२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

अभाव र सङ्घर्षमा खुलेको ‘जीवनको सौन्दर्य’

सफलताको कथा

गरिबी शब्द सुन्नेबित्तिकै धेरैको मनमा निराशा, अभाव र दुःखको चित्र आउँछ। यथार्थमा गरिबी अभिशाप मात्रै होइन, प्रेरणाको अथाह स्रोत पनि हो। जसले मानिसलाई सहनशीलता, सिर्जनशीलता र आत्मबल सिकाउँछ।

मानव सभ्यताका प्रेरणादायी कैयौं कथा गरिबीबाट सुरु भएका छन्। सफल व्यक्तिहरूको जीवनी हेर्दा वास्तविक शक्ति र चरित्र कठिनाइमै जन्मिएको देखिन्छ। सङ्घर्षले मानिसलाई परिपक्व, जिम्मेवार र सफलताको वास्तविक अर्थ बुझ्ने बनाउँछ। यो जीवनको एउटा विद्यालय हो। जहाँ मानिसले धैर्य, आत्मबल र जीवनप्रतिको उच्च दृष्टिकोणसाथ ढकमक्क फुल्ने अवसर पाइरहेका हुन्छन्।

हाम्रो विकासोन्मुख देशमा बालबालिकाहरू भोको पेट र नाङ्गो खुट्टा विद्यालय जान बाध्य छन्। यस्तै खाले गरिबीले उनीहरूलाई विक्षिप्त पारेको छ। यद्यपि उनीहरू आफ्नो देश र समाज बनाउने हुटहुटीमा दौडिरहेका छन्। सपनाको सगरमाथामा पुगेर समानता, समृद्घि र सुशासनको झन्डा फहराउन चाहन्छ नयाँ पुस्ता। यसै क्रममा भ्रष्टाचार उन्मूलन गर्न अघि बढिरहका छन् ‘जेनजी’।

हामीले बुझ्नुपर्छ– मानव सभ्यताका प्रेरणादायी जीवनहरू गरिबीबाट सुरु भएका छन्। यस्ता धेरै उदाहरण लिन सक्छौ, जसको बाल्यकाल अभाव, अप्ठ्यारो र सङ्घर्षमा बितेको छ। पछि तिनै व्यक्ति जनप्रिय बनेका कैयौं उदाहरण छन् यहाँ।

भारतका पूर्वराष्ट्रपति डा. एपिजे अब्दुल कलाम यसका उत्कृष्ट उदाहरण हुन्। उनी सानो छँदा पत्रिका बेचेर आफ्ना अभिभावकलाई सहयोग गर्थे। अप्ठ्यारोबिच उनले पढ्ने, सोच्ने र सिर्जना गर्ने बानीको विकास गरे। त्यही जिज्ञासा र लगनले वैज्ञानिक मात्र होइन, उनलाई भारतको मिसाइल म्यान र राष्ट्रपति समेत बनायो। कलामको जीवनले देखाउँछ– गरिबी बाधा होइन, प्रेरणा हो।

त्यस्तै हास्यकलाकार कपिल शर्माको कथा पनि उत्तिकै प्रेरक छ। गरिब परिवारमा जन्मिएका कपिलले बाल्यकालमा अभावको सामना गरे तर उनले आफ्नो हास्यशक्ति र आत्मविश्वासलाई आफ्नो पुँजी बनाए। आज उनी भारतका सर्वाधिक सफल कलाकार र उद्यमीमध्ये एक हुन्। उनको यात्राले जसले सङ्घर्षलाई अवसरमा रूपान्तरण गर्न सक्छ, ऊ कहिल्यै पछि पर्दैन भन्ने प्रमाणित गरेको छ।

ओप्राविन्फ्रे गरिबीबाट विश्व प्रेरणासम्म

ओप्रा अमेरिकाको मिसिसिपी राज्यको एक गरिब ग्रामीण क्षेत्रमा जन्मेकी थिइन्। बाल्यकालमा भोक, अत्याचार र भेदभावले उनलाई कठोर बनायो तर उनले कहिल्यै हार मानिनन्। शिक्षा र आत्मबलले उनले आफूलाई विश्वकै प्रभावशाली महिलाको सूचीमा स्थापित गरिन्।

जान कौम: शरणार्थीबाट टेक अर्बपतिसम्म

‘ह्वाटसप’का सहसंस्थापक जान कौम युक्रेनमा अभावमा हुर्किए। अमेरिकामा शरणार्थी बनेर उनले पुस्तकालयका पुराना किताबबाट प्रोग्रामिङ सिके। सफलता उनको मेहनतको प्रतिफल थियो। फेसबुकले ‘ह्वाटसप’लाई १९ अर्ब अमेरिकी डलरमा किन्यो। जहाँ उनी एक पेट खान घण्टौं लाइनमा बस्थे, त्यही भवनमा उनले सम्झौता हस्ताक्षर गरे।

ली का–सिङ: श्रम, इमानदारी र आशाको प्रतीक

१५ वर्षमै बुबा गुमाएका ली का–सिङले प्लास्टिक कारखानाबाट काम सुरु गरेर रियल इस्टेट र प्रविधिमा विश्वका धनी व्यक्तिहरूमध्ये स्थान बनाए। उनको भनाइ छ– गरिबी सपना रोक्ने कारण होइन, त्यसलाई जगाउने शक्ति हो।

नेपालीहरूको सङ्घर्ष र सफलता

विनोद चौधरी: नेपालबाट विश्व अर्बपतिसम्म

काठमाडौंमा सामान्य परिवारमा जन्मेका विनोद चौधरीले किराना पसलबाट व्यवसाय सुरु गरेका थिए। उनले नेपालको स्वाद संसारमा पु¥याउने सपना देखे। त्यही सपनाको सार्थक रूप हो– वाइवाई चाउचाउ, जसले नेपाललाई विश्वमा चिनायो। उनी नेपालका पहिलो अर्बपति हुन्। उनले युवाहरूलाई भन्छन्– सपना ठुलो देख तर सुरु सानोबाट गर।

मीनबहादुर शेरचन: कठिन जीवनबाट सगरमाथासम्म

पोखरामा सानो व्यवसाय गर्दै जीवन बिताएका मीनबहादुर शेरचन सामान्य परिवारमा जन्मेहुर्केका व्यक्ति हुन्। ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर उनले संसारलाई देखाए– उमेर होइन, इच्छाशक्ति नै ठुलो हो। उनको कथा सबै नेपालीको साहसको प्रतीक हो।

आफ्नै सन्दर्भ: सङ्घर्षबाट नेतृत्वसम्म

मध्यम वर्गीय परिवारमा जन्मेकी म अभावको समयमा पनि शिक्षा र आत्मविश्वाससाथ निरन्तर अगाडि बढिरहेँ। पाँच दिदीबहिनी र दाजुहरूमध्येकी म, जसले सानै उमेरदेखि जीवनमा सजिलो केही हुँदैन भन्ने बुझेँ। बाल्यकाल एकदमै कठिन थियो। एकदुई वर्ष फरक उमेरका हामी कोही मामाघरका र कोही काकाको घरमा हुर्कियौं। सपना ठुलो थियो तर अभाव सपनाभन्दा पनि ठुलो!

बुबा सरकारी सेवामा हुनुहुन्थ्यो। त्यो समयमा आम्दानी सीमित थियो तर हाम्रो सपना भने अनन्त थियो। शिक्षा, भोक र आवश्यकता पूरा गर्न अभावबिच पनि आमाबुबाले कहिल्यै हार मान्नुभएन। कहिलेकाहीं त घरको दैनिक खर्च र विद्यालयको शुल्क मिलाउनसमेत कठिन हुन्थ्यो तर त्यही अभावले मलाई सधैं बलियो बनायो– सोच, कर्म र आत्मबलमा। त्यो अवस्थाबाट मैले सिकेँ– जीवन सधैं सहज हुँदैन तर असहजबाटै धेरै कुरा सिकिने रहेछ। अभावले मलाई जिम्मेवार, मेहनती र संवेदनशील बनायो।

आज म व्यापार, नेतृत्व र सामाजिक उत्तरदायित्वको भूमिकामा छु। त्यही गरिबी र सङ्घर्षको अनुभव मेरो शक्ति बनेको छ। अब म गरिब र सङ्घर्षरत मानिसहरूलाई देख्दा उनीहरूको पीडा बुझ्न सक्छु, म तिनीहरूलाई अँगाल्दै माया गर्न सक्छु। किनकि म पनि त्यही बाटो भएर आएको छु।

यी सबै कुराले सिकाउँछन्– गरिबी स्थायी होइन तर सङ्घर्षले स्थायी शक्ति दिन्छ।

जीवनका कठिनाइ हाम्रा शिक्षक हुन्। यदि हिम्मत र मेहनतसाथ अघि बढ्यौं भने अभाव अवसरमा रूपान्तरण हुन्छ। गरिबीले सानै उमेरमा सिकाउँछ– बाँड्न, मेहनत गर्न, विनम्र रहन, हार नमान्न र आफ्नो शक्तिको पहिचान गर्न।

तपाईंले शून्यबाट सुरु गर्नुभयो भने मेहनतबाट आशातीत सबै पाउन सक्नुहुन्छ। जीवनको सौन्दर्य मात्र पाउनुभयो भन्ने होइन, जीवनको पीडा उद्देश्यमा रूपान्तर भयो भन्ने सम्झिनुपर्छ। यसरी जीवनमा जतिसुकै अभाव र सङ्घर्ष आए पनि यो एउटा शक्तिशाली विद्यालय हो। हिम्मतसाथ अगाडि बढे असम्भव केही पनि हुँदैन।

प्रकाशित: १ कार्तिक २०८२ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App