२८ कार्तिक २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

माफ गर पेनिबा, तिमीलाई गाली गर्न सकिनँ!

पुस्तक

विद्यालयको अन्तिम बेन्चमा बस्ने मानिसहरू पनि राष्ट्रले गन्ने र मान्ने स्थानमा पुग्न सक्छन्। सुरेश यक्सोले यो कुरा देखाइदिएका छन्। उनले स्वदेश त बुझेकै थिए, अब विदेशका अनुभवहरूलाई समेत एकीकृत पार्दै त्यहाँका भावभूमिहरू समेटेर मगमगाउँदो कृति हामीलाई सुम्पन आउँछन्। त्यसैको परिणति हो– ‘पेनिबा’।

‘पेनिबा’ कथासंग्रह हो। यसको शीर्षक अलि अनौठो लाग्छ। पेनिबा भनेको के होला ? जिज्ञासा स्वाभाविक रूपमा पलाउँछ। कुनै व्यक्तिविशेषको विशेष नाम हुनुपर्छ भन्ने ठानेको थिएँ तर पेनिबाको अर्थ लिम्बू भाषामा ‘क्षेत्री–बाहुन’ भन्ने लाग्दो रहेछ। कथाकार सुरेश यक्सोले मातृभाषाको शब्दलाई टिपेर यसैलाई संग्रहको शीर्षक दिन पुगेका हुन्जस्तो लाग्यो। उनी पूर्वी नेपालकै भएको हुँदा ताप्लेजुङ, पाँचथर, इलाम तथा धनकुटा क्षेत्रमा रहेका लिम्बू जातिमा पाइने संस्कार, संस्कृति र जातिगत विविधतालाई उनले यसमार्फत उजागर गरेका छन्। त्योबाहेक अहिले हामीले भोग्नुपरेका कैयन् जल्दाबल्दा घटना र विषयवस्तुलाई उनले आफ्ना कथाको भावभूमि बनाएको प्रतीत हुन्छ।

स्रष्टा पनि यही समाजको उपज हो। उसले जे भोगेको हुन्छ, जे देखिरहेको हुन्छ, त्यसैलाई प्रकटीकरण गर्छ। कतै कल्पनाको जलप लगाउँछ त कतै यथार्थ लेख्छ। जे लेख्छ, यही समाजबाट प्राप्त गरेका अनुभव र अनुभूतिहरू लेख्छ र अन्ततः यही समाजलाई पस्कन्छ। कथाकार सुरेश पनि यसमा अपवाद छैनन्। हामीले भोगिरहेको जीवनलाई अति सूक्ष्म रूपमा परख गर्दै पस्कने जमर्को ‘पेनिबा’ संग्रहमा उनले गरेको देखिन्छ। कुनै कथा त यति मिहिन छन् कि स्वयं कथाकार नै त्यसको जीवन्त पात्र हुन्जस्तो लाग्छ।

बैंकका कर्मचारीहरूको हाउभाउ, आकर्षक व्यक्तित्व, पोसाक तथा स्मार्टनेसका कारण त्यहाँ जागिर खाने अभिलाषा जोकोहीलाई हुनु अस्वाभाविक होइन। नभन्दै उसले अन्ततः त्यहीं जागिर पाउँछ तर कालान्तरमा एउटा सानो त्रुटि वा असावधानीका कारणले उसले पाएको सास्ती र हन्डरलाई जीवन्त रूपमा केलाएको छ ‘बैंकिङ कसुर’ नामक कथाले। पहिलो कथा यसैबाट सुरु हुन्छ र यसले पाठकको ध्यान तान्न पनि सफल हुन्छ।

‘नयाँ जुत्ता’ मा बालमनोविज्ञानलाई उनले त्यसरी नै उजागर गरिदिएका छन्। अभिभावकले बालकको मनोभाव बुझ्नु जरुरी हुन्छ भन्ने कुरालाई उनले राम्रो कथानक बुन्दै देखाइदिएका छन्। बरु नयाँ जुत्ताको प्रसंग निकाल्दै त्यसैलाई शीर्षक दिनुको अर्थ चाहिँ किन पर्‍यो, बुझ्न सकिएन। आफ्नो जातिगत संस्कार र संस्कृति, विवाहका अनेक प्रसंग र मिथक, मौलिकता र विशिष्टताको स्वाद ‘पेनिबा’मा पढ्न पाइन्छ।

अल्लारे बैंसमा गरिने प्रेम र त्यसलाई सार्थक पार्ने प्रयत्नस्वरूप केटी माग्न जाने लिम्बू रीतिबारे यस कथामा जीवन्त प्रस्तुति भेटिन्छ। प्रेम बस्यो भन्दैमा नाता मिचेर कुलपरम्पराविरुद्ध विवाह गर्न वर्जित गरिएको कुरा यहाँ कथाकारले उठाएका छन्। जातिगत मोहका कारण यो शीर्षक राखिएको हुन सक्छ, नत्र ‘पेनिबा’को त्यत्रो शीर्षक नै राख्नुपर्ने विषयवस्तु भने कथाभित्र पाइँदैन। आफ्नो प्रेमी क्षेत्री–बाहुन जस्तो लागेका कारणले मात्र यो शीर्षक राखिएको झल्कन्छ।

लोग्नेस्वास्नीको झगडा परालको आगो भनिन्छ तर यो झगडा कहिलेकाहीं बाहिर पुग्यो भने त्यसले गिजोलिने मौका पाउँछ भन्ने कुरा ‘मुड’ शीर्षकको कथाले जीवन्त पारेको छ। आत्मस्वाभिमान भन्ने कुरा कति ठूलो रहेछ ! अनि कहिलेकाहीं अति सामान्य लाग्ने यस्ता कुराले स्वाभिमानमाथि आघात पुर्‍यायो भने त्यो कहिल्यै नपुरिने घाउ बन्छ भन्ने कुरा यसमा बडो मिहिन ढंगले अस्वाभाविक नबनाईकन उठाइएको छ।

अहिले विदेशमोहले नेपालीहरूलाई आक्रान्त पारेको कुरा कसैबाट छिपेको छैन। ‘कन्ये कान्छा’ विदेश गएर बैंस र पैसा होउञ्जेल रंगरोमान्समा लिप्त हुन्छ अनि जब त्यो सबै सकिन्छ, त्यसपछि आफ्नै देश फर्किन बाध्य बन्छ। धेरै नेपालीहरूको दारुण कथा बनिरहेको यो तथ्यलाई कथाले समेटेको छ।

मोबाइल भएर मात्र हुँदैन, त्यसलाई राम्ररी प्रयोग गर्न नजान्दाको परिणति कस्तो हुन्छ भन्ने कुरा ‘आइफोन काण्ड’मा पर्दाफास गरिएको छ। यसको प्रयोग गर्न नजान्दा कहिलेकाहीं दुर्घटना पनि निम्तिन सक्छ भन्ने कुरा कथाकारले रमाइलो गरी प्रस्तुत गरेका छन्। जसले सुन्दर र शान्त घरपरिवारमा ठूलो रडाको निम्त्याउँछ र अन्ततः घर ध्वस्त हुन पनि बेर लाग्दैन भन्ने चेत र संकेत दिएका छन् सुरेशले।

श्रीमान् परदेसिएपछि घरकी श्रीमतीमाथि हुने उत्पीडन तथा गाउँसमाजले उनीमाथि हेर्ने दृष्टिकोणलाई ‘नरोजेको बाटो’मा देखाइएको छ। यसरी हाम्रा धेरै परिवारहरू विखण्डनका सिकार भएका छन्। गाउँसमाजमा अहिलेका अल्लारे युवाजमातहरू दुव्र्यसनको सिकार भइरहेका, नचाहिँदो फेसन गरिरहेका, आफूभन्दा ठुलाबडालाई अपमान गर्ने, दुर्वाच्य बोलेर होच्याउने तथा मान्यजनलाई मानसम्मान नगर्ने प्रवृत्ति देखिँदै जान थालेका कुराहरूलाई ‘अप्ठेरे कान्छा’ नामको कथाबाट सचेतना दिलाउने प्रयत्न गरिएको छ।

गाउँसमाजमा अनेकौं तिलस्मी कथाहरू बुनेर भूतप्रेत, धामीझाँक्री तथा अन्धविश्वासका कुराहरूलाई प्रश्रय दिने गरेको कुरा ‘नोटबुक:  एक रहस्य’ नामक कथाले प्रस्तुत गरेको छ। स्वतन्त्रताको अर्थ र मर्म अनि यसको महत्त्व र उपादेयताबारे घतलाग्दो किसिमले ‘पिँजडाको सुगा’मा प्रस्ट्याइएको छ।

यसरी १५ वटा शीर्षकमा तयार पारिएको यो संग्रहमा अहिलेको समाजमा हामीले भोगिरहेका यावत् विषयवस्तुमाथि सिंहावलोकन गरिएको छ। चिलाएको ठाउँमा ठुँड मारेको छ, कन्याएको छ, मुक्का हान्नुपर्ने ठाउँमा दह्रो झापड पनि हानेको छ र कतिपय ठाउँमा सन्देश प्रवाह पनि गरिएको छ।

भाषाशैली एकदमै सुबोध र सरल छ। प्रायः बोलचालका सजिला र छोटाछोटा शब्द तथा वाक्यहरू छन्। क्लिष्ट शब्दहरू थोपरेर पाठकलाई सकस पार्ने काम कथाकारले कहींकतै गरेका छैनन्। भाव र विचार पक्ष पनि सन्तुलित र उच्च छ।

अहिले हाम्रो समाजमा आधुनिकता भित्र्याउने नाममा आएका विभिन्न प्रविधिको प्रयोग र सामाजिक सञ्जालका कारण पारिवारिक विखण्डनका दुर्दान्त कथाहरू यत्रतत्र देख्न र सुन्न पाइन्छन्। यस्ता विषयवस्तुहरूलाई कथाकारले सशक्त ढंगले उठाएर समाजका जल्दाबल्दा विषयमा आफ्नो पारखी कलमले कथानक बुन्नु र त्यसको चिरफार गर्नु खुसीको कुरा हो। यसले समाजमा सचेतना प्रदान गर्न सक्छ।

अधिकांश घटना आफ्नै आँखाले देखेजस्ता र आफैंले स्वयं भोगेजसरी, त्यहीं उपस्थित भएजसरी नै सुललित रूपमा बग्न सक्छन् कथाकार, बगेका छन् कथाकार। ‘म नै त्यो पात्र हुँ’ भन्ने सोच्छ पाठक पनि। पात्रहरूको संवाद पनि त्यत्तिकै स्वाभाविक र सहज छ। कुनै कुनै ठाउँमा त पात्रको बोली र व्यवहार स्वयं आफ्नै हो कि जस्तो पनि लाग्छ। यो नै उनको सबलता र विशेषता पनि हो भन्न सकिन्छ।

अराजक, अशिष्ट र विधाभञ्जनका नाममा जे पनि लेख्ने परम्परा आजकाल हाम्रो लेखनीमा बढिरहेझैं लाग्छ। स्वाभाविक र यथार्थ लेख्ने नाममा अश्लीलताको गन्ध पनि उत्तिकै आइरहेको छ। सुरेश यसमा अपवाद र अत्यन्तै चनाखो देखिन्छन्। उनको लेखन गम्भीर त छ नै, उत्तरदायीपूर्ण पनि लाग्छ। एकजना स्रष्टा निर्माण गर्न धेरै कुराहरूले प्रभाव पारेका हुन्छन्। वातावरण, देश र समाजको योगदान अपरिहार्य हुन्छ। अतः यी सबैप्रति लेखक कृतज्ञ, जवाफदेही र उत्तरदायी हुनुपर्ने चेत उनमा भरपूर पाइन्छ। लेखकको सफलता भनेको के यही नै  होइन र?

प्रकाशित: २८ कार्तिक २०८३ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App