खुइय गह्रौँ सास फेर्दै ….
जिम्मेवारीको भारी बोकेर उक्लदा उक्लदै ,
पीडाका पहाडहरू
सेतै सिउँदो फुलेछ।
गाला, जीउभरि चाउरीका धर्सा।
हातमा लौरो,
मनमा अझै विगतकै जस्तो जोश
हातहरू कापे पनि अझै
जिम्मेवारीको पहाड उठाउन सक्ने सामर्थ्य बोकेकी नारी।
कत्रो त्याग,
चुलबुले सानी छोरीको कोमल रूप होस्
या जिम्मेवारीको भारी बोक्दाको बुहारी र पत्नी।
अहिले हजुरआमा बन्दाको यो अगाध स्नेह जिम्मेवारी बदलियो
देह बदलियो
तर बदलिएन मन,
उस्तै रह्यो।
जिम्मेवारी सम्हाल्दासम्हाल्दै
आफैँलाई बिर्सिन तर जिम्मेवारी कहिल्यै बिर्सिनन्।
भन्न त भन्दै आएका छन् ग्रन्थहरूले
नारी देवी हुन, जहाँ नारीको पुजा हुन्छ
त्यहीँ देवताको बास हुन्छ ।
खै त त्यो शंखध्वनिको सुमुधुर तरङ?
आफू दुखले थिचिएर
नयनका आँसु दबाएर
सबैको सुखमा हाँस्ने नारी।
धैर्यको प्रतिमूर्ति नारी
सधैँ उभिन्छिन् सबैका लागि
आफना
समस्याहरू पर पन्छाएर
आँसु रोकी, हाँसो ओढी, परिवारलाई फकाउँछिन् ।
अविरल बगिरहने नदीजस्तै
सधैँ अरूको खुसीमा बाँचिरहन्छिन् नारी
खै नारीलाई बुझ्ने मनहरू ?
नारी देवी शक्ति हुन्
अप्ठ्यारा गोरेटोहरूमा
पैतालाहरूको चोट बिर्सेर
उनी सहजै हिँडिरहन्छिन्
हरेक चुनौतीलाई पार गरी
परिवारको खुसीका लागि
आफूलाई बिर्सेर
मखमली रहरहरू कुल्चेर बाँचिरहन्छिन् नारी ।
यस्तै त्यागी प्रतिमूर्ति र समाजको नजरमा
उनी सधैं सेकेन्ड दर्जाकी रहन्छिन् !
कहिले कुलटा,
कहिले बोक्सी
कहिले चरित्रहीन उपनाम ,
के त्यही हो नारीको सम्मान?
समाजले नारीलाई देवीको दर्जा त दियो
तर समान सम्मान र अधिकारदेखि
सधैँ वञ्चित राख्यो!
खै नारीलाई बुझ्ने मनहरू?
प्रकाशित: ७ असार २०८३ ०९:१७ आइतबार



-600x400.jpg)

