३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

गर्मीबिच फक्रिएको मिठास

तस्बिर कथा

हाम्रो यतिबेला तराईका बगैंचामा राताम्मे लिचीका झुप्पाहरू लटरम्म झुन्डिएका छन्। बिहानको हल्का बतास चल्दा हाँगाहाँगामा बिस्तारै हल्लिरहेका छन् रसिला दानाहरू। हेर्दा लाग्छ - चर्किंदो मौसमभित्र प्रकृतिले आफ्नै शीतल मुस्कान टाँसेको छ। बाहिर सडक, खेत र बजार तातिरहेका छन् तर लिचीबारीभित्र भने मिठासको छुट्टै ऋतु फक्रिएको छ।

यो वर्ष जेठको पहिलो सातादेखि नै तराईका बगैंचामा लिची राताम्मे हुन थालेको छ। तीन वर्षअघिसम्म जेठको दोस्रो सातापछि मात्रै रसाउन सुरु गर्ने यो लोकप्रिय मौसमी फल अहिले भने समयभन्दा करिब एक महिना अगावै पाक्यो।

भरतपुर महानगरपालिका–१७, सारदानगरका पुराना लिची किसान चक्रध्वज गुरुङको अनुभव पनि यही छ– अहिले प्रायः सबै फलफूल चाँडै पाक्न थालेका छन्। पृथ्वीको बढ्दो तापक्रम र बदलिँदो जलवायुको प्रभाव अब फलफूलको याममै स्पष्ट देखिन थालेको हो। कार्बोहाइड्रेट, क्याल्सियम, भिटामिन ‘सी’, पोटासियम, फस्फोरस र फलामले भरिएको यो फलको अर्को विशेषता हो - जति चर्को घाम, उति नै गुलियो स्वाद।

चितवन, पर्सा, बारा, रौतहटदेखि कैलाली–कञ्चनपुरसम्म फैलिएका बगैंचाहरू अहिले यही मिठासले भरिएका छन्। तराईमा साही, मुजफ्फरपुर, रोज सेन्टेड र सिड्लेस प्रजातिको आकर्षण छ भने मध्यपहाडका गोर्खा, तनहुँ र पोखरा लोकल लिचीले आफ्नै मौलिक स्वाद बोकेका छन्। उचाइ बढ्दै जादा यसको पाक्ने समयावधि लम्बिने र गुलियोपनमा हल्का अमिलोपन पनि मिसिँदै जान्छ।

राणाकालदेखि फैलिएको लिची खेती आज हजारौं किसानको जीविकासँग गाँसिएको छ। जिब्रोमा राख्नेबित्तिकै फैलिने यसको रसिलो स्वादले थकित शरीरलाई क्षणभरमै तरंगित बनाइदिन्छ। स्वाद, स्पर्श र मनबिचको अदृश्य सम्बन्धले एकैचोटि ऊर्जा र शीतलता भरिदिन्छ।

लिची केवल फल होइन। एउटा अनुभूति हो। जसले जीवनका कठोर दिनभित्र पनि मिठास लुकेको हुन्छ भन्ने संकेत दिन्छ। असल मानिसहरू पनि लिचीजस्तै लाग्छन्। बाहिरबाट खस्रा तर भित्र गुनिला गुणले भरिएका। आखिर मानिस पनि त तहतहका स्वभाव र अनुभूतिबाट बनेका हुन्छन्।

प्रकाशित: ३० जेष्ठ २०८३ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App