सुनकोशी वाङ्मय प्रतिष्ठानले साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीको ‘हिमलुङमा पलाएको माया’ कथासङ्ग्रह लोकार्पण गरेकाे छ।
शुक्रवार सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल चिबहालमा भएको कार्यक्रममा प्रमोद प्रधान, डा.हरिप्रसाद सिलवाल, श्रीरामसिंह बस्नेत, केशव पराजुली, छविरमण सिलवाल, शंकर भारती र स्रष्टा पराजुली लगायतले उक्त कृति लोकार्पण गरे।
कृतिमाथि बोल्दै प्रमुख वक्ता वरिष्ठ समालोचक प्रधानले नेपाली समाज पढ्न सकिने गरी कथाहरु आएका बताए। मैले यति दावी गर्दा गलत नहोला, पराजुलीले जस्तो कथा लेख्ने कथाकार मैले नेपालमा भेटेको छैन्। धेरै कथाकारले मध्यपहाडी भूगोललाई समेटेर कथा लेख्ने गरेका छन्।
हिमालको पदयात्रा गरेर कथा लेख्ने अरू छैनन्। पराजुलीका कथामा हिमाली जनजीवन आएको बताउँदै प्रधानले भने, हिमाली क्षेत्रका मानिसका दुःखका कुरा कथाले समेटेका छन्। कथाले भूगोल र त्यहाँको अवस्था बुझ्न सघाउँछ। कथाहरू सूक्ष्म रूपमा आएका छन्। पराजुलीका कथाहरु मानवशास्त्र, समाजशास्त्र र पर्याचेतका दृष्टिकोणले पनि महत्त्वका छन्। कथा पढ्दा म धेरै भावुक भएको छु।
अर्का चर्चाकार डा.सिलवालले नियात्रामा जमेका पराजुली कथामा पनि राम्रै जम्न सक्ने सामर्थ्य राख्छन् भन्ने कुराको पुष्टि कथासङ्ग्रहले गरेको बताए। सबै स्रष्टामा यो क्षमता हुँदैन् कि सबै विधामा अब्बल होउन् तर पराजुलीमा त्यो क्षमता देखियो। कथासिद्धान्तको कसीमा जोडेर हेर्दा कमजोर कथा लागेन्। कथाहरू दमदार छन्। उनका नियात्रा र कथाका परिवेश भने एउटै छ। मनाङ, मुस्ताङ, डोल्पो, काठमाडौँ,अमेरिकासम्मका परिवेशहरु कथाहरुमा समेटिएको छ।
सञ्चारकर्मी तथा लेखक श्रीरामसिंह बस्नेतले पराजुलीका कथाको पहिलो पाठक आफु भएको बताउँदै भने,पराजुलीको कथाको मूल आधार भनेकै यात्रा हो । उनका कथामा आञ्चलिकता आउँछ।
कथाकार पराजुलीले कथा लेखनमा पनि निरन्तरता दिने बताए।
दुई चरणमा सञ्चालित कार्यक्रममा सञ्चारकर्मी राजेश खनालले सहजीकरण गरी प्रकाशक,लेखकसङ्ग प्रश्नोत्तर गरेका थिए । नियात्राकारको रुपमा चर्चित पराजुलीलाई अब कथाकारको रुपमा पनि चिनिने भयो भन्ने जिज्ञासामा आफुले भन्न नमिल्ने पाठक,समालोचक,समीक्षकहरुले बोल्ने कुरा भएको बताएका थिए । कथाको बारेमा उनको दृष्टिकोण बुझ्न खोज्दा कथा के हो परिभाषामा बाँध्न नसक्ने भन्दै कथा पढ्दा परिवेश,भूगोल,जनजीवन,संस्कृति जस्ता कुराहर आउनुपर्ने कुरामा पराजुलीले जोड दिए।
प्रकाशकको तर्फबाट भुँडीपुराण प्रकाशनका केशव पराजुलीसङ्ग अन्तरसम्बाद गर्दा प्रकाशन गृहका दुःख,पठन संस्कृतिमा आएको ह्रास,भाषा साहित्यमा राज्यको उदासिनता लगायतका कुराहरु उनले राखेका थिए।
सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तारा केसीले स्वागत मन्तव्य राखिन। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गरे।
प्रकाशित: १६ जेष्ठ २०८३ १०:१२ शनिबार





