१) मुक्तक
चेली अनि माइतीको बलियो आधार बन्नुपर्छ
सम्बन्धको अग्लो मियो सधैँ मिनार बन्नुपर्छ
हुनु हुन्न तडकभडक विकृति र विसंगति,
तीज पर्व संस्कृति र असल संस्कार बन्नुपर्छ।
२) मुक्तक
प्रेमको पूजा तपस्या र आराधना तीज पर्व
धर्म, कर्म, ध्यान र भक्ति उपासना तीज पर्व
जोगाउँदै परम्परा जागरण गीत घन्काउने
नारीहरूको आत्मसम्मान हो गहना तीज पर्व।
३) मुक्तक
बगायो भएको सारा सम्पत्ति धन के गर्ने होला
उराठ बगर भएको छ घर आँगन के गर्ने होला
बेपत्ता छन् मेरा आफन्तजन भेटिएका छैनन्,
थामिँदैन आँसु भक्कानिन्छ मन के गर्ने होला?
४) मुक्तक
भएको छ सपना नै चकनाचुर के गर्ने होला
छौँ विवश र बाँच्नलाई मजबुर के गर्ने होला
एक निमेषमै सकियो सारा तहसनहस भयो,
हामीमाथि नै खनियो दैव हजुर के गर्ने होला?
५) मुक्तक
गरेको हो कि दैवले नै पो झेल कसले पठायो
खेल्नलाई हामीमाथि नै खेल कसले पठायो
हेर्नुस् न मसानघाट भएको छ बस्ती अहिले
यसरी यो अपराधी बाढी र भेल कसले पठायो?
६) मुक्तक
ब्रह्माण्ड नै तताएर त्यो हिमाल कसले फुटायो
जमेर बसेको थियो शान्त ताल कसले फुटायो
आयो उर्लेर क्षणमै शून्य बनायो मानव बस्ती,
बनाउन यसरी लाखौंको बेहाल कसले फुटायो?
७) मुक्तक
अझै पनि सुधार्दैनन् त आचरण के गर्ने होला
भइरहेको छ द्रौपदीको चिरहरण के गर्ने होला
किन बन्दैन कानुन अझै फाँसी दिने गोली हान्ने,
कलिला चेलीको भएको छ मरण के गर्ने होला?
८) मुक्तक
प्रश्नै प्रश्नहरूको थुप्रो छ उत्तर कहाँ छ होला
हामीले छिचोल्नुपर्ने त्यो शिखर कहाँ होला
तेरो मेरो भन्दै देखाइरहन्छौँ बाँचुन्जेली तुजुक
मृत्युपछि तपाईं हामीले बस्ने घर कहाँ होला?
९) मुक्तक
को पापी हो को धर्मती केहीको नाम भन्नुस् न
को गर्छ उपकार र को गर्छ छलछाम भन्नुस् न
हेर्दा उस्तै छ अनुहार कसरी चिन्नेको होला खै,
यी दुईमध्येको रावण अनि को राम भन्नुस् न?
१०) मुक्तक
जहिले पनि आफ्नै भाग्य फुटाएर जिन्दगी यो
उसलाई जोडी आफूलाई टुटाएर जिन्दगी यो
बाहिर देखाउँदै हाँसो मुटुभित्र किला ठोकी,
कहिलेसम्म बाँच्नुहोला लुटाएर जिन्दगी यो?
प्रकाशित: २९ भाद्र २०८३ १३:१५ सोमबार





