पहाडको गाँउमा सीमा जन्मिइन् र त्यहीं यौवना भइन्। त्यस गाउँमा बस्ने पुरुष कोही पनि उनले गतिलो देखिनन्। पुरुष प्रायः रक्सी खाने तास–जुवा खेल्ने। खेतीपाती, गाइभैंसी र घरको कामकाज सबै महिलाको टाउकोमा मात्र थोपरिएको थियो। त्यहाँका पुरुष भनाउँदाहरू आफू केही पनि नगर्ने, उल्टै श्रीमतीसँग झैझगडा गरी कुट्ने पनि गर्थे। त्यस गाउँका पुरुषहरूलाई कुनै कुराको लाज थिएन।
उमेर हुँदै जाँदा बिस्तारै गाँउका यी कुरा सीमाले बुझ्न थालिन्। सीमाको घरको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन। राम्रो होस् पनि कसरी? बाबुको चाला पनि अरू गाउँका पुरुषका जस्तै थियो। बाबु सधैंझै घरमा रक्सी खाएर झैझगडा–कुटपिट गर्थे। त्यसमाथि उनकी आमा र उनले घरका सबै काम गर्नुपर्थ्याे। पहाडको काम कठिन थियो। उनलाई घरमा बस्न मन लाग्नै छोड्यो। उमेर बढ्दै गएपछि रङ्गीन चाहनाहरूको कल्पना पनि आउन थाल्यो। त्यही चाहना पूरा गर्न एकदिन उनी सहर पसिन्।
सहर उनको कल्पना जस्तो थिएन। सहरमा बाँच्न सजिलो थिएन। उनका सङ्घर्षका दिन सुरु भए। कहिले के काम त कहिले के काम, कुरा गरेर साध्य थिएन। उनले गरेका काममा न त आत्मसन्तुष्टि न त पैसा नै थियो। खाली घोटिनुसिवाय केही पनि थिएन। कामकै सिलसिलामा एकदिन सीमाको एउटा पट्ठो केटोसित भेट भयो। केटो निकै आकर्षक थियो। चुम्बकले ताने जसरी पट्ठोले सीमाको मन खिच्यो। सीमा मोहजालमा परिन्, ऊबिना बाँच्नै नसक्ने भइन्। पट्ठो पनि सुन्दरीको रूप, लावण्य र मायामा लट्ठु भयो।
पट्ठोको नाम थियो दाबा। दिन प्रतिदिन सीमा र दाबाको प्रेम झाँगिदै गयो। दुवै शारीरिक परिश्रम गरेर जीविकोपार्जन गर्ने प्राणी थिए। बारम्बार भेट त हुने नै गर्थ्याे। पछि त सीमाको कोठामा दाबा र दाबाको कोठामा सीमा जान थाले । यसरी उनीहरू आपसमा निकै नजिक हुन थाले।
एकदिन दाबाले मन्दिरमा सीमालाई लगेर उसको सिउँदोमा सिन्दूर भरिदियो। त्यसपछि सीमाको डेरा परिवर्तन भयो। सीमा आफ्नो मायालु श्रीमान्को डेरामा सरिन्। उनीहरूबिच प्रेम झाँगिन थाल्यो तर यो कुरा सीमाको घरपरिवारलाई भने थाहा थिएन। केही समयसम्म सीमाले घरपरिवारलाई यो कुरा लुकाएर राख्न सफल भइन्। तर यो कुरा धेरै समयसम्म लुक्न सकेन। कसैले गएर गाउँमा रहेकी सीमाकी आमालाई यो कुरा भनिदियो। उनकी आमा यो कुराले छटपटाइन्। तर उनी केही गर्ने परिस्थितिमा थिइनन्। आमाको मन कस्तासँग छोरी गइन् भनेर मनमनै पिरोलिइन्। यो कुरा कसैलाई पनि भन्न सकिनन्। सीमाका बाबुलाई भनौं भने झन् रक्सी खाएर बहुलाउलान् भन्ने ठानेर उनी चुपचाप नै बसिन्।
समयको अन्तरालसँगै सीमा दोजिया भइन्। दाबा सन्तान प्राप्त हुन लागेकोमा खुसी भयो। सीमाको गर्भबाट नवजात शिशुको जन्म भयो। उनीहरूले धेरै छलफलपछि आमाको नाम सीमाबाट ‘शि’ र बाबुको नाम दाबाबाट ‘बा’ मिलाएर छोरीको नाम ‘शिवा’ राखे। शिबा दिन प्रतिदिन बिस्तारै ठुली हुँदै थिई। केही समयपछि दाबा श्रीमतीको सल्लाहबमोजिम विदेशमा पैसा कमाउनका लागि उनीहरूलाई छोडी हिँड्यो।
सीमालाई दाबा हिँडेपछि नरमाइलो र न्यास्रो लाग्न थाल्यो। तर के गर्ने, पैसा कमाउन उनले खसमलाई नजाऊ पनि भन्न सकिनन्। यहाँ बसेर पनि गुजारा गर्न गाह्रो थियो। आफू र छोरीको भविष्यका लागि पनि यो काम सीमालाई उचित नै लाग्यो। केही वर्षपछि धन कमाएर दाबा आइहाल्छ नि भनेर उनले मन बुझाइन्।
बिस्तारै छोरी बढ्दै गइन्। विदेशमा रहेका बाबुलाई कहिलेकाहीं शिवाले मोबाइलमा देखेकी थिइन्। बाबु उनीसँग कुरा गर्न चाहन्थे तर शिवा बाबुसँग लजाउँथिन्। तर आमासँग भने बाबुबारे विभिन्न कुरा सोधिराख्थिन्। ‘बाबा, यहाँ कहिले आउने बाबालाई आउनुस् भन्नुस् न’ भनेर आमालाई पिरोलिरहन्थिन्। सीमा भने शिवालाई यसो भन्ने गर्थिन्, ‘तँ आफैं भन् न, बाबासँग भन्न लजाउने, बाबा भने छोरीसँग कति कुरा गर्न खोज्नुहुन्छ। यो भने लाटी जस्ती भएर बस्छे।’
समयसँगै छोरी बिस्तारै बढ्दै गई। एकदिन परदेसिएको दाबा घर फर्कियो। दाबा त घर फर्कियो तर पहिलेको जस्तो दाबा थिएन। माया गर्ने श्रीमानमा अनौठो परिवर्तन आएको सीमाले अनुभव गरिन्। दाबा बिहान खाना खाएर हिँड्थ्यो, घर रक्सी पिएर फर्किन्थ्यो। दिनभरि कहाँ जान्थ्यो, के गर्थ्याे केही अत्तोपत्तो थिएन। विदेशबाट ल्याएको धन पनि यसरी नै उडाइरहेको थियो। बिस्तारै सीमालाई कुटपिट पनि गर्न थाल्यो। यो कुरा सीमालाई पटक्कै मन परेन। उनको त्यस्तो ब्यहोराबाट आजित भइसकेकी थिइन् उनी।
सीमाले श्रीमान्लाई धेरै सम्झाइन्। डाक्टर, धामीझाँक्री सबैतिर देखाउन पनि लगिन्। तर उनको केही सिप लागेन। जे गरे पनि दाबा सुध्रिएन। छोरी शिवा पनि बाबुसँग निकै डराउँथिन्। अब उनलाई पनि बाबु नभएको बखत नै आनन्द थियो भन्ने लाग्न थालेको थियो। सीमा कस्तो कर्म लिएर जन्मेछु, बाबु जस्ता थिए, श्रीमान् पनि त्यस्तै भए भनेर पिर गर्थिन्। दाबाले सीमालाई अति नै दुःख दिन थाल्यो। प्रायः ऊ सीमासँग अनेक थरी निहुँ खोजी झगडा मात्र गर्थ्याे। सीमालाई दाबा उनीसँग नबसिदिए पनि हुने झैं लाग्न थाल्यो । अन्त्यमा उनी आजित भई दाबालाई छोडी अन्तै जाने विचार गर्न थालिन्।
एक रात दाबाले रक्सी खाएको सुरमा सीमा र शिवालाई लछारपछार गर्दै थियो। त्यति नै खेर त्यो कलह सुनेर घरबेटी र वरिपरिका मानिस आई दावालाई सम्झाउन थाले। त्यही रात उनीहरूबिच ठुलो झगडा पर्यो। अन्त्यमा दाबा राति नै घरबाट निस्कियो। सीमालाई पनि कुचाले बढार्ने कसिङ्गर हावाले उडाएर लगेझैं आनन्द भयो।
कैयौं वर्षसम्म पनि दाबाको अत्तोपत्तो भएन। त्यो दिनबाट आमाछोरी दुवैलाई सन्चो भयो। सीमा र शिवाको दिन पनि शान्तसँग बित्न थाल्यो। शिवा पनि अलि ठुली भइसकेकी थिई। कहिले कहिले बाबुको सम्झना उनमा आउँथ्यो। आएर के गर्ने त? उनका बाबु नै खराब भएको उनी ठान्थिन्। त्यसरी नै सीमालाई पनि दाबाको कल्पना आउने गर्थ्याे। उनी पनि दाबालाई बिर्सन खोज्थिन्। उनीहरूको जीवन शान्त त थियो तर कहिले दाबाको सम्झना त कहिले घृणा, यसरी नै जीवन बित्दै थियो।
एकदिन शिवा कोठामा एक्लै बसिरहेकी थिइन्। उनकी आमा सीमा कामका लागि बाहिर गएकी थिइन्। धेरै वर्षपछि एक्कासी उनी बसिरहेको कोठामा उनका बेपत्ता भएका बाबु दाबा देखियो। उसलाई हिँड्न पनि गाह्रो भएको देखिन्थ्यो। उनले अशक्त बुबा आएको देखेर ओछ्यानमा लगेर राखिन्। उनलाई बाबुको माया लागेर आयो। गिलासमा पानी ल्याएर दिइन्। ऊ डुङडुङ गनाइरहेको थियो। लुगा पनि फोहोर न फोहर। दाबा रोगाएर केही गर्न नसकेपछि त्यहाँ शरणमा आएको थियो। उसको कलेजो रक्सीले बिगारिसकेको थियो। उसको हात, गोडा र मुख पूरै पहेँलपुर थियो। सायद उसलाई जन्डिस नै भएजस्तो देखिन्थ्यो।
त्यहीबखत सीमा आफ्नो कोठामा पसिन्। उनले कोठामा गनाइरहेको दाबालाई देखिन्। उनले एक्कासि ‘यसलाई कसले भित्र राख्यो?’ भनेर शिवातिर ठुलो आँखाले हेरिन्। शिवा केही पनि बोल्न सकिन। ‘रोगाएर मर्ने बेलामा श्रीमतीकहाँ आउने। मकहाँ आउन लाज पनि नलाग्ने ? जहाँबाट आएको हो, त्यहीं जाने। म यहाँ राख्न सक्दिनँ’ भनेर कोठाबाट बाहिर निकालिदिइन्। त्यसपछि लरखराउँदै ऊ बाहिर गयो। कहाँ गयो पत्तो भएन।
केही दिनपछि सीमा र शिवा उनीहरू बसेको टोलभन्दा निकै पर हिँड्दै थिए। उनीहरूले बाटोमा मानिसको भिड देखे। त्यहाँ पुलिसहरू पनि वरिपरि थिए। उनीहरूले त्यहाँ के भएको रहेछ भनेर हेरे। त्यहाँ एउटा घोप्टिएको लास थियो। बेवारिसे लास पुलिसहरूले त्यसलाई आफ्नो भ्यानमा हाल्दै थिए। त्यो लास फुलेर पहेँलो भएको थियो। सीमाले त्यो लासको अनुहार देखेपछि आफ्नै श्रीमान् रहेछन् भन्ने थाहा पाइन्।
शिवाले पनि आफ्नै बाबु भन्ने थाहा पाई। अनायास आमाछोरीका आँखा जुधे। छोरीको आँखामा आँसु टिलपिलायो तर आमाको आँखामा आँसु देखिएन। सीमाले विगत कुरा सम्झिइन्। उनलाई त्यो मान्छे हुनु र नहुनुमा केही फरक परेको थिएन। छोरी पढाउनु बढाउनु सबै उनकै जिम्मामा थियो।
उनी त्यहाँ केही गर्न सक्ने अवस्थामा थिइनन्। मरेर जाने गइसकेको थियो। यो त सहर थियो, दाह संस्कार गराउन उनको आर्थिक अवस्थाले भ्याउँदैनथ्यो। उनले आफ्नो मनलाई दह्रो बनाइन्। पुलिसले त्यो लास उठाएर लग्यो। त्योचाहिँ उनले हेरिरहिन्। मान्छेको मन भाँचिएपछि यतिसम्म पनि हुँदोरहेछ। घरमा पालिएको कुकुर मर्दा पनि मानिसलाई कति गाह्रो हुने गर्छ। छोरी शिवाको मन रोयो। किनकि छोरीमा त त्यही बाबुको रगत बगिरहेको थियो। सीमाको मनमा भने कुनै असर परेन।
चारैतिर सन्नाटा थियो। हेर्दाहेर्दै दाबाको शव भ्यानमा पुलिसले टाढा पुर्याइसकेको थियो। त्यहाँ जम्मा भएका मानिस पनि आआफ्नो बाटो लाग्दै थिए। त्यति नै खेर सीमाले छोरीको हात समातेर आफूतिर डोर्याइन्। अनि त्यहाँबाट केही नबोली चुपचाप छोरीसँगैै आफ्नो बाटो लागिन्। ‘मान्छेको मन यतिसम्म पनि निर्दयी हुन सक्छ?’ विधाता भने ङिच्च हाँस्यो।
प्रकाशित: ११ आश्विन २०८२ ११:४५ शनिबार





