१२ वैशाख २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

‘लालीबजार’मा फरक अवतारमा स्वस्तिमा

राम्रो सिनेमा बनाउने योजनामा दम्पत्ति

क्याप्शन

नेपाली चलचित्र उद्योगमा आफ्नो अलग पहिचान बनाएकी चर्चित अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो एक दशकदेखि निरन्तर सक्रिय छिन्। होस्टल रिटर्न्सबाट अभिनय यात्रा सुरु गरेकी उनले छोटो समयमै दर्शकको मन जितिन्। विशेषगरी कुटुमा कुटु गीतमार्फत ‘कुटुमा कुटु गर्ल’को रूपमा चिनिएकी स्वस्तिमा जीवन्त अभिनय र आकर्षक व्यक्तित्वले लोकप्रिय छिन्।

अब उनी नयाँ चलचित्र लालीबजारमार्फत फरक भूमिकामा दर्शकमाझ आउँदै छिन्। वैशाख १८ देखि प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा उनले बादी समुदायको संवेदनशील कथालाई जीवन्त बनाएकी छन्। कुराकानीका क्रममा उनले केवल अभिनय मात्र होइन, नेपाली समाजका जटिल कथाहरूलाई पर्दामा उतार्ने जिम्मेवारी बोकेको आभाष दिएकी छन् । ‘लालीबजार’ मार्फत उनले अर्को फरक र चुनौतीपूर्ण भूमिका दर्शकमाझ ल्याउने तयारी गरेकी छन्। प्रस्तुत छ, स्वस्तिमा खड्कासँग नागरिककर्मी अमृता कुशवाहाले गरेको कुराकानीको सम्पादित अंश:

‘लालीबजार’ कसको कथा हो?

-‘लालीबजार’ २०४२–२०४३ सालको परिवेशमा आधारित आमा–छोरीको कथा हो। यो कथा बादी समुदायको परिवेशमा रहेर अघि बढ्छ।

टिजरमा देखाइएको बादी समुदाय र नथियाँ प्रथा अहिले पनि छ?

-बादी समुदाय त अझै छ। तर नथियाँ जस्तो कुप्रथा अहिले पनि छ कि छैन भन्ने कुरा म ठ्याक्कै भन्न सक्दिनँ। तर यो कुप्रथा अवैधानिक र गलत हो।

‘दिमाग खराब’, ‘बुलबुल’ र ‘छक्का पञ्जा २’ भन्दा ‘लालीबजार’ कसरी फरक छ?

-कथा फरक भएपछि सिनेमा नै फरक हुन्छ। दिमाग खराब र छक्का पञ्जा २ जस्ता फिल्महरू कमर्सियल थिए, सामाजिक र मनोरञ्जनात्मक पाटो बलियो थियो। तर ‘लालीबजार’ यस्तो कथा हो जुन धेरैले नबोलेको विषयमा आधारित छ। बादी समुदायबारे बनेका केही फिल्म भए पनि प्रभावकारी रूपमा प्रस्तुत हुन सकेका थिएनन्।

तपाईंले निभाएको पात्र ‘मधुवाला’लाई न्याय दिनुभयो जस्तो लाग्छ?

-काठमाडौंमा हुर्केका धेरैलाई यस्तो समुदायबारे थाहा हुँदैन। मलाई पनि पछि मात्रै थाहा भयो। मैले यो समुदायका महिलाहरूलाई नजिकबाट बुझ्ने प्रयास गरेँ।

पोस्टरमा तपाईं गर्भवती रूपमा देखिनुभएको छ, त्यो लुक कसरी तयार भयो?

-हामीले सकेसम्म वास्तविक देखिने प्रयास गरेका छौँ। कतै मेकअप, कतै नक्कली कपाल प्रयोग गरिएको छ। सिनेमा पूर्ण रूपमा वास्तविक नभए पनि त्यसलाई विश्वसनीय बनाउन आवश्यक हुन्छ।

तपाईंको नजरमा नेपाली चलचित्र उद्योगको वास्तविकता के हो?

-यो उद्योग अलिकति अनिश्चित हुन्छ, किनकि संकटका बेला प्राथमिकतामा पर्दैन। तर अहिले राम्रो सोच भएका निर्माता–निर्देशकहरू आउनुभएको छ। सिनेमा केवल मनोरञ्जन होइन, कथा भन्न सक्ने शक्तिशाली माध्यम पनि हो।

नेपाली चलचित्रको विगत, वर्तमान र भविष्यलाई कसरी हेर्नुहुन्छ?

-म सिनेमामा आउनुअघि उद्योग संघर्षमा थियो। अहिले अवस्था बदलिएको छ। लोकल कथाहरू बन्न थालेका छन्। राम्रो सिनेमा बनेमा करोडौँ कमाउन सक्ने अवस्था आएको छ। भविष्यबारे त समयले नै देखाउँछ।

आयातित कथाभन्दा स्थानीय विषयवस्तु कम बन्ने भन्ने आरोपलाई कसरी लिनुहुन्छ?

-पछिल्लो ५–७ वर्षमा त उल्टै स्थानीय कथाहरू धेरै बन्न थालेका छन्। आयातितभन्दा लोकल कथा बढी आएका छन् भन्ने लाग्छ।

कलाकारहरू विदेश जाने वा पेशा परिवर्तन गर्ने क्रम बढेको छ, के उद्योगमा टिक्न गाह्रो छ?

-यो खुला उद्योग हो, जो कोही आउन र जान सक्छ। तर धेरैले छोडिरहेका छन् जस्तो लाग्दैन। बरु नयाँ पुस्ता पनि आइरहेको छ।

कलाकारलाई ‘राष्ट्रको गहना’ भनिन्छ, सरकारले त्यही रूपमा हेरेको छ?

-गहना नै भनेर हेर्नुपर्छ भन्ने छैन। हामीले आफ्नो काम जिम्मेवारीका साथ गर्नुपर्छ। तर सरकारले उद्योगलाई प्राथमिकता दिनुपर्छ भन्ने चाहना छ।

तपाईं र निश्चल बस्नेत दुवै यही क्षेत्रमा हुनुहुन्छ, भविष्यको योजना के छ?

-अहिलेसम्म हाम्रो सोच राम्रो सिनेमा बनाउनेमै केन्द्रित छ।

प्रकाशित: १२ वैशाख २०८३ १६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App