१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

नेपाली भूमिमा खम्पा अभीष्ट

पुस्तक

आज भन्दा ६० वर्षअगाडि नेपालको उत्तरी भेगमा एउटा भयानक र डरलाग्दो आन्दोलन भएको थियो तर त्यो आन्दोलन नेपालीहरूको नभएर विदेशीको थियो। उदेकलाग्दो यस आन्दोलनले भर्खरै राणाबाट मुक्त नेपाललाई हायलकायल पारेको थियो। यसैलाई आधार मानेर हालै बजारमा आएको राजेन्द्र कुवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तक र यसको महत्त्व नयाँ पुस्ताका लागि उपलब्धिमूलक छ।

समाजमा आम मान्छे राजनीति नबुझ्ने कमै छन्। राजनीति गर्नु र बुझ्नु एउटा पाटो हो भने राजनीतिलाई गहन अध्ययन गरी त्यसको चुरो कुरो बुझ्नु अर्को कुरा हो। राजनीति र कुटनीतिभन्दा अझ महत्त्वपूर्ण पाटो भूराजनीति हो। जसले राजनीतिसँगै भूराजनीति बुझ्ने प्रयास गर्‍यो, ऊ सफल राजनीतिक व्यक्तिका रूपमा चिनिन्छ र उसले देशको राजनीतिलाई सही दिशानिर्देश गर्न सक्छ। आजसम्म देशको राजनीतिसँगै भूराजनीति बुझ्ने मान्छे औंलामा गन्न सकिने छन।

राजेन्द्र कुवर लेखकका रूपमा नयाँ भए पनि उनको लेखनले नेपाली इतिहासमा एउटा इँटा थप्ने काम गर्छ। पुस्तक पढ्दा पेसा र कर्तव्यपालनका कारण अनुशासित संगठन नेपाली सेनासँगै अन्य सुरक्षा निकाय सक्षम भए पनि राजनीतिले हात बाँधेर राखेको बुझ्न सकिन्छ।

 २०१६ देखि २०३१ सालसम्म मनाङ, मुस्ताङ, गोरखा, रसुवा, डोल्पा, मुगु, हुम्ला, दार्चुला र ताप्लेजुङमा भएको खम्पा विद्रोहको मुख्यालय मुस्ताङ थियो। इतिहासको पानामा खम्पाहरूको रणनीतिक केन्द्र भने पोखरा र काठमाडौं उल्लेख गरिएको छ।

ऐतिहासिक पुस्तक नेपालको भूराजनीति, सुरक्षा र तत्कालीन प्रशासनमा देखिएको प्रभावको मुख्य कारक अमेरिका, भारत, चीनको स्वायक्त क्षेत्र तिब्बतका साथै पाकिस्तान र बङ्गलादेश पनि जोडिन्छन्। राष्ट्रको सुरक्षा र नागरिकको जान्ने र बुझ्ने अधिकारलाई सुरक्षित राख्न दिनु आजको आवश्यकता पनि हो।

नलेखिएजस्तो, नदेखिएजस्तो तर कता कता सुनेजस्तो लाग्ने खम्पा विद्रोह नेपालको इतिहासमा लुकाइएको यथार्थ हो। सन् १९६० मा वीरगन्ज नाका प्रवेश गर्दा पूर्वआइजिपी तथा तत्कालीन बडाहाकिम पूर्ण खवासले हुलका हुल तिब्बती खम्पा गुरिल्लालाई रोके पनि तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको मन्त्रीपरिषद्का गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले नेपाल पस्न आदेश दिएका थिए।

पछि तिनै खम्पाको कारण  नेपालको उत्तरी भेग मनाङ, मुस्ताङ, उतरी गोरखा, मुगु, हुम्ला र पूर्वी क्षेत्रको संखुवासभा र ताप्लेजुङका स्थानीयले साह्रै दुःख पाएका थिए। चिनियाँविरुद्ध क्रियाकलाप गर्न नेपालका हिमाली नाकामा आएका खम्पाहरू सुरुका दिनमा स्थानीयसँग खान र बस्न माग्ने तिब्बती विद्रोही खम्पाहरूलाई जब अमेरिकन जासुसी संस्था सिआइएले नगद तथा जिन्सी सहयोग गर्न थाले, उनीहरू स्थानीय महिला तथा युवतीहरूलाई जबर्जस्ती गर्न थाले। उसो त सन् १९४० देखि नै सिआइए तिब्बतको लाह्सा प्रवेश गरिसकेको बुझ्न सकिन्छ। प्रत्येक वर्ष सिआइएद्वारा १७ लाख डलर आर्थिक सहयोग गर्दैआएको अमेरिकन सरकारले काठमाडौंस्थित स्युचाटारमा एयरपोर्ट नै बनाएको थियो।

भारतको सिलुगडीबाट जहाजमा हतियार ओसार्ने सिआइएले उपल्लो मुस्ताङमा खाद्यान्नसमेत ढुवानी गथ्र्यो। त्यो बेला नेपाल सरकार निरीहजस्तै थियो।  उपल्लो मुस्ताङमा तालिम केन्द्र स्थापना गरेर खम्पा गुरिल्ला तालिम गर्थे भने कैसाङ क्याम्प खम्पा लडाकुको हेडक्वार्टर थियो। त्यहाँ कमान्डर गे हिसी बस्थे। पछि अमेरिकाबाट आएको आर्थिक सहयोग हिनामिना गरेको आरोपमा सन् १९७२ मा अर्का लडाकु गे वाङ्दुलाई प्रमुख बनाइयो। पछि बाबा हिसिले नेपाल सरकारसमक्ष आत्मसमर्पण नै गरे भने पछि नेपाली सेनालाई सुराकी गर्न सहयोग गरे। सन् १९७४ अमेरिका र चीनबिच पिङपोङ डिप्लोमेसीअनुसार सम्झौता भयो।

सोही वर्ष राजा वीरेन्द्र चीन गएको बेला माओ र प्रधानमन्त्री चाउबेलाई भेटे। सो भेटमा चीनका प्रधानमन्त्री चाउबेले खम्पा निःशस्त्रीकरणका लागि अनुरोध गरे। राजा वीरेन्द्र नेपाल फर्किएपछि सेनालाई आदेश दिए र तत्कालीन कर्णेल सचित शमशेर राणाको नेतृत्वमा नेपाली सेनाको श्रीनाथ गणसहितको फौजले मुस्ताङ पुगेर खम्पाहरूलाई आत्मसमर्पण गरायो तर कमान्डर गे वाङ्दु भागे।

२० दिनपछि नेपाली सेनाले दार्चुलाको लिपुलेकमा वाङ्दुसहितको टिममाथि गोली बर्साउन थालेपछि उनीहरू तितरबितर भए। तर गे वाङ्दुसहित ६ जना त्यहीं मारिए। तिनै खम्पा सन् १९७२ मा पूर्वी पाकिस्तान तथा हालको बंगलादेश लडाइँमा समेत भारतले प्रयोग गर्‍यो। जसमा ६०० जना भन्दा बढी घाइते भए भने ९० जना जति खम्पा लडाइमा मारिएका थिए।

अहिले पनि तिनै खम्पा लडाकुहरूको भारतमा रेजिमेन्ट छ, जसको नाम हो– २२ इस्टाब्ल्सिमेन्टस। उक्त समयमा अमेरिकाको गुप्तचर संस्था सिआइए र भारतको रअ तत्कालीन आइबीले चीनविरुद्ध ती खम्पाहरूलाई प्रयोग गरेको कुरा किताबमा उल्लेख गरिएको छ।

यो पुस्तकमा नलेखिए तापनि नेपालका माओवादीहरूलाई भारतले यही चक्रताको सैनिक तालिम केन्द्रमा सैन्य तालिम दिएको थियो। भन्नुपर्दा दक्षिण एसियामा भारतले दुःख दिन पर्‍यो भने सबै मुलुकका लडाकुलाई यही ठाउँमा तालिम दिन्छ। यो ऐतिहासिक पुस्तकबारे आजको नवीन पुस्तालाई  समेत जानकारी गराई राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताबारे जानकारी हुने कुरामा दुई मत छैन। लेखकले सन् १९५० यताको राजनीतिक परिवर्तनसँगै नेपालमाथि भारत र अमेरिकाजस्ता शक्ति राष्ट्रहरूको प्रभावको चर्चा सरल ढंगले भूराजनीतिक विश्लेषणसहित गरेका छन्।

‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकलाई गहिरो अध्ययन अनुसन्धानपश्चात् मात्रै बजारमा ल्याएको देखिन्छ। सजिलै पढ्न र बुझ्न सकिनु पुस्तकको सुन्दरता हो। पुस्तक कुनै शक्ति राष्ट्रको पक्षमा पनि छैन र विपक्षमा पनि छैन, छ त केवल देशको पक्षमा छ।

लेखक पेसाले पत्रकार भएकाले होला, उनको लेखनमा अनुशासन, सत्य र स्वाभिमान झल्किन्छ। तिब्बत र खम्पाको विषयमा अमेरिका, भारत तथा युरोपियन राष्ट्रका लेखक तथा बुद्धिजीवीले थुप्रै पुस्तक लेखेका छन् तर नेपाली दृष्टिकोणबाट यसको पृष्ठभूमि, नेपाल प्रवेश र नेपालमा गरिएको यस प्रकारको आन्दोलन एवं खम्पाको नालीबेलीसहित पुस्तक पहिलो हो।

लेखकले नेपाली सेनाको पेसागत दक्षता तथा बहादुरीलाई उच्च महत्त्वसाथ प्रस्तुत गरेका छन्। पुस्तकका सबल पक्ष धेरै छन्। त्यसैले ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै कूटनीतिक व्यक्तित्व र राजनीति गर्छु भन्ने सम्पूर्ण युवा पुस्ताले अध्ययन गर्नैपर्ने महसुस हुन्छ।

प्रकाशित: १५ कार्तिक २०८२ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App