५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

सुनसरी निर्वाचन क्षेत्र नं. २ : विरासत हात पार्न प्रतिस्पर्धामा उम्मेदवार

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा एमाले आफ्नो विरासत जोगाउने रणनीतिमा लागेका छन्। रास्वपा, नेपाली कम्युनिस्ट, श्रम संस्कृति पार्टी, उज्यालो नेपालसहितका अन्य नयाँ दल पनि चुनाव जितेर नयाँ रकेर्ड बनाउने दाउमा छन्।

२०६४ सालयता दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभा निर्वाचन हुँदा एमालेले तीनपटक र कांग्रेसले एकपटक जितेको थियो। एक्लाएक्लै चुनाव लड्दा यस क्षेत्रमा कांग्रेस र एमालेको संगठन बलियो देखिएकाले आमन्नेसामुन्ने हुनुपर्नेमा नयाँ पार्टीतर्फ मतदाताको आकर्षण बढेको र त्यसमा पनि नयाँ धेरै दलहरू प्रतिस्पर्धामा रहेकाले अन्तिम नजिता कसका पक्षमा आउँछ भनेर प्रारम्भिक चरणमै आकलन गरिहाल्न सकिन्न।

खासगरी अहिलेसम्म पुराना र नयाँ दुवै दलले गाउँमा गनिएका र चिनिएका मतदातालाई पहिलो प्राथमिकतामा राखेर भेटघाट गर्ने गरेका छन्। साथै केही भोट बैंक क्षेत्रका मतदातालाई पनि आकर्षित गर्ने उद्देश्यले भेटघाट गर्दै आएका छन्। दलहरूले विभिन्न स्थानमा घरदैलो कार्यक्रम पनि गरेका छन्। यद्यपि निम्न वर्गसमक्ष कुनै पनि दलका उम्मेदवार पुगेका छैनन्। जसले गर्दा तिनै निम्न वर्गका मतदाताको पनि निर्णयक बन्न सक्छन्। रामधुनी वडा नं ३ का शिवकुमार झा अहिलेसम्म कुनै पनि उम्मेदवार मत माग्न नआएको र यही पार्टीमा मत दिने भनेर निर्णय गरिनसकेको बताए। उनी सडक किनारामा बदाम र मकै भुटेर बिक्री गर्ने गर्छन्।

यस क्षेत्रमा कांग्रेसका उम्मेदवार राजीव कोइराला छन्। उनी अनुभवी राजनीतिज्ञ हुन्। उनी सुनसरीका दुई कार्यकाल सभापति र निवर्तमान केन्द्रीय सदस्य हुन्। उनी २०७४ सालमा कोसी प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेतासमेत थिए। कोसी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलको नेताको भूमिकाले उनलाई नीति, पहुँच र राजनीतिक अभ्यासको बल दिएको छ। कोइरालाको अनुभव, पहुँच र संगठनात्मक बलकै आधारमा जित्न सहज हुने कांग्रेसको दाबी छ।

निवर्तमान केन्द्रीय सदस्य एवम् चुनावी प्रचार समिति सुनसरीका संयोजक राजीव ढुंगानाले अरू उम्मेदवारभन्दा जनतामाझ बढी चिनिएकाले पनि चुनाव जित्न सहज हुने बताए। उनका अनुसार यसपटक कांग्रेसमा कुनै अन्तरविरोध छैन। विगतका चुनावमा कांग्रेसमा अन्तरघातको खतरा रहने गथ्र्यो। पार्टीभित्र अन्तरघात नभए पनि आफ्ना मतदाता जोगाउन र विशेषगरी निम्न वर्गका मतदातालाई आफ्नो पक्षमा पार्न भने कांग्रेसलाई चुनौतीपूर्ण छ।

यस क्षेत्रबाट एमालेका उम्मेदवार सुजन लामा रहेका छन्। उनी युवा संघ कोसी प्रदेश संयोजक हुन्। युवाकेन्द्रित राजनीति गरेका उनी जनतासँग खासै परिचित नभए पनि संगठन बलियो भएकाले जित्न सहज हुने एमाले नेताहरू बताउँछन्।

एमालेको गुटगत प्रभावका कारण कोसी प्रदेशसभा सदस्य तथा निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई दिइसकेको टिकटसमेत अन्तिम समयमा लामालाई दिइएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारी मनोनयन गर्नु एक दिनअघि भण्डारीलाई टिकट दिए एउटा समूहले असहयोग गर्ने बताए पनि अन्तिम समयमा लामालाई टिकट दिइएको थियो।

टिकटप्रति असन्तोषले गर्दा चुनावी कमान्डर चयनमा समेत सकस भएको थियो। अन्ततः कारबाहीमा परेका नेता द्वारिकलाल चौधरीको कारबाही फुकुवा गरी चुनावी कमान्डर बनाइएको थियो। चुनावी कमान्डर चौधरीले छापामार शैलीले चुनाव जिताएर देखाउने जिकिर गरे। ‘एमालेमा कुनै समस्या छैन, चुनाव जिताएर देखाउँछौं’, उनले भने, ‘हामीले कडा आचारसंहिता बनाएर चुनावी अभियान गरिरहेका छौं।’

एमालेमा एकातिर टिकटको असन्तोष र अर्कातिर आफ्ना मतदाता जोगाउने मुख्य चुनौती छ तर धेरै कुरा सहज भइसकेको पार्टीको दाबी छ। एमालेले ‘पात्र’ जो भए पनि युवाले टिकट पाउनुलाई उपलब्धि ठानेको छ।

नयाँ दलमध्ये रास्वपाबाट लालविक्रम थापा उम्मेदवार छन्। उनी रास्वपाका प्रदेश महामन्त्री हुन्। उनी अघिल्लोपटक पनि सुनसरी क्षेत्र नं २ बाटै उम्मेदवार बनेका थिए। त्यतिबेला एमालेका भीम आचार्य ३२ हजार २४ मत ल्याएर विजयी हुँदा उनले १९ हजार तीन सय ९१ मत ल्याएका थिए। कांग्रेसका सीताराम मेहताले त्यतिबेला २६ हजार ६८ मत ल्याएका थिए।

रास्वपा क्षेत्र नं २ का सभापति एवं चुनावी कमान्डर भीम दाहालले जहाँ पुग्दा पनि आफ्नै पक्षमा माहोल भएकाले चुनाव सहजै जित्ने दाबी गर्छन्। उनले भने, ‘हाम्रो दक्षिण क्षेत्र खासगरी इनरुवा र देवानगञ्ज तुलनात्मक हिसाबले कमजोर ठानिए पनि बालेन्द्र शाह आएपछि पूरै सुध्रियो।’

रास्वपाका वरिष्ठ नेता शाह चार दिनअघि क्षेत्र नं २ को इटहरी, रामधुनी र इनरुवा आएका थिए। उनले नयाँ दलमध्ये आफ्नै पार्टीको सम्भावना बलियो भएको बताए। ‘श्रम संस्कृतिलाई बढी मात्रामा जातिवादी मत जान्छ, हामीलाई सबैको मत आउँछ’, उनले भने।

नयाँ पार्टीप्रति मतदाताको आकर्षण बढे पनि रास्वपाका उम्मेदवार थापाले जनता माध्यमिक विद्यालय इटहरीको भाडा तिर्न बाँकी रहेको र महालेखापरीक्षणले बक्यौता देखाएको विषयमा आरोप खेप्दै आएका छन्। यही विषयले मतमा भने कुनै असर नगर्ने रास्वपाको ठहर छ।

नेपाली कम्युनिस्ट पार्टीकी रामकुमारी चौधरी पनि संघर्षबाट खारिएकी नेता हुन्। उनी २०७४ सालमा सामानुपातिक कोटाबाट संघीय सभासद् भएपछि राज्यमन्त्रीसमेत भएकी थिइन्। माओवादीले जनयुद्ध थाल्दा कलिलै उमेरदेखि सक्रिय भएकी थिइन्।

क्षेत्र नं २ मा थारू मतदाता उल्लेखीय भएकाले त्यस मतलाई आफ्नो पक्षमा पार्ने अनि राष्ट्रिय राजनीतिमा साना दललाई समेत एकीकृत गर्दै अध्यक्ष दाहाल अघि बढेकाले यसपटक जित्न सकिने शिव डाँगीले बताए। उनका अनुसार थारू मतदातासँगै महिलालाई संगठित गरेर महिलालाई पनि आफ्नो पक्षमा पार्न सबै रणनीति अपनाइएको छ।

त्यसो त, चौधरीलाई पनि बढी अवसर लिने नेताका रूपमा पार्टीभित्रै आलोचना हुने गरेकाले पनि जुन हिसाबले नेता–कार्यकर्ता संगठित हुनुपर्ने हो, त्यसमा केही हदसम्म कमी भएको छ। यद्यपि अवसर नपाउने नतातेकै कारण टिकट पनि चौधरीको पक्षमा आएको र जित्न पनि उनैलाई सजिलो हुने पार्टीको निष्कर्ष छ।

नयाँ दलमध्ये यस निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीका चेतन राई पनि चुनावी प्रतिस्पर्धामा छन्। उनी १२ वर्ष कोरिया बसेर फर्किएका हुन् । श्रम गरेर हरेक व्यक्ति उँभो लाग्ने नारा दिएर यतिबेला श्रम संस्कृतिका उम्मेदवार चेतन पनि मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय रूपमा जुटेका छन्।

सुनसरी चारवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी एक लाख ५८ हजार नौ सय १० जना मतदाता रहेको यस निर्वाचन क्षेत्रमा इटहरीका १०, रामधुनीका पाँच, इनरुवाका ६, देवानगञ्जका सात र हरिनगर गाउँपालिको एउटा वडा गरी ३० वटा वडा पर्छन्; जसमा उम्मेदवारको जित सुनिश्चित गर्ने इटहरी क्षेत्र नै हो । यस क्षेत्रमा मतदाताको हरेकपटकको निर्वाचनमा अनपेक्षित मनस्थिति परिवर्तन भइदिँदा नतिजा अपेक्षा गरेभन्दा फरक आउने गरेको छ।

क्षेत्र नं २ अन्तर्गत इटहरीका १० वटा वडामध्ये सबैभन्दा बढी मतदाता इटहरी वडा नं ५ मा १२ हजार दुई सय ७६ छन्। यस्तै वडा नं २ मा ११ हजार सात सय ८० छन् भने वडा नं ४ मा १० हजार तीन सय ३५ छन्। यी वडामध्ये श्रम संस्कृति पार्टीले वडा नं ५ र २ बाट आफ्नो पार्टीले लिड गर्ने दाबी गरेको छ। यसबाहेक इटहरी वडा नं १८, १९ र २० मा पनि आफ्नो पार्टीले लिड गर्ने केन्द्रीय सदस्य गायत्री आलेले बताइन्। उनकै शब्दमा भन्नुपर्दा ‘हामी जहाँ–जहाँ पुगेका छौं, हाम्रा पक्षमा माहोल छ’, उनले भनिन् । इटहरी वडा नं ४ बाट भने रास्वपाले लिड गर्ने दाबी गर्छ।

यस क्षेत्रबाट कांग्रेसका कोइराला, एमालेका लामा, रास्वपाका थापा, नेपाली कम्युनिस्ट पार्टीकी चौधरी, श्रम संस्कृतिका राईसहित राप्रपाबाट दिनेशकुमार बस्नेत, उज्यालो नेपालबाट गोपाल तामाङलगायत २८ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। क्षेत्र नं २ बाट २०७४ सालको निर्वाचनमा कांग्रेसबाट प्रतिनिधिसभाका लागि सीताराम मेहता विजयी भएका थिए। पछिल्लो २०७९ सँगै पहिलो संविधानसभा निर्वाचन र दोस्रो संविधान निर्वाचनमा भने एमालेले जितेको थियो।

प्रकाशित: २७ माघ २०८२ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App