२४ आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

नाना पाटेकर निधनपछि तनुश्रीले भनिन् : ‘इभिल डेड’

भारतीय अभिनेता नाना पाटेकरको निधनको खबर सार्वजनिक भएपछि अभिनेत्री तनुश्री दत्ताको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको छ।

उनले नानाको मृत्युलाई इभिल डेड (शैतानी मृत्यू) संज्ञा दिएकी छिन्। त्यसपछि विवाद चर्किएको हो।

तनुश्री दत्ताले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक भिडियो सार्वजनिक गर्दै नाना पाटेकरको निधनको खबर सुनेको बताएकी थिइन्।  

उनले नानाको निधनले पुरा दिन ‘अजीव’ भएको बताइन्। उनले आफ्नो दिनभरको योजना बनाइसकेको र सामाजिक सञ्जालमा लाइभ गर्ने तथा विभिन्न सामग्री पोस्ट गर्ने तयारीमा रहेको पनि उल्लेख गरेकी थिइन्।

तनुश्रीले साँझसम्म सञ्चारमाध्यमको ध्यान आफ्नो कार्यक्रमभन्दा नाना पाटेकरको निधनतर्फ केन्द्रित हुने चिन्ता व्यक्त गरेकी थिइन्। उनले आफूले कस्तो प्रतिक्रिया दिने भन्नेबारे स्पष्ट भएपछि बोल्ने बताउँदै दिवंगत अभिनेताको परिवारप्रति समवेदना व्यक्त गरेकी थिइन्।

तनुश्रीको प्रतिक्रियापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। मृतकप्रति मानवीय समवेदना समेत नदेखाएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ।

सन् २०१८ मा तनुश्री दत्ता र नाना पाटेकरबीचको विवाद चर्चामा आएको थियो। भारतमा चलेको ‘मीटू’ अभियानका क्रममा तनुश्रीले सन् २००८ मा चलचित्र ‘हर्न ओके प्लिज’ को छायांकनका क्रममा नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्।

उनले यस विषयमा सन् २००८ मै सिने एन्ड टेलिभिजन आर्टिस्ट्स एसोसिएसनमा उजुरी दिएको तर कुनै प्रभावकारी कारबाही नभएको दाबी गरेकी थिइन्।

यस प्रकरणमा नाना पाटेकरविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको थियो। तर, नानाले आफूमाथि लागेका आरोप अस्वीकार गरेका थिए।

पर्याप्त प्रमाण नभेटिएको भन्दै सन् २०१९ मा उक्त मुद्दा बन्द गरिएको थियो।

प्रकाशित: २३ आश्विन २०८३ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App