९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

स्नेहको त्यो आवाज

स्मृति

पचासको दशकमा काठमाडौं विश्वविद्यालयमा थिए डा. तारानाथ शर्मा। म सम्झन्छु, लामो समयअघिका ती दिनहरू। एक दिन मनले जितेर मेरो अग्रसरतामा उनलाई राजधानीस्थित एउटा उच्च माध्यमिक विद्यालयमा प्रिन्सिपलका लागि आग्रह गरिएको थियो। एकै आग्रहमा केयु छाडेर उनी तत्कालै यता आएका थिए।

तारानाथ शर्मालाई चिन्नुभन्दा अघि नै ‘तानासर्मा’ नामले उनलाई मैले चिनिसकेको थिएँ। उनीद्वारा लिखित साहित्यिक पुस्तकहरूमा अङ्कित उनको भाषाशैलीबाट म औधी प्रभावित थिएँ तर औपचारिक रूपमा मेरो चिनजान त्यतिबेला मात्रै उनीसँग भयो, जुनबेला उनको अस्तित्व जोखिममा थियो। अर्थात् पञ्चायतकालको जगजगी समाप्त भइसकेको र भर्खरै बहुदल स्थापना भएको समय थियो त्यो।

म सम्झिरहेको छु एक दिन।

२०४६ सालको जनआन्दोलनताका राजनीतिक आग्रहका साथ लेखिएका मेरा केही कविता तत्कालीन साप्ताहिक अखबारहरूमा प्रकाशित भएका थिए। खास गरेर साप्ताहिक दृष्टि, मातृभूमि, पुनर्जागरण, जनजागृति, समालोचना, जनभावनामा ती कविता प्रकाशित भएका थिए र यीमध्ये कुनै पत्रिकामा मेरो कविता छापिएको अंकका प्रतिहरू प्रहरीले पिपलबोटबाट खोसिएका मेरा आफ्नै आँखाले देखेका थिए।

जब आन्दोलन समाप्त भयो, तिनै प्रकाशित कविताहरूलाई संकलन गरेर संयुक्त रूपमा ‘जिन्दावाद मुर्दावाद’ कवितासंग्रह प्रकाशित गरेको थिएँ। २०४७ जेठ १० मा सो पुस्तकको विमोचन २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहद्वारा गरिएको थियो।

सो विमोचन समारोहमा पुस्तकभित्रका रचनाबारे समीक्षा गरिदिन मैले केही दिनअघि उनै तारानाथ शर्मालाई आग्रह गर्न उनको निवासमा पुगेको थिएँ। हामी भर्खरका काँचा मान्छे, तर खोई किन हो, एकै वचनमा उनले हामीलाई आउँछु भनेर स्वीकृति दिए।‘जिन्दावाद मुर्दावाद’को विमोचन हुनुअघि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा कुनै साहित्यिक कार्यक्रममा तारानाथ वक्ता रहेछन्। बोल्ने क्रममा दर्शक/श्रोता दीर्घाबाट कसैले उनलाई ‘मन्डले’ भनेर सम्बोधन गरिदिएछन्।

उनले आफ्नो वक्तव्य बिचमै छोडेर रन्किँदै सोधेछन् - ‘को हो त्यो बोल्ने?’ त्यसपछि वादविवाद सुरु भएर कार्यक्रम नै भाँडिएको चर्चा मैले सुनेको थिएँ।

कथित ‘मन्डले’ भनेर सम्बोधन गरिएका उनी हाम्रो कार्यक्रममा आएको देखेर त्यतिखेर तथाकथित प्रजातान्त्रिक भनेर कहलिएका केही महानुभावहरूले कार्यक्रमस्थल छाडेका थिए। तथापि कार्यक्रम भव्यतासाथ सम्पन्न भयो।

तारानाथ शर्मा सम्भवतः अघिल्लो दिनको अपमानलाई जनआन्दोलनका कमान्डर गणेशमान सिंहसँग एउटै मञ्चमा बसेर बिर्सिरहेका थिए। उनी जेल पनि परेका थिए– कवि महेन्द्रका साहित्यिक लेखनीविरुद्ध आलोचना गरेका कारण। त्यस्तो मान्छेले आफूलाई ‘मन्डले’ भनेको कसरी सहन सक्थे र?

२०६१ सालमा उपन्यासकार÷कवि धुस्वाँ साय्मिको अभिनन्दन गरिने कार्यक्रम थियो। सो कार्यक्रममा धुस्वाँमाथि मद्वारा सम्पादित कृति पनि सार्वजनिक गरिँदै थियो। विशेष अतिथि उनै तारानाथ थिए। स्थानीय त्रिपुरेश्वरस्थित ब्लुस्टार होटलमा राखिएको त्यो कार्यक्रमका प्रमुख व्यक्ति धुस्वाँ नै आइसक्ने बेला भइसक्दा पनि तारानाथ भने आइपुगेनन्। त्यो बेला उनी डन बस्को कलेजका प्राचार्य थिए।

डा. अरुण साय्मिको सल्लाहमा म उनलाई लिन बानेश्वर आएँ तर देखेँ कलेजमा विद्यार्थीको भयङ्कर भिड थियो। कलेजको केही विशेष कार्यक्रम रहेछ। म सोध्दै–खोज्दै कलेजभित्र पसेँ। एउटा ठुलो हलको मञ्चमा उनलाई मैले ढोकैबाट देखेँ। विद्यार्थीहरूको खचाखच त्यो भिडलाई छिचोलेर उनीसम्म पुग्ने कुनै बाटै थिए, कलेजका सम्बन्धित कसैलाई मैले उनलाई लिन आएको खबर पुर्‍याइदिन भनेँ। तर, मञ्चबाट कसो–कसो त्यति नै बेला उनले मलाई नियालेर हेरेको देखेँ। तत्काल उनी बसेको ठाउँबाट जुरुक्क उठे र केही सम्झेझैँ हतार–हतार म भएको ठाउँ आइपुगे। त्यतिखेर म उनका शब्द सुनेर जिल खाएँ, जो भन्दै थिए - ‘तपाईंले बोलाउनु भएपछि म लास भए पनि उठेर आउँछु।’ म सङ्कोचले पानी–पानी भएँ।

२०६३ सालमा धरहराको बार्दलीबाट ‘काव्य–उद्घोष’को परिकल्पनामुताबिक मेरो र मित्र रामेश्वर राउतको संयोजनमा हामीले तुलसी दिवस, डा. डिपी भण्डारी, रत्नशमशेर थापा, द्वारिका श्रेष्ठ, शम्भुजित बास्कोटा, डा. रामकुमार भौकाजी, युवराज गौतम, डा. ओमवीर सिंह बस्नेत, जलेश्वरी श्रेष्ठलगायत तारानाथ शर्मालाई पनि धरहरा चढाएका थियौँ। क्षेत्रप्रताप अधिकारी भने दमका कारण धरहरा चढेनन्। ऐतिहासिक त्यो कार्यक्रममा साहित्यको माध्यमबाट जनजागरुकताका लागि गरिएको त्यस्तो नौलो परिकल्पनाको उनले खुलेर प्रशंसा गरेका थिए।

उनले बोल्ने शब्दहरू कनिका केलाइएका चामलजस्ता हुन्थे। सफा–स्वच्छ, बडो आकर्षक ! हो, बोल्दा कडा मिजासका उग्र लाग्थे उनी तर त्यो उग्रताको शैली मिठो हुन्थ्यो, गाली गरेजस्तो लागे पनि भित्री रूपमा मायालुपन हुन्थ्यो।

नेपाली साहित्यमा उनको कलम नचलेको भए समालोचना र विशेषतः यात्रा–निबन्धको क्षेत्र निकै विपन्न हुने थियो।

प्रकाशित: ९ फाल्गुन २०८२ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App