‘कथा यात्रा समूह’ ले कथाकार धनमान श्रेष्ठसित साहित्यिक भेटघाट गरेको छ।
कथा यात्रा र धनमान श्रेष्ठको कथनीअन्तर्गत कथा यात्रा समूहले भक्तपुर कमलविनायकको बसपार्कसँगै कथाकार धनमान श्रेष्ठको निजी निवासमा कथाकारको कथनी शीर्षकमा कथा यात्रा समूहले साहित्यिक जमघट गरेको हाे।
सिद्धहस्त कथाकारहरूसँग नियमित रूपमा जन्मदिनको सेरोफेरोको भेटघाटलाई कथा वृत्तलाई परिवारसँग जोड्ने माध्यमको रूपमा समेत लिइएको छ। कथा लेख्नेहरूले आफूले लेखनको क्रममा भोगेको अनुभव मात्र होइन, कथाका मान्य सिद्धान्त, दर्शन र साहित्यिक पर्यावरणको समेत विमर्श गरिने यो कार्यक्रमले अलग पुस्ताका लेखकहरूलाई जोड्ने सतत् प्रयास गर्ने गरेको छ।
उक्त कार्यक्रममा लेखक साहित्यकारहरू ध्रुव मधिकर्मी, डा. योगेन्द्र प्रधानाङ्ग, विष्णु केशरी, कृष्ण कक्षपति, हिरण्य प्रताप, हरिगोविन्द मुल्मी लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रममा डा. योगेन्द्र प्रधानाङ्गले समाज जोड्ने उद्देश्य लिएको लेखकले आफ्नो साहित्यिक कदको मापन परिवारभित्र स्थापित गर्न, लेखको योगदानलाई सामाजिक मूल्य प्रदान गर्न सानो स्तरको भए पनि यस्ता कार्यक्रमले महत्त्व राख्ने बताए।
कथाकार धनमान श्रेष्ठले रामेछापको साँघुटारमा स्वास्थ्यकर्मीको रूपमा पुगेपछि शुरू भएको आफ्नो साहित्यिक आरोहअवरोहको मात्र चर्चा नगरी रामेछाप जिल्लाले जन्माएका सपुत गंगालाल श्रेष्ठमाथि कसरी कथा लेखियो भन्ने रोचक प्रसङ्ग पनि सुनाए।
लाेकप्रिय समालाेचक तथा समूहका सदस्य डा. हिमलाल श्रेष्ठकाे अनुसार कथाकार श्रेष्ठको टाढाको सम्झना, यौटा उस्तै कथा, सम्वन्ध विच्छेद जस्ता कथासङ्ग्रहहरूको साथमा पाँच कृति प्रकाशित छन्। सिर्जना अभियान समाजको अध्यक्षको रूपमा समेत क्रियाशील श्रेष्ठ विभिन्न साहित्यिक संस्थामा आबद्ध छन्।
नेपाली कथा साहित्यमा क्रियाशील रहेको कथा यात्रा समूहमा कुमार काफ्ले, दीपक लोहनी, पवित्रा अधिकारी, प्रमोद प्याकुरेल, विश्व कुइकेल, हरिश कल्पित र डा. हिमलाल श्रेष्ठ छन्।
प्रकाशित: ५ फाल्गुन २०८२ ०८:२४ मंगलबार





