ए!भाबे तैँ मुलाङ हैन मेरो बारेमा मनपरी लेख्ने? भनेर कसिएर नै गालामा चड्कन हान्दिए तैपनि रीस चै शान्त भएको होइन।
गाला छाम्दै भावी सोध्यो, ‘ए मुर्ख किन यसरी बौलाउँछस् हँ?’
भाबेको कुरा सुनेर अझै पाखुरा सुर्किन्दै दनक दिनुलाई कसिएँ!
कर्मे अर्थात् कर्म पनि त्यहीँ रहेछ ठुलो कुरा गर्छस् भनेर रीसले
त्यसलाई पनि जमाएर नै एक लात पानी पेटमा नै ठोकिदिएँ।
मेरो प्रहार सहन नसकेर ढुनमुनिँदै पर ढल्न पुग्यो। यो घटना विश्वभरको ठुल्ठुला वैज्ञानिकको बीचमा घटेको हो। त्यहाँ अल्बर्ट आइनस्टाइन, न्युटन, अब्दुल कलाम, ग्यालिलियो, गेहेन्द्र शमशेरहरू कुनै गम्भीर विषयमा प्रयोगशालामा भेला भई
छलफल र के अनुसन्धानत्मक कुराकानी गरिरहेको नै देखिन्थे।
त्यो सब ताण्डव सबैले नै नियालिरहेको भए पनि बोल्नु सकेनन्।
अलिक रवाफिलो पारामा गेहेन्द्र शमशेरले सोध्यो, ‘नेपाली हौ?’
मैले जवाफ दिए, ‘श्री ३ को सन्तान ठिक भन्नुभयो नेपाली हुँ!’
गेहेन्द्रले पुन सोध्यो, ‘किन यसरी कुटपिटमा नै उत्रिएको छौँ?’
मैले दुखेसो पोख्दै भने, ‘हामी नेपालीलाई दुवैले साथ दिएन।’
यी सुनेर कर्म र भावी भन्यो, ‘हामीले हाम्रो भूमिका निर्वाह गर्यौँ!’
गेहेन्द्रले भन्यो, ‘एकैछिन पख! हामीलाई यो कुराको यसबारेमा
सोच्ने मौका देउ।’
वैज्ञानिकहरूले विशेष छलफलबाट अन्त्यमा निष्कर्ष निकाले।
यहीँ निष्कर्ष सुनाउँदै गेहेन्द्रले भन्यो, ‘खोपडीलाई हेर्नुपर्ने हुन्छ।’
मैले आश्चर्य मान्दै भने, ‘किन चै खोपडी नै चेकजाँच गर्नुपर्ने?’
गेहन्द्रले गम्भीर हुँदै भन्यो, ‘नेपालीको भाग्यलाई दोष र कर्मलाई सानो र ठुलो देख्ने र स्वर्गझैँ देशमा भविष्य नदेख्ने बानी छ।’
अन्स्टाइनले भन्यो, ‘यसका लागि त खोपडी नै खोल्नुपर्ने हुन्छ,
सबै सहमति भए नेगेटिभ सफ्टवेयर हटाएर पोजिटिभ हाल्न।
त्यसपछि खोपडी खोल्नु विभिन्न औजार लिएर तयारी नै गरे!
म खुब डराएर चिच्याउँदै कराए, ‘दिँदै दिन्न मेरो खोपडी खोल्नु!’
तपाईंको खप्पर तपाईसँगै छ त भनेर श्रीमतीले चट्याङ जस्तो चड्कन गालामा पर्दा पो झल्याँस्स बिउँझेछु।
प्रकाशित: १ श्रावण २०८३ ०८:१८ शुक्रबार





-600x400.jpg)