७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

‘बुकी’ चलचित्रको पहिलो प्रिमियर शो जापानमा

विवशकुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ।

यस चलचित्रको निर्माण पक्षले सिनेमाका मुख्य पात्रहरूको झलक सार्वजनिक गर्दै जापान प्रिमियरको मिति र स्थान तय गरेको हो।

चलचित्रको ‘वर्ल्ड प्रिमियर’ सन् २०२६ मे ६ तारिख, बुधबारका दिन जापानको ओसाका सहरमा हुनेछ। ओसाकास्थित ‘मिनातो कुमिन सेन्टर’ मा बेलुका ५:३० बजेदेखि ९:३० बजेसम्म विशेष प्रदर्शनी आयोजना गरिने पोस्टरमा उल्लेख छ। यो प्रिमियरलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारको एक महत्त्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरेलाई प्रमुखताका साथ प्रस्तुत गरिएकोछ।

पोस्टरको पृष्ठभूमिमा भलिबलको नेट, कोर्ट र खेलाडीहरू देखाइएको छ, जसले यो चलचित्र खेलकुद (विशेष गरी महिला भलिबल) र संघर्षको कथामा आधारित रहेको प्रष्ट पार्छ। साथै हिमाली भूगोल र त्यहाँको जनजीवनलाई पनि पोस्टरमा समेटिएको छ।

पोस्टरमा अभिनेत्री सुरक्षा पन्त खेल पोसाकमा ‘नेपाल’ लेखिएको जर्सी लगाएर हातमा ट्रफी उचाल्दै विजयको उत्सव मनाइरहेको अवस्थामा देखिन्छिन्। यसले चलचित्रमा उनको एउटा संघर्षपूर्ण र प्रेरणादायी खेल यात्रा रहेको संकेत गर्छ। अर्की अभिनेत्री रोशनी कार्की साधारण र हँसिलो लुक्समा छिन्।

त्यस्तै, पछिल्लो समयका चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु जर्सी लगाएर एक गम्भीर चरित्रमा देखिएका छन्। उनको लुक्सले उनी चलचित्रमा कुनै जिम्मेवार खेलाडी वा भूमिकामा रहेको दर्शाउँछ। दिग्गज अभिनेता प्रकाश घिमिरे ढाका टोपीमा एक अभिभावक वा मार्गदर्शकको रूपमा देखिएका छन् भने लक्ष्मीनाथ तिमलसिना रातो ट्रयाकसिटमा खेल प्रशिक्षक वा टिम लिडरको हाउभाउमा प्रस्तुत छन्।

‘बुकी’ हिमाली क्षेत्रका पाटनहरूमा वर्षाको समयमा फुल्ने एक विशेष फूल हो। निर्माण पक्षका अनुसार यो चलचित्रले खेलकुद र प्रकृतिबीचको गहिरो सम्बन्धको कथा भन्नेछ। चलचित्रको छायांकन काठमाडौं, पोखरा र बागलुङको रमणीय ढोरपाटन क्षेत्रमा गरिएको छ।

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको यस चलचित्रमा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहँदा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, निशा बजगाईं, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी लगायतका कलाकारको अभिनय देख्न सकिनेछ।

लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन्। राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को-प्रोडुसरका रूपमा रहेका छन्।

चलचित्रमा आशुका अर्याल एशोसिएट डिरेक्टर, आचार्य गोपाल चिफ असिस्टेन्ट डिरेक्टर, सहायक निर्देशकमा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी छन्।

विकास गन्दर्भको डिओपी रहेको चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।

श्याम मल्लको श्रृंगार र थम्मन थापाको प्रोडक्सन हेडिङ रहेको यस चलचित्रको पब्लिसिटी डिजाइन राकेश दाहालले गरेका छन्।

हालसम्म प्रदर्शनको आधिकारिक मिति तय नगरिए पनि निर्माण पक्षले सन् २०२६ भित्र चलचित्रलाई देशभरका हलमा रिलिज गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: ३ वैशाख २०८३ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App