२९ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

संयोग र वियोगमा तीज

तीज भन्नेबित्तिकै म सबैभन्दा पहिले आफ्नै गाउँ चिउरीडाँडाको सम्झना गर्छु। आमा पद्मकुमारी, दिदीबहिनी, गाउँले काकी र भाउजूहरू रातो सारीमा सजिएर आँगनमा नाचेको दृश्य आज पनि आँखाअगाडि आउँछ। सबै जातजाति र सँस्कृतिको संगम स्थल हुन्थ्यो तीज। रातो सारी, चोलो र निधारमा रातो टीकामा सजिएका महाला। मादलको तालमा पुराना तीजका भाका हाल्दै छमछमी नाच्ने। आँगनभरि हाँसो र उमङ्ग हुन्थ्यो। तर ती गीतका शब्दभित्र रमाइलो मात्र कहाँ हुन्थ्यो र ! माइतीको सम्झना, घरपरिवारका दुःख-सुख, अभाव, पीडा र मनभित्र थुप्रिएका अनगिन्ती कथा तीजका भाकासँगै पोखिन्थे। गाउँका छोरी-बुहारीका लागि नाच्ने र दर खाने पर्व मात्र नभई वर्षभरि मनमा थुप्रिएको भारी बिसाउने साँस्कृतिक चौतारी थियो तीज।

हाम्रो गाउँतिर माइती जान आजजस्तो गाडी चढेर केही घण्टामै पुगिने अवस्था थिएन। उकालो-ओरालो, भीरपाखा, खोलानाला र जङ्गल पार गरेर माइती  जानुपर्ने। माइती पुगेर आमाबाबु भेट्ने हतारो र मनमा छुट्टै उत्साह हुन्थ्यो। अर्कोतर्फ परदेशमा रहेका श्रीमानको सम्झना र घरभित्रका अनगिन्ती गुनासा पनि मन भित्र उकुसमुकुस हुन्थे। त्यसैले त्यो समय गाउने तीजका गीतमा संयोग र वियोग सँगसँगै मिसिएको हुन्थ्यो।

२०६२ सालको तीजको एउटा घटना अहिले पनि मेरो सम्झनामा छ। त्यतिबेला म काठमाडौंमा थिएँ। नेविसंघको केन्द्रीय सदस्यको जिम्मेवारी पुरा गर्दै राजनीतिक गतिविधिमा व्यस्त थिएँ। काठमाडौंमा बसेर राजनीति गरिन्थ्यो तर कमाइ केही थिएन। अभावै अभावमा विद्यार्थी जीवन गुज्रिन्थ्यो। घरपरिवारलाई समय दिनुपर्ने अवस्था र राजनीतिक यात्राको व्यस्तताबीच म आफैं पनि अलमलिएको हुन्थें।

त्यही तीजमा मेरी श्रीमती कुमारी दोर्पाबाट बागलडे ढुङ्गाको बाटो हुँदै एक्लै चुइचुम्मा माइतीघर गएकी थिइन्। साप्सु खोलाको भेलले उनलाई झण्डै बगाएको कुरा पछि मात्र थाहा पाएँ। साप्सुबाट टुकुरे खोला हुँदै याम्खाबाट ओख्रे चारकिल्ला पुगिने त्यो बाटो सम्झँदा आज पनि मन गह्रौँ हुन्छ। म पनि पटक-पटक पैदल हिँडेको छु त्यो बाटो। विचरा एक्लै कसरी गइन् होला खोलाखोल्सी र जंगल पार गरेर त्यति टाढाको बाटो? बेलाबेला अहिले सम्झन्छु र त्यतिबेला साथ दिन नसकेकामा मन खिन्न हुन्छ।

म काठमाडौंमा राजनीतिक दौडधुपमा थिएँ। उनी भने गाउँको अप्ठ्यारो बाटोमा एक्लै हिँडिरहेकी थिइन्। तीजमा रमाउन, माइती भेट्न र आफ्ना आमाबाबुसँग मनको भारी बिसाउन उनको ठूलो अभिलाषा थियो होला !  बालापन गुजारेको ठाउँ चटक्कै छोडेर नयाँ परिवेशमा जीवनका अनगिन्ती कथा र व्यथा सिर्जना गर्नुपर्ने महिलाका आफ्नै पीडा हुन्छन्। ती पीडा सधैं शब्दमा आउँदैनन्। बाटोमा उनले भोगेका कठिनाइ र त्यसबेलाका संवेदनशील कुरा सुन्दा मेरा आँखाबाट आँसु आएका थिए। त्यतिबेला मलाई महसुस भएको थियो - हामी पुरुषहरूले महिलाको जीवनमा आउने यस्ता साना तर अत्यन्तै गहिरा पीडा कम बुझ्दा रहेछौँ। अहिले शिक्षित भएको कारणले होला विगतको तुलनामा पुरूषहरूले महिलाका समस्यालाई बुझ्ने र साथ दिने गरेको देखिन्छ।

म २०६२ सालको दसैंमा घर पुगेँ। कुमारीले मलाई अँगालो हालेर धुरुधुरु रोइन्। त्यो रोदनमा तीजमा माइती गएर फर्किएको भावुकता मात्र थिएन। आमाबाबु छोडेर आएको एक्लोपनको वेदना पनि थियो। श्रीमान् सँगै नभएको गुनासो र गर्भवती अवस्थामा आवश्यक आराम, साथ र स्नेह नपाएको पीडा थियो। आफूलाई माया गर्ने मानिसले आफ्ना कुरा बुझिदिए हुन्थ्यो भन्ने एउटा मौन अपेक्षा थियो। त्यो क्षणले म भित्रैदेखि भावुक भएँ। यस्ता पीडा र व्यथा प्रत्येक घरमा लुकेका छन्। कसैले व्यक्त गर्छन् त कसैले मनमा गुम्स्याएर वर्षोंदेखि राखिरहेका हुन्छन्।

ती दिनहरूलाई नियाल्दा आफ्नै कमजोरी स्पष्ट देख्छु। समय व्यवस्थापन गर्न नसक्नु र श्रीमती गर्भवती भएको अवस्थालाई सामान्य रूपमा लिनु मेरो गम्भीर भूल थियो। राजनीतिक यात्रा, सामाजिक जिम्मेवारी र आफ्ना सपना महत्वपूर्ण थिए। तर घरभित्रको एउटा मनले साथ र समय खोजिरहेको छ भने त्यसलाई बेवास्ता गरेर कुनै पनि यात्रा पूर्ण हुन सक्दैन भन्ने बुझ्न सकिन मैले।

कुमारीले मेरो राजनीतिक यात्रामा कहिल्यै बाधा पुर्‍याएकी छैनन्। बरु सधैं साथ र सहयोग दिएकी छन्। आफ्ना धेरै पीडा आफैंभित्र राखेर मेरो यात्रालाई सहज बनाएकी छन्। घरका सानाठूला समस्या आफैं सम्हाल्दै मेरो राजनीतिक र सामाजिक यात्रामा साथ दिएकी छन्। आज तीजको दिन ती पुराना दिन सम्झँदा उनीप्रतिको सम्मान र कृतज्ञता झन् बढेर आउँछ। जीवनसाथी भनेको सुखमा मात्र सँगै हिँड्ने होइन , आफ्नो मान्छेको मौन पीडा पनि बुझ्ने साथी रहेछ।

हाम्रो गाउँका काकी, दिदी र भाउजूहरूको तीज पनि यस्तै अनेकौँ कथाले भरिएको हुन्थ्यो। गाउँकी काकी माइती सम्झेर गीत गाउँदा आँसु पुछ्नुहुन्थ्यो। दिदी, वहिनीले श्रीमान् परदेश गएको पीडा गीतमार्फत सार्वजनिक गर्नुहुन्थ्यो। भाउजू सासू-ससुराको व्यवहारका कुरा गीतमै सुनाएर मनको बह पोख्ने जमर्को गर्नुहुन्थ्यो। कसैको घरमा सन्तानको खुसी थियो भने कसैको मनमा सन्तानको चिन्ता। श्रीमान् घरमै भएर पनि पराइझैँ लाग्नेहरू पनि थिए। कसैको श्रीमान् टाढा भएर पनि मन मुटुसँगै हुन्थे। महशुस हुनु र गराउन सक्नु पनि दुई मिलनको सन्तुष्टि हो। एउटै आँगनमा गाइएका गीतमा संयोग र वियोगका कथा मिसिएको हुन्थ्यो।

तर ती गीतहरूको सबैभन्दा राम्रो  पक्ष एउटी महिलाको पीडा अर्की महिलाको पीडासँग मेल खान्थ्यो। एउटी रोए अर्कीले सम्झाउँथिन्। एउटीले मनको कुरा पोख्दा अरूले आफ्नै कथा सुनेजस्तो गर्थे। तीजले महिलाहरूलाई एकअर्काको भावनासँग जोड्थ्यो। गीतमार्फत आफ्ना कुरा भन्थे र फेरि अर्को वर्ष भेट्ने आशा बोकेर घर-घर फर्कन्थे। त्यो सामूहिकता हाम्रो गाउँले समाजको अमूल्य सम्पत्ति थियो।

तीजमा महिलाहरू श्रीमानको  दीर्घायु, सुस्वास्थ्य र सुखको कामना गर्दै व्रत बस्ने परम्परा छ। यो श्रद्धा, प्रेम र विश्वासको अभिव्यक्ति हो। तर यससँगै पुरुषहरूले पनि आफूलाई एउटा प्रश्न गर्न जरुरी छ- श्रीमतीले मेरो सुस्वास्थ्य र दीर्घायुका लागि व्रत बस्दा मैले उनको स्वास्थ्य, सुख र सम्मानका लागि के गरिरहेको छु?

उनले मेरो मनोकामना पूरा होस् भनेर भोकै बसिन् भने मैले उनको मनोकामना बुझ्ने प्रयास गरेको छु कि छैन ? उनले घर सम्हालिन् भने मैले घरको जिम्मेवारीमा कति साथ दिएको छु ? उनी गर्भवती हुँदा उनको थकान र पीडा बुझें कि बुझिनँ ? उनी माइती जाँदा बाटोको सुरक्षा र सहजताको चिन्ता गरेँ कि गरिनँ ? यी प्रश्न पुरुषले आफैंलाई सोध्नुपर्छ। किनकि प्रेमको परीक्षा उत्सवका दिन होइन कठिन समयमा हुन्छ।

हाम्रो समाजमा अझै पनि महिलाको श्रम र त्यागलाई स्वाभाविक ठान्ने चरित्र छ। घरको काम महिलाको मात्र जिम्मेवारी हो भन्ने सोच पूर्ण रूपमा बदलिनुपर्छ। श्रीमतीले परिवारका लागि गरेको योगदानको मूल्य तीजको एक दिन सम्मान गरेर मात्र पुग्दैन। वर्षभरि उनको भावना बुझ्नुपर्छ। घरपरिवारको काममा सहयोग गर्नुपर्छ। उनको स्वास्थ्य, इच्छा, सपना र आत्मसम्मानलाई उत्तिकै महत्व दिनुपर्छ। विवाह दुई जनाको सम्बन्ध हो भने जिम्मेवारी पनि दुई जनाकै हो भन्ने बोध हुन जरुरी छ। प्रेम शब्दमा नभई व्यवहारमा देखिनुपर्छ। श्रीमतीले श्रीमानको दीर्घायुको कामना गर्छिन् भने श्रीमानले पनि श्रीमतीको सुख, स्वास्थ्य, दीर्घायु र सम्मानका लागि जीवनभर जिम्मेवार बन्नुपर्छ।

समयसँगै तीजको स्वरूप पनि बदलिएको छ। आज तीजमा नयाँ पहिरन, भड्किलो प्रदर्शन, खर्च र गीत-संगीतमा देखिने कतिपय विकृति पनि बढेका छन्। सामाजिक सञ्जालले उत्सव मनाउने नयाँ माध्यम दिएको छ। परिवर्तन स्वाभाविक हो। तर परिवर्तनसँगै तीजको मूल आत्मा र संस्कृति हराउन थाल्यो भने त्यो चिन्ताको विषय हो। तीजलाई प्रदर्शन, खर्च र प्रतिस्पर्धाको पर्व होइन आत्मीयता, भेटघाट, पारिवारिक संवाद, महिला सम्मान र समानताको पर्व बनाउनुपर्छ।

तीज आउँदा आज पनि चिउरीडाँडामा आमा पद्मकुमारी र दिदीबहिनीहरू संगिनी नाचेको स्मरण हुन्छ। गाउँका काकी र भाउजूहरू गीत गाउँनुहुन्थ्यो। हामी बालबालिका वरिपरि बसेर रमाउँथ्यौँ। त्यो समयको तीजको परिवेश मादलको ताल, रातो सारीको रङ, माइतीको माया, दिदीबहिनीको आत्मीयता र गीतभित्र लुकेका जीवनका कथा। अहिले परिवेश फेरिएको छ। माध्यम फेरिएका छन्। सोच र दृष्टिकोण पनि बदलिएको छ। तर तीजको मूल भावना सम्बन्ध, आत्मीयता, सम्झना र संवेदना हराउनु हुँदैन।

२०६२ सालको त्यो तीज सम्झँदा साप्सुको भेल, बागलडे ढुङ्गाको बाटो र एक्लै माइती हिँडेकी कुमारीको अनुहार सम्झन्छु। २०६२ सालको दसैंमा अँगालो हालेर धुरुधुरु रोएको त्यो क्षण सम्झन्छु। त्यसबेला नबुझेका धेरै कुरा आज बुझ्ने कोसिस गरिरहेको छु। हिजोको पुस्ताले व्यहोरेका असंख्य पीडा भोलिको पुस्ताले भोग्नु नपरोस् भन्ने चेतनाले मलाई अझ संवेदनशील बनाएको छ।

तीज गीत र नाचको मात्र पर्व होइन। यो सम्बन्ध प्रगाढ बनाउँदै संयोगमा खुसी हुन र वियोगमा पीडा बुझ्न सिकाउने साँस्कृतिक पर्व हो। माइतीको माया सम्झाउने, श्रीमान् - श्रीमतीबीचको सम्बन्धलाई अझ गहिरो बनाउने र परिवारभित्रको जिम्मेवारीबोध गराउने पर्व हो। त्यसैले तीजमा महिलाहरूले मात्र नभई पुरुषहरूले पनि आफ्नो तन-मनको ऐना हेर्न जरुरी छ।

श्रीमतीको व्रतलाई सम्मान गर्दै उनको भावनालाई बुझ्नु जिम्मेवारी  र श्रम, त्याग, सपना र मौन पीडालाई आत्मासाथ गर्नु कर्तव्य हो। उनले वर्षभरि दिएको माया र साथको सम्मान गर्नु नै पुरुषका लागि सबैभन्दा ठूलो तीजको महिमा हुन्छ।

(स्तम्भकार - दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन्।)

प्रकाशित: २९ भाद्र २०८३ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App