यो देशको भूगोलभन्दा पुरानो मेरो इतिहास छ
तिम्रो कागजको पानामा नलेखिएको, मेरो अस्तित्वको सुवास छ।
जतिबेला तिम्रा शासकहरूले 'सिमाना' शब्द चिनेका थिएनन्
त्यतिबेलादेखि यो माटोमा मेरा पुर्खाहरूको श्वास छ।
हरेक भत्किएका ढुङ्गाहरूलाई सोध
हरेक पग्लिएका हिउँका ढिस्काहरूलाई सोध
यो माटोको प्रत्येक कणमा कस्को पसिनाको नुन छ?
तिम्रो सत्ताको महल अडिएको जगमा, कस्को रगतको गुन छ?
तिमी मलाई जातको साँघुरो घेराभित्र थुन्न खोज्छौ
तर म त ब्रह्माण्ड बोकेर हिँड्ने आदिम मान्छे हूँ!
तिम्रो दूषित मानसिकताको हिलोभन्दा धेरै माथि
म त मानवताको सुगन्ध छर्ने खुला आकाश हूँ।
तिमीले मान्छेलाई वर्ग र वर्णको तराजुमा राखेर जोख्यौ
मेरो निधारको श्रमलाई 'जात' को सानो नाम दियौ।
सुन, म त्यो बिन्दुमा आइपुगेँ जहाँ जातका सबै पर्खालहरू भत्किन्छन्
मेरा हातका ठेलाहरू नै मेरो कुल र वंशका नयाँ मन्त्रहरू बन्छन्।
मैले जात छोडेँ, किनकि मलाई मान्छे हुनुको गौरव थाहा छ
मैले कर्म रोजेँ, जसलाई ढुङ्गा पग्लिएर इतिहास बन्छ भन्ने थाहा छ
मेरो पहिचान यो कोदालीको डोबमा छ, यो हँसियाको धारमा छ
मेरो परिचय त मैले सिर्जना गरेको नयाँ संसारमा छ।
तिम्रो जन्मको श्रेष्ठताको घमण्डलाई मेरो कर्मको पसिनाले चुनौती दिन्छ!
मैले समयको बलि चढाएँ, यो धरतीलाई बचाउन
तिमीले षड्यन्त्रको जालो बुनेौ, मेरो अस्तित्वलाई मेटाउन।
तर सुन, ए भ्रमको खेती गर्ने शब्दका जमिनदारहरू हो!
घाम झुल्किन कहिल्यै कसैको आदेश पर्खँदैन
र, मेरो स्वाभिमानको यो अग्लो पर्खाल
तिम्रो अहंकारको सानो धक्काले कहिल्यै भत्कँदैन।
यो त विद्रोही चेतनाको त्यो आगो हो, जुन अब निभ्ने छैन
असमानताको कुनै पनि तमसुकले मेरो शिर निहुरिने छैन।
मैले मागेको दान होइन, न्यायको बराबरी हक हो
यो धर्तीमाथिको मेरो जन्मसिद्ध र न्यायोचित हक हो।
जबसम्म तिम्रो र मेरो रगतको रङ्ग एउटै रातो देखिन्न
तबसम्म यो विद्रोहको राँको कहिल्यै शान्त हुने छैन।
मैले बगाएको पसिनाको हिसाब यो माटोले राखेको छ
तिम्रो इतिहासको कालो मसीले मेरो पहिचान मेटिन्न।
म आदिबासी- यो धर्तीको पहिलो अङ्कुरण हूँ
मलाई उखेल्ने तिम्रो आँधी, मेरो जरासम्म आइपुग्दैन!
प्रकाशित: २९ जेष्ठ २०८३ ०८:५४ शुक्रबार





