नेपाली चलचित्र निर्माणमा सक्रिय रे अफ आर्ट्स प्रालिले आफ्नो नयाँ चलचित्र ‘हाम्रो सानो घर’ निर्माण गर्ने भएको छ। रे अफ आर्ट्सको ब्यानरमा निर्माण हुने यस चलचित्रमार्फत चर्चित लेखक सुमन गजमेरले निर्देशनमा डेब्यु गर्ने भएका छन्।
चलचित्रको कथा, पटकथा तथा निर्देशन गजमेरले नै गर्नेछन्। ‘हाम्रो सानो घर’ मा जेनेरेसन-जेड (Gen Z) पुस्ताको प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको मुख्य आधार बनाइने निर्माण पक्षले जनाएको छ।
रे अफ आर्ट्सले यसअघि निर्माण गरेको चलचित्र ‘परिवार’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ। चलचित्र निर्माणसँगै कम्पनीले म्युजिक भिडियो, सिरिज तथा डकुमेन्ट्री निर्माणमा समेत सक्रियता देखाउँदै आएको छ।
प्रेम कथामा आधारित ‘हाम्रो सानो घर’ ले मनोरञ्जनसँगै जातीय तथा वर्गीय विभेद, बदलिँदो सामाजिक सोच र नयाँ पुस्ताका आकांक्षा समेत प्रस्तुत गर्नेछ।
चलचित्रका कलाकार तथा प्राविधिक टोली छनोटको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ।
लेखकका रूपमा ‘रंगी’, ‘एक्का तीन: च्याप्टर १’ र ‘शेर्वा’ लगायतका चलचित्रमा काम गरिसकेका गजमेरले ‘हाम्रो सानो घर’ मार्फत निर्देशनमा नयाँ यात्रा सुरु गर्न लागेका हुन्।
नयाँ पुस्ताको प्रेम र सामाजिक यथार्थ फरक शैलीमा प्रस्तुत गर्ने तयारीमा रहेको ‘हाम्रो सानो घर’ प्रति नेपाली चलचित्र क्षेत्रमा अहिले नै चासो बढ्न थालेको छ।
प्रकाशित: ४ भाद्र २०८३ ०८:४१ बिहीबार





