सुनकोशी वाङमय प्रतिष्ठानले साहित्यकार होमशङ्कर बास्तोलाको ‘रगतको मूल्य’ कथासंग्रहकाे लोकार्पण गरेकाे छ।
सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता र वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आर एम डंगोल, कथाकार बास्तोला, प्रदीप सापकोटा लगायतले संयुक्त रूपमा कृतिकाे लाेकार्पण गरेकाे थिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथा नहुने मानिस दुनियाँमा हुँदैन भन्दै त्यो कथालाई कसरी प्रस्तुत गर्ने भन्ने मात्र हो। पाठकलाई अनुभूत र द्रवित गराउने क्षमता जसमा हुन्छ उ राम्रो कथाकार मानिन्छ। बास्तोलामा आफूले उक्त क्षमता रहेको पाएको बताए।
समालोचक आर एम डंगोलले कृति यथार्थपरक सामाजिक कथाहरूले भरिएको बताए।उनले भने, ‘अधिकांश कथाको बुनोट यही समाज हो। प्रथम दृष्टिविन्दु, तृतीय पुरुषदृष्टिविन्दुमा विभिन्न पात्र रहेका कथाहरू सहज र स्वभाविक लाग्छन्। कथाहरू समयसापेक्ष र समाजमुखी छन्।’
उनले मैनालीकै लाइनमा कथाकार बास्तोला उभिएको बताए। कथाकारले जहाँजहाँ कार्यथलो बनाए, त्यहाँत्यहाँ भेटेका पात्र र तीनको चरित्रलाई कथानक रूप दिएको उनले बताए।
साहित्यकार प्रदीप सापकोटाले लघु र मध्यम आयामका १९ कथा रहेको ‘रगतको मूल्य’ का कथाहरू यथार्थमा आधारित रहकाे बताए।
उनले अगाडि भने, ‘सामाजिक परिवेशबाट निर्मित चरित्रहरू प्रस्तुत गरेका बास्तोलाका कथाहरूका पात्रहरू हाम्रै समाज वरपर, हाम्रै नाता सम्बन्धका जस्ता लाग्छन्। पात्रहरूलाई जीवन्त बनाउन स्थानीय परिवेश र लवज कथाकारले टपक्क टिपेको छ।’
कथाका विषयवस्तु,थिम र पात्रहरूमा नवीनता नभए पनि पाठकलाई पढ्दै जाँदा तान्दै लाने खुवी कथाकारमा रहेको छ।
रगतको मूल्यका स्रष्टा बास्तोलाले रचना गर्भबारे आफ्ना कुरा राख्दै समाजका हर्ष, विस्मात, खुशी, प्रेम, पीडा, विकृति र विसंगति टपक्क टिपेर आफूले कथा लेखेको बताए।
सुनकोशी वाङ्मय प्रतिष्ठानका सदस्य पूर्णबहादुर श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साझा प्रकाशनका भेषराज घिमिरे र साहित्यकार बोधराज पौडेल लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।
कथाकार बास्ताेलाकाे घाम हराएको दिन (गजलसंग्रह, २०६१), आँसुका झरनाहरू (कथासङ्ग्रह, २०५८), बन्दुकको छाया (कथासंग्रह, २०६७), भोका सपनाहरू (कवितासंग्रह) र हिमालपहाडका कथा (सम्पादन, संकलित कथासंग्रह, २०७१) प्रकाशित छन्। लेखन, सम्पादन र प्रकाशनमा सक्रिय उनले ‘अन्तर्बाेध’ त्रैमासिक पत्रिकाकाे सम्पादन गरिरहेका छन्।
प्रकाशित: १३ कार्तिक २०८२ १२:२० बिहीबार





