र छल’ देख्ने दृष्टिदोषलाई नहटाएसम्म संसार सधैं बिग्रिएको नै देखिनेछ। अहम्तालाई त्यागेर करुणा, क्षमा र सहअस्तित्वको मार्गमा हिँड्नु नै यो दुःखमय संसारका लागि एक मात्र कल्याणकारी सञ्जीवनी हो। मानिसले जति छिटो यो यथार्थलाई बुझ्छ, त्यति नै छिटो यो धर्ती स्वर्ग समान बन्नेछ। अहंकारको यो भारी बिसाएर हेरौं, जीवन र जगत् कति सुन्दर छ भन्ने कुराको महसुस स्वतः हुनेछ।

प्रकाशित: ६ असार २०८३ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App