फिल्म ‘सोल्टिनी’को नयाँ रिलिज मिति तय गरिएको छ । यो फिल्म अब कात्तिकको ६ गतेदेखि रिलिजमा आउने भएको हो । यसअघि यो फिल्मलाई असोजको ३ गतेबाट रिलिज गर्ने तयारी गरिएको थियो ।
फिल्मको पाँच वटा नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो । फिल्मको पोष्टरमा नायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बूलाई देखाइएको छ ।
यो फिल्ममा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतका कलाकारको अभिनय छ ।
फिल्मको पोस्टरमा प्रेम, संस्कृति र ग्रामीण परिवेशको चित्रलाई झल्काउन खोजिएको छ । अर्जुन सुवेदीको निर्देशनमा तयार भएको यो फिल्मले दर्शकलाई फरक स्वादको कथासँग जोड्ने निर्माण पक्षको दावी छ ।
फिल्मको छायांकन इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा गरिएको छ । यो फिल्ममा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ ।
अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेको कथामा यो फिल्म तयार भएको हो । प्लानेट थ्री फिल्मस् र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा रेजिना बिष्ट र संसार चौलागाईं निर्माताको रुपमा छन् ।
प्रकाशित: १४ भाद्र २०८२ १६:१७ शनिबार





